‘महिला-जगतकी एक कलङ्किनी’

‘महिला-जगतकी एक कलङ्किनी’


गगनसिंहको स्फुर्ती झन् बढ्यो । उनले मनमनै भगवान्लाई धन्यवाद दिए किनकि उनको खतरनाक शत्रु केही घन्टाभित्रै मारिनेछ र त्यसपछि जीवनभर उससँग खटपट गर्नुपर्ने छैन । यद्यपि कुलमान सिंह त्यसबखत उपस्थित थिएनन् तथापि उनी यस षड्यन्त्रबारे जानकार थिए । उनलाई फेरि एकपटक काममा खटाइयो । त्यो काम थियो ‘रानीलाई असह्य पीडा भइरहेछ, तिमी तत्काल दरबारमा उपस्थित हुन जरुरी भयो भनेर लेखिएको चिठी लिएर माथवरलाई बोलाउन जानू ।’ माथवरले त्यो षड्यन्त्रको भेउ पाएनन् । उनी तत्काल घोडा चढेर दरबारतर्फ सर्पट हाने ।

उनी प्रस्थान गर्नुअघि उनका छोरा कर्णेल रणोज्जलसिंहलाई हलुका अपशकुनको आशङ्का भयो र उनले बुबालाई आफ्नो वफादार अङ्गरक्षक साथमा लिएर जान अनुनयविनय गरे । रातको यस्तो असामान्य अवस्थामा उनलाई किन बोलाइयो भनेर कसैले पनि अनुमान गर्न सक्तैनथ्यो । ‘नडराऊ मेरो छोरा ! म एक्लै पनि सातजना राक्षससँग कुस्ती खेल्न सक्छु,’ माथवरसिंहले छोरालाई भने । यहाँनेर हामीलाई क्याल्फर्नियाले आफ्ना हठी पतिलाई ‘सिनेटमा नजानुस्’ भनेर बिन्ती गर्दा सिजरले दिएको जवाफको स्मरण हुन्छ–

‘सिजर मुटु नभएको पशु हुनेछ
यदि ऊ डराएर घरमा बस्यो भने
होइन, होइन, सिजर जोखिमसँग कहिल्यै डराउँदैन
किनकि जोखिमलाई राम्ररी थाहा छ
सिजर ऊभन्दा झन् बढी खतरनाक छ
जोखिम र म एकै दिन ब्याइएका दुई सिंह हौँ
तर म जेठो हुँ र म नै डरलाग्दो छु
यसकारण सिजर जान्छ, जान्छ ।’

दरबारमा पुगेपछि माथवरसिंहलाई केहीछिन पटाङ्गिनीमा पर्खने आदेश दिइयो । राजाले तत्काल जंगबहादुरको हातमा लोड गरेको बन्दुक थमाएर उनलाई आफ्नो खोपी समीपको बरन्डामा लुकाएर राखे । राजा आफैँ पनि त्यस हलको एउटा कुनामा बसे । रानी राजाका गोडानेर बसिन् । अतिरिक्त शक्तिका रूपमा गगनसिंह त्यो नियोजित र बीभत्स हिंसाको क्षण पर्खेर पहरेदारको रूपमा जंगबहादुरसँग कुहिना जोडेर बसे । पटाङ्गिनीमा एउटा लौरोको भरमा मृत्यु पर्खिरहेका माथवर आफ्नो हत्याको लागि आफैँ तयार भएको चरोको जस्तो अवस्थामा बसेका थिए । उनले त्यस विपत्तिको आभास आफ्नो एकजना मान्छेलाई पनि सुनाउन नपाउँदै एउटी केटी मुस्कुराउँदै उनको छेउमा आई र उनलाई माथि आउने आग्रह गरी ।

माथवर भऱ्याङका खुट्किला चढ्दै थिए । तत्काल कुलमानसिंहले एक–एक गरेर सबै ढोका बाहिरबाट बन्द गरिदिए । माथवरसिंह कतै घाइते अवस्थामा आफ्ना मान्छे भएका ठाउँमा पुग्न नसकून् र शाही परिवारका विरुद्ध जाइलागेर उपद्रो नगरून् भन्ने आशङ्काले यस्तो गरिएको थियो । माथवरसिंह रानीको खोपीमा पुग्न लागेका मात्र थिए । उनी जंगबहादुरको दुई अचुक गोलीका सिकार बने । एउटा गोली उनका हातमा र अर्को छातीबीचमा लाग्यो । उनी एकैछिन छट्पटाउँदै अगाडि बढे र रक्ताम्य लासको रूपमा भुइँमा ढले । हो, उनी इस्पातले बनेका मानिस थिए । उनी असाधारण बलशाली र महान् योद्धा थिए । उनले प्राण जान लागेको बेलामा पनि लात्तीले हानेर काठको भऱ्याङ टुक्राटुक्रा पारिदिए ।

