इरफान खान, जो थिए सजीव अभिनय क्षमताका बेजोड प्रतिभा !

इरफान खान, जो थिए सजीव अभिनय क्षमताका बेजोड प्रतिभा !


■ राजन घिमिरे

चरित्रअनुसार अनुहारको भाव प्रस्तुत गर्न सक्ने, वजनदार आवाजयुक्त सम्वाद अनि सजीव चरित्र, आफ्नै प्रकारको साधारण जीवनशैली र समग्रमा भन्नुपर्दा नाटक एवम् सिनेप्रेमी दर्शकमाझ गजबको उपस्थिति दर्शाउन सफल कलाकारको परिचय थियो इरफान खानको । लामो समय आन्द्रासम्बन्धी क्यान्सरका कारण कर्मथलोमा उत्रिन नसकेका यी वलिउड हस्तीले बुधबार (२९ अप्रिल) कहिल्यै नफर्किने यात्रा अर्थात् महाप्रस्थान गरेका छन् ।

उनको अभावमा यतिबेला बलिउड मात्र होइन कि उनलाई मन पराउने विश्वभरिका उनका प्रशंसकहरू भावविह्वल बन्न पुगेका छन् । एक साताअगाडि मात्र आमालाई गुमाएका इरफानले साता दिनपछि नै आफै यो संसारबाट बिदा लिए ।

आफ्नो कलाकारिता यात्रामा यी सर्जकले जति पनि चरित्र भूमिका निभाए, ती कुनैमा पनि नक्कली, नाटकीय या बनावटी लाग्दैन थिए । जीवन्त अभिनयको मामिलामा उनी कहलिएका एक्टर थिए । इरफानको भौतिक शरिर त गयो तर उत्कृष्ट अभिनय र मन छुने कोटीका उनीद्वारा अभिनित चलचित्रहरूले उनलाई सदियौँसम्म हामीमाझ ज्युँदो नै राख्ने छ ।

इमरानको सिनेमा यात्रा सन् १९८८ मा मीरा नायरको ‘सलाम बम्बे’ नामक चलचित्रबाट शुरू भएको थियो । सिनेक्षेत्रमा आउनुभन्दा अगाडि टेलिभिजन क्षेत्रमा वाहवाही कमाएका इमरान चन्द्रकान्ता टेलिसिरियलमार्फत दर्शकहरू माझ चिनिएका थिए । पान सिंह तोमर, हिन्दी मिडियम, हासिल, मकवूल, पिकु, बिल्लु, लन्च बक्स लगायतका चलचिहरूमा इरफानले निभाएको भूमिका साँच्चै आज पनि उनका फ्यानहरूका लागि बिर्सने नसक्ने सिनेमा हुन् । बलिउडको सिनेमा बजारमा इरफानको प्रवेशपछि नै हिरोको परिचय फेरिएको थियो । रूप, जिउडाल र खाइलाग्दो शरिरले होइन जीवन्त अभिनयले हिरो बन्न सक्नु पर्छ भन्ने गतिलो उदाहरण पेश गरेका थिए उनले । त्यसैले त नाटकबाट टेलिचलचित्र हुँदै सिनेमामा आएका इरफानको सफलताले उनीपछिको टेलिभिजन र रंगमन्चका कलाकारहरूको मनोबल बढ्नुका साथै ढाडस मिलेको थियो ।

नेपालमा जस्तै बलिउडमा पनि रंगमन्च र टेलिभिजनबाट सिनेमामा आउने कलाकारलाई त्यति सहज रूपमा सिनेमामा प्रवेश पाउन कठिन थियो । तर, इमरानको प्रवेशसँगै यी र यस्ता गलत सोचका पर्खालहरू भत्किएका थिए । ‘अभिनयको कुनै विधा, क्षेत्र र प्लेट फर्म हुँदैन, जहाँ गरे पनि आफूलाई प्रस्तुत गर्न सक्ने र त्यो भूमिकामा भिजाउन सक्ने क्षमता हुनुपर्छ । त्यो नै सही कलाकार हो’ – इमरान भन्ने गर्दथे ।

सिनेमा पढेर आएका थोरै भारतीय कलाकारमध्येमा पर्दथे इरफान । त्यसकारण पनि उनि जे बोल्दथे हक्की र निडर भएर बोल्दथे । कुन चरित्र र भूमिका निभाएनन् र उनले ? जे जति निभाए सबै बुलन्द र जीवन्त निभाए, अनि अविष्मरणीय हिरो बन्न पुगे । उनले गुण्डे नामक सिनेमामा बोलेको ‘पेस्तोलकी गोली और लौंडियाकी बोली जब चलती है तो जान दोनों मे ही खतरे मे होती हे’ सम्वाद आज पनि दमदार तरिकाले बोलिने गरिन्छ ।

सिनेमाको सुटिङ स्पटमा गएर त्यहाँको अवस्था हेरेर सम्वादको बारेमा निर्देशकसँग छलफल गर्ने गर्दथे इरफान । यो मामिलामा पनि उनलाई भारतीय सिनेमा निर्देशकहरूले मान्ने गर्दछन् । ठूला-ठूला आँखा अनि झुस्स परेको दाह्री … अभिनयको मामिलामा उच्चतम उपस्थिति । यी र यस्ता अनेकन विशेषताका धनी इरफान खान जस्ता कालजयी कलाकार गुमाउनु पर्दा अभिनयमार्फत विशिष्ट चरित्र र पहिचान प्रस्तुत गर्न सक्ने भूमिका निभाउने कलाकारको अभाव अवश्य हुने छ भारतीय सिनेमा क्षेत्रमा । भारतीय कलाकारिता क्षेत्रमा यो ठूलो क्षति पुगेको छ भने, हामी जस्ता दर्शकले वाह क्या गजबको अभिनय भनेर तारिफ गर्न पाउने यी होनहार सर्जकलाई अल्पायुमै यो संसारबाट बिदा गर्नु परेको छ । इरफान तिमी जहाँ रहे पनि तिम्रो आत्मालाई शान्ति मिलोस् ।