किन ओली ? स्पष्टिकरण !?

किन ओली ? स्पष्टिकरण !?


■ केशवप्रसाद भट्टराई
१. दोस्रो कार्यकालमा प्रधानमन्त्री ओलीले नेपाली जनताको विवेक र सम्मानलाई बारम्बार चुनौती दिनुभएको हो ।
अग्राह्य स्तरको राजनीतिक दम्भ र अहङ्कार प्रदर्शन गर्नु भएकै हो । उक्त सवाललाई मैले समाचार माध्यम र फेसबुकमा लेख्दै आएको हुँ !
अस्तिका दिन त्यो सवाललाई जोड्दै प्रधानमन्त्री ओलीको विकल्प झन् त्रासद र भयावह हुने सम्भावनाबारे लेख्दा केही मित्रहरूले गम्भीर विमति राख्नुभयो !
लिखितमा विमति नराख्नुभए पनि मेरो त्यो पोस्ट मेरा धेरै मित्रहरूलाई चित्त नबुझेको अनुभूति मलाई छ ।

२. मैले राजनीतिक सवालमा आफ्ना दृष्टि निर्माण गर्दा तत्कालका सवालहरूलाई मात्रै लिने गरेको छैन । ओलीको विकल्प काङ्ग्रेसले दिन सक्दैन त्यो कसैले कसैलाई भनिरहन परेन । आफ्नै बलमा विकल्प काङ्ग्रेस बन्ने भए काङ्ग्रेसको भोटर भएको नाताले एउटा कुरा हुन्थ्यो होला ।

३. ओलीजीसँग मेरो दोहोरो चिनजान नभएकोले व्यक्तिगत रूपमा उहाँ कस्तो हुनुहुन्छ मलाई थाहा छैन । माओवादी आतंक र अराजकताले मुलुक आक्रान्त भएको बेलामा सवैले सुन्ने गरी ठूलो आवाजमा त्यस्तो आतंक र अराजकताविरूद्ध खरो र दर्विलो आवाजमा बोल्ने र जनतालाई ढाडस दिनेमा उहाँ सबैभन्दा अघि हुनुहुन्थ्यो ।

४. जातीय राज्यका पक्षधरहरूले राष्ट्रलाई वरिपरीबाट डस्ने अभ्यास गरिरहँदा तिनीहरूका विरूद्ध अग्रपङ्क्तिमा रहेर कुर्लने पनि ओली नै थिए ।
ओली त्यतिखेर त्यसरी कुर्लिएर राष्ट्रिय एकताको पक्षमा जनमत निर्माण हुन नसकेको भए मुलुक कुन अवस्थामा पुग्ने थियो— जो कसैले अनुमान गर्न सक्थ्यो ।

५. नेपाली राजनीतिमा कतिपय बाहिरी खेलसम्बन्धी प्रश्न अनुत्तरित नै छन् तर संविधान जारी हुने ताकाका आन्तरिक र वाह्य गतिविधिहरु,
संविधान घोषणा भएपछि यिनै आजका क्रान्तिकारी समाजवादी र राजपावालाहरूले मच्चाएको आतंक,
सीमानामा बसेर नेपालमा ढुङ्गामुढा गर्ने र त्यसैको नाउमा आमन्त्रित नाकाबन्दीविरूद्ध राष्ट्रिय जनमतको नेतृत्व र प्रतिनिधित्व उनैले गरे ।

राष्ट्रिय स्वाभिमान र अडानको नेतृत्व गरे ।
राष्ट्रिय मनोवल छिन्नभिन्न हुन दिएनन !

६. कोरोना महामारीअघि नेपालको आर्थिक वृद्धिदर नेपालको इतिहासमा नै सबैभन्दा बढी थियो ।
एसियामा नेपालको भन्दा बढी बङ्गलादेशको मात्रै थियो ।
यो आँकलन ओली सरकारको कुनै निकायको नभएर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको थियो ।

७. यिनै कुराले गर्दा एउटा नागरिकको रूपमा मैले ओलीको समर्थन गरेको हो !
माथि उल्लेख गरिसकियो, तर दोस्रो कार्यकालको आरम्भदेखि नै ओलीजीका कतिपय गतिविधिहरू आलोच्य पनि रहे, गलत रहे ।
त्यसकारण उनी राजनीतिक रूपमा कमजोर पनि बन्दै गए !

तर पनि उनका माथि उल्लेखित सुकार्यहरूको वजन कम छैन !
आफ्ना गल्ती सच्याएर उनी आउन सके र नेपालको इतिहासमा एउटा कार्यकाल पूरा गर्ने
निर्वाचित प्रधानमन्त्री मुलुकले पाए हुन्थ्यो भन्ने लागेको हो ।
अभावरहित कोही हुन पनि सक्दैन र सधैँभरी सुकार्य मात्रै गरिरहन सक्ने त भगवान मात्रै होलान् !

दृष्टान्त यस्ता पनि छन्–

८. काङ्ग्रेसको समर्थनमा माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो !
काङ्ग्रेसको पूर्ण सहयोग र समर्थन हुँदाहुँदै प्रचण्ड र झलनाथले थर्काएकै भरमा माधवजीले आफूलाई समर्थन प्रदान गर्ने दललाई जानकारीसम्म नदिई राजीनामा गर्नुभयो !
नेपालजी डराएर भाग्नुभयो !
त्यसपछि झन्डै डेढ वर्ष मुलुकले प्रधानमन्त्री पाएन ,
कामचलाउ सरकार रहिरह्यो र मुलुक चरम राजनीतिक अस्थिरताको स्थितिमा रहिरह्यो !