अन्तिम सास गएर माथवर निश्चल भएपछि क्षुद्र मन भएका हुतिहारा राजा मन्दगतिमा बिछ्यौनाबाट उठेर मृतकलाई जथाभावी गाली गर्दै शवको अनुहारमा कैयौँपटक लात्तीले हिर्काए । त्यसपछि माथवरसिंहको लासलाई भुइँ सफा गर्ने एउटा चिथ्रो कपडामा बेरियो र उचालेर बरन्डाबाट तल भुइँमा खसालियो । केही राजभक्त चौतारियाको सहयोगमा पशुपति लगेर दाहसंस्कार गरियो । यो हत्याकाण्ड सन् १८४५ मे १७ शनिबारका दिन भएको थियो । यो बहादुर सेनानायकको हत्याका कारण आक्रोशित भएर सेनाले कुनै विद्रोह नमच्चाओस् भन्ने उद्देश्यले एक दिनका लागि यो हत्यालाई सैनिक सञ्जालबाट गोप्य राखियो । तर, माथवरसिंहको हत्याको खबर आगोझैँ फैलिएपछि यो हत्याकाण्ड राजाले नै रचेका हुन् भन्ने आशङ्का गरियो ।

आफ्ना बुबाको असामयिक अवसानका कारण विह्वल भएका माथवरका छोरा कर्णेल रणोज्जलसिंह यस अपराधका विरुद्ध कस्तो कारबाही अघि बढाउने भन्ने विषयमा छलफल गर्न जंगबहादुरकहाँ गए । आफ्ना मामाको हत्याप्रति गोहीको आँसु खसाल्दै जंगबहादुरले उनलाई आफ्नै जीवनरक्षाका लागि छिमेकी मुलुक भारततर्फ शरण लिन जानुपर्ने सल्लाह दिए । त्यसबखत जंगबहादुरले रणोज्जललाई उनले लिएर जान सकेजति धनसम्पत्ति लिएर जाने र यसमा आफूले भरपूर सहयोग गर्ने वचन दिए । यस प्रयासमा जंगबहादुरले रणोद्वीपसिंह र बमबहादुरलाई थानकोटसम्म सुरक्षा दिएर पुऱ्याउन जाने जोखिम उठाए । उनले भारतको सीमा नपुग्दासम्म रणोज्जलको सुरक्षार्थ आफ्ना विश्वासपात्र अङ्गरक्षकको एउटा सानो डफ्फा पनि खटाइदिए ।

केही समयपछि यो शीत–रक्तपातको पर्दाफास हुन सक्थ्यो । आफ्नो संलग्नतामा भएको यो अति बिघ्न बिटुलो कामको गोप्यता लुकाउन जंगबहादुरलाई निकै ठूलो समस्या परेको थियो । यद्यपि माथवरसिंहको हत्यामा जंगबहादुरको संलग्नताको लेस मात्र प्रमाण थिएन न त उनको कुनै स्वार्थ नै देखिएको थियो । त्यसैले सरकारकै इसारामा उनले यो हत्या गरेका हुन् भनेर प्रमाणित गर्न निकै लामो यात्रा तय गर्नुपर्ने स्थिति थियो । यो तथ्यलाई धेरै समसामयिक लेखकले प्रकाश पारेका छन् र स्वीकार पनि गरेका छन् ।

उनले माथवरलाई गोली ठोक्नुअघि उनीमाथि कति ठूलो जोरजुलुम गरिएको थियो भन्ने विषयमा एकछिन गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । यो जोरजुलुम तीन पक्षबाट गरिएको थियो । पहिलो पक्ष राजा थिए । उनी आफैँमा एउटा कायर व्यक्ति थिए, तर यस हत्याकाण्डका मुख्य खलनायक उनै थिए । नेपालको राजगद्दीमा यसअघि यस्तो नालायक राजा कहिल्यै बसेका थिएनन् । दोस्रो पक्ष दुष्ट तथा चरित्रहीन रानी थिइन् । महिला जगत्की एक कलङ्किनी । उनीजस्ती दुष्ट महिला यसअघि इतिहासमा देखिएको थिएन । तेस्रो पक्ष गगनसिंह थिए । एउटा दासको रूपमा दरबारमा घुसेर उनले राजगद्दी नै हत्याउने दुष्चेष्टा मनमा उमारेर बसेका थिए ।

(जङ्गबहादुरको जीवनयात्रा, पद्मजङ्ग राणा)