केपी-माधव भेटको ‘काउन्टर’मा दाहाल-खनाल वार्ता !

केपी-माधव भेटको ‘काउन्टर’मा दाहाल-खनाल वार्ता !


सत्तारुढ दलभित्र पन्पिएको खिचातानी उत्कर्षमा छ । स्थायी कमिटीको बैठक बोलाएर पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई ‘अपदस्त’ तुल्याउने प्रचण्ड प्रयास जारी रहेकै बेला सोमबार विहान पार्टीका वरिष्ठ नेता माधव नेपालसँग प्रधानमन्त्री निवासमा केपी ओलीको वार्ता भयो । दुई शीर्ष नेताबीच सौहार्द्धपूर्ण वार्तालाप भएको र विगतदेखि नै अप्ठ्यारो परिस्थितिमा संयोजनकारी भूमिका दर्शाउने गरेका नेता नेपालले पार्टीलाई एक ढिक्का तुल्याइराख्न आफूले सक्दो प्रयत्न गर्ने आश्वासन प्रधानमन्त्री ओलीलाई दिएका समाचार बाहिरिएको छ ।

स्थायी समितिको बैठकसँग प्रधानमन्त्रीले तर्सिनु नपर्ने भन्दै नेता नेपालले आश्वस्त तुल्याउन खोजे पनि विवादको मूल विषय ‘अध्यादेश’ सरकारले खारेज गरिसकेपछि अब बैठकको आवश्यकता नै नरहेको जिकिर प्रधानमन्त्री ओलीको रहेको बताइन्छ । यसबारे आपसमा थप छलफल गर्न सकिने सहमति दुई नेताबीच भएको स्रोत बताउँछ ।

यसरी केपी र माधवबीच भेटघाट भएको सन्दर्भले प्रचण्ड खेमामा छटपटि बढाएको ओलीनिकट एक नेताले दाबी गरे । वर्तमान परिस्थितिलाई ‘फलाम तातेको अवस्था’को रुपमा बुझ्दै आएका प्रचण्डले प्रधानमन्त्रीमाथि झन्-झन् दबाब बढाउने उद्देश्यले तत्काल अर्का नेता झलनाथ खनाललाई आफ्नो निवासमा डाकेर ओलीविरुद्ध थप रणनीति बनाएको आरोप ती नेताले लगाए । ओलीमाथि प्रहार गर्ने फलामे हथौडाको रुपमा प्रचण्डले खनाललाई दुरुपयोग गरेको ती नेताको आरोप छ ।

तथापि, झलनाथ खनाल स्वयम् पनि ओलीविरुद्ध उभिँदै आएका नेता हुन् । खनाल र दाहालबीच केपीप्रति अवलम्बन गर्ने व्यवहारको सवालमा तादाम्यता रहँदै आएको छ । सोमबार खुमलटारमा भएको दुई नेताबीचको बैठकले तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिने विषयमा थप ऐक्यबद्धता जुटाएको बुझिएको छ ।

खनाल र दाहालबीचको सोमबारे भेटलाई केपी-माधवबीचको छलफललाई ‘काउन्टर’ दिइएको रुपमा नेकपाभित्रै टीकाटिप्पणी हुन थालेको छ ।