९. झलनाथजीलाई एकचोटी प्रचण्डले प्रधानमन्त्री बनाइदिनुभयो ।
पार्टी अध्यक्ष आफैं हुनुहुन्थ्यो, प्रचण्ड गडफादर हुँदै हुनुहुन्थ्यो थाम्न सक्नुभएन, हिँड्नुभयो ।
ओलीजी सांसद हुनुहुन्नथियो र पार्टीमा छेऊ पारिनुभएकै थियो, किन टिक्नुभएन झलनाथ जी ?

१०. वर्षसम्म आफ्ना हिंसात्मक गतिविधिबाट मुलुकलाई बन्धक बनाएर,
हजारौँको हत्याको खेल रचेर आएका ‘महान र गौरवपूर्ण क्रान्तिका महानायक’ भनिने, मुलुकबाट राजसँस्था अन्त्य गर्ने कार्यको नेतृत्व गरेको दाबी गर्ने पुष्पकमलजी आफ्नो सरकारको सेनाप्रमुखले दच्काएकै भरमा भाग्नुभयो ।
जङ्गलमा बसेर मुलुकलाई आफ्नो राजनीतिक मार्गमा हिँडाउन सकेको दाबी गर्ने व्यक्तिले सिँहदरबारमा बसेर सानो टुँडिखेलमा अनिश्चित भविष्य बोकेर बसेका रुक्माङ्गद कटवालसँग भिड्ने हिम्मत गर्न सक्नुभएन !

११. अर्कोतिर, कुमार लामाको दृष्टान्त छ ।
पुष्पकमलजीले अस्ट्रेलियाको भ्रमण किन रद्द गर्नुपऱ्यो
अमेरिका भ्रमणको अवसरमा राजदूतको गाडीमा भूमिगत शैलीमा हिँड्नुपरेको समाचार नेपालमा पढिएको थियो ।

१२. पार्टीले प्रधानमन्त्री त बनाइदेला तर युरोप, अमेरिका जस्ता मुलुकमा भ्रमण गर्दा सधैँ निचोरिएर, थर्कमान भएर हिँड्नुपऱ्यो, शिर उठाएर, आँखा जुधाएर कुरा गर्न सकिएन भने ? देशको इज्जत र प्रतिष्ठा झन् कति तल पुग्ने होला ?
भारत, चीन, उत्तर कोरिया, भेनेजुएला जस्ता मुलुकसँगकै सम्बन्धको भरमा त राष्ट्र नधानिएला !
कोरोना पछिको विश्व व्यवस्थाबारे जसले जे भने पनि विश्व व्यवस्थाको नेतृत्व अमेरिका र युरोपले नै गर्ने हो !
राजनीतिक, सामाजिक र मानवीय मूल्यहरूको निरोपण उनीहरुले नै गर्ने हो ?
ती मूल्यहरूको कसीमा प्रचण्डजीको हिजोको राजनीति र हिंसा सधैँ वर्जित नै रहने छन् !

१३. ल.. हिजो माओवादी विद्रोहताकाका आन्तरिक र वाह्य शक्तिकेन्द्रसँग मिलेर गरेका अनैतिक षडयन्त्रहरुलाई विद्रोकालीन रणनीति मानौँ रे !
अनि पछि आएर पनि एमालेसँग सरकारमा हुँदाहुँदै काङ्ग्रेससँग मिलेर अर्को सरकार बनाउने,
काङ्ग्रेससँग सरकारमा हुँदाहुँदै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने ? गिरिजाबाबुलाई राष्ट्रपतिको लोभमा पारेर आफ्ना सबै राजनीतिक अजेन्डामा सही छाप गराउने तर जब राष्ट्रपति बनाउने कुरा आयो रामराजालाई बोकेर हिँड्ने प्रचण्डजीले कुन राजनीतिक विश्वसनीयताको बलमा मुलुकमा राजनीतिक सहमति र समझदारी कायम गर्ने ?
माओवादी शिविरको अर्बौं रकम हिनामिनामा उहाँको संलग्नताका प्रश्नहरू ???

१४. ओली जस्तासुकै देखिएका होलान्, अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सबैभन्दा बढी योगदान कसैको छ भने ओलीजीकै छ ।
ओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा ती मध्ये कसैको योगदान नहोला !
त्यसैले ओलीलाई हटाउने डिजाइनमा उहाँहरूको लामो संलग्नता आफैंमा अनैतिक हो !

१५. त्यसैले ओलीको विकल्प प्रचण्ड, माधव नेपाल वा झलनाथ नभएर घनश्याम भुसाल जस्ता तुलनात्मक रूपमा स्वच्छ छवि भएका व्यक्ति विकल्प बनेर आउँछन् भने त्यो स्वागतयोग्य हुन सक्ला !

१६. अहिलेको ओलीविरोधी अभियानमा पूर्वमाओवादी र जातीय राजनीति र जातीय राष्ट्रका पक्षधरहरूको आवाज सबैभन्दा चर्को रहेको पनि बुझ्न सकिन्छ !