‘सांसद अपहरण’को मुद्दा बनाइँदै छ राजनीतिक ‘मसला’ !

‘सांसद अपहरण’को मुद्दा बनाइँदै छ राजनीतिक ‘मसला’ !


काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयअघिल्तिर सडकमा मंगलबार दिनभर लकडाउन नै बिर्साउने गरी जमघट देखियो । मानिसको भीड मात्र नभई धेरै समयपछि राजधानीमा नाराबाजीसमेत सुन्न पाइयो ।

हालै दर्ता प्रक्रियामा रहेको दल जसपानेका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा महानगरीय प्रहरी परिसर टेकुले आइतबार जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपानेसम्बद्ध नेता कार्यकर्ता मंगलबार बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय पुगेका थिए । अपहरणकर्ताको रुपमा पूर्वआइजीपी सर्वेन्द्र खनाल र सांसदद्वय महेस बस्नेत र किसन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने उनीहरुको उद्देश्य थियो ।

यसरी सरकारी वकिलको कार्यालय पुगेका जसपानेका नेताहरुलाई पछ्याउँदै प्रेस प्रतिनिधिहरु पनि ठूलै संख्यामा त्यहाँ उपस्थित थिए । सुरक्षाकर्मीको तैनाथी ठूलै संख्यामा रहेकोले सो क्षेत्र कार्यालय खुल्ने समयदेखि नै भीडभाडपूर्ण देखिएको थियो ।

यसै क्रममा दिउँसो जब सरकारी वकिल कार्यालयले यादवको मुद्धा दर्ता जाहेरी लिन अस्वीकार गर्‍यो, समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि जोडतोडले नारा लगाउन शुरु गरे । रोचक पक्ष यो पनि रह्यो कि त्यहाँ बाबुराम भट्टराईविरुद्ध मुद्धा हाल्न विद्यार्थीहरुको अर्को समूह पनि पुगेको थियो । उनीहरुको मुद्धा पनि दायर गर्न अस्वीकार गरिएको थियो ।

रेडियो नेपाललगायत सञ्चारमाध्यमहरुका साथै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी ओलीप्रति अपशब्द प्रयोग गर्ने पूर्वप्रम बाबुराम भट्टराईविरुद्ध उजुरी लिएर सत्तारुढ दलनिकटका विद्यार्थीहरु त्यहाँ पुगेका थिए । आफ्नो जाहेरी लिन अस्वीकार गरेपछि आक्रोशित भएका जसपानेका नेता कार्यकर्ताले नाराबाजी गरिरहेकै अवस्थाबीच विद्यार्थीहरुले पनि नाराबाजी गरेरै आक्रोश पोखे । दुई परस्परविरोधि समूहको नाराबाजीले बबरमहलको सडक एकछिन ततायो । सुरक्षाकर्मीहरुले आफ्नो पोजिसन लिँदा एकछिन त्यहाँ तनावकै माहोल पैदा भयो ।

‘राजनीतिक विषय भएकोले दर्ता गर्न नसकिने’ भन्ने सरकारी वकिल कार्यालयको तर्क रहे पनि यसरी जाहेरी लिन अस्वीकार गरिनुको कारक प्रधानमन्त्री ओली नै रहेको आरोप जसपानेका एक शीर्ष नेता राजेन्द्र महतोले लगाएका छन् । लकडाउनको कारण सुनसान बन्न पुगेको राजधानीको परिवेशलाई यस प्रकरणले तरंगित पारिदिएको छ । सांसद अपहरणको मामलालाई जसपानेलगायतका प्रतिपक्षी दलले राजनीतिक माहोल तताउने मसला बनाउने र सकभर यो मुद्धा चर्काएर लैजाने संकेत देखिएको छ ।