इजरायलका राष्ट्रपतिले भने- ‘नेपाली आफन्तजस्तै बसेका छन्’

इजरायलका राष्ट्रपतिले भने- ‘नेपाली आफन्तजस्तै बसेका छन्’


इजरायलका राष्ट्रपति रुभिन रिभलिनले आफ्नो देशमा नेपालीहरु आफन्तजस्तै बनेर बसेकाले चिन्ता नलिन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार (१८ वैेशाख) भएको टेलिफोन सम्वादका क्रममा राष्ट्रपति रिभलिनले यस्तो बताएका हुन् ।

नेपालीको सुरक्षा र कल्याणका विषयमा प्रधानमन्त्री ओलीले इजरायली राष्ट्रपतिसँग टेलिफोन संवाद गरी नेपालीको अवस्थाबारे बुझेका थिए । वार्ताको क्रममा राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

‘आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे, उहाँले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो’ – प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझ्ने क्रमलाई निरन्तरता दिएका छन् ।