आउनुस् पार्टी फुटाउनुस् !

आउनुस् पार्टी फुटाउनुस् !


■ लामिछाने मातृका

एउटा नदेखिने जीवले संसारमा देखिने जीवात्माहरूलाई तहसनहस पारिरहेको छ । नेपालमा पनि यो जीवले विस्तारै आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यहि अदृश्य जीव कोरोनाको कहरले देशलाई गाँजेको बेला प्रधानमन्त्रीले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई विधेयक विजुली चम्केको गतिमा पारित गराए । न अघिपछि हल्ला न सल्लाह !

दल विभाजनसम्बन्धी खुकुलो नीतिकै कारण २०४७ पछिका कुनै सरकारले आफ्नो आयु पूरा गर्र्न पाएनन् भनेर यिनै दलहरूले कसिलो नीति लिएका थिए । प्र.म.ले त्यहि कसिलो नीतिलाई हल्का खुकुल्याईदिए आकस्मिक रुपमा अध्यादेश मार्फत् । देश लकडाउनले लडेको महिना दिन बित्यो ‘लक ब्रेक’ हुने चेष्टा छैन, यहि मेसोमा पी.एम.ले खुसुक्क महामहिमका जुनाफमा अध्यादेश टक्र्याए, महामहिमले पनि लुसुक्क ‘ल’ डाउनमा सही ठोक्दिए‘सी सत्तासीन र सत्ताविहीन दलका अगुवा–पछुवाहरू रिसले चुरचुर भए । आफ्नै घरमा नजरबन्दमा रहेका जनता पनि ठीक र बेठीकमा बहस तर्क र वितर्क गर्न थाले । मैले पनि मेसो मिलाउने चष्टा गरें ।

अध्यादेशको खिलाफमा हुनेले भने, पी.के.ले पार्टी फुटाउने भए, कसैले भने के.पी.ले पार्टी फुटाउने भए । अध्यादेशको रक्षामा हुनेले भने, अरे नेकपा फुट्दैन यो फुट