सरकारविरुद्ध सङ्घर्षमा उत्रिने तीन दलका नेताहरूको उदघोष

सरकारविरुद्ध सङ्घर्षमा उत्रिने तीन दलका नेताहरूको उदघोष


प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी र नवगठित जनता समाजवादी पार्टी नेपाल (जसपाने) ले वर्तमान सरकारविरुद्ध एकताबद्ध भई सङ्घर्षमा उत्रिने सहमति गरेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने उल्लिखित तीन दलका नेताहरूबीच सोमबार काङ्ग्रेस केन्द्रिय कार्यालयमा भएको बैठकले उक्त निश्कर्ष निकालेको हो ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका डा. प्रकाशचन्द्र लोहनी र जसपानेका महन्थ ठाकुरलगायत बीस नेता सहभागी भएको उक्त बैठकले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताहरू कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर भएको आरोप लगाउँदै यस स्वेच्छाचारी प्रवृत्तिविरुद्ध लोकतान्त्रवादी शक्तिहरू एक भई संघर्षमा उत्रिने प्रतिबद्धता जनाएको छ ।

अधिनायकवादी उद्देश्यप्राप्तिका लागि सरकारकै संलग्नतामा सांसद अपहरण गरिएको आरोप लगाउँदै त्रिदलीय बैठकले सो अपराधमा संलग्न व्यक्तिहरूलाई कारवाहीको माग गरेको छ ।

यस्तै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा असाधारण ढिलासुस्ती गरिएको आरोप पनि बैठकले लगाएको छ ।

उक्त बैठकमा काङ्ग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजय गच्छदार, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जसपानेबाट महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राप्रपाका प्रकाशचन्द्र लोहनी उपस्थित रहेका बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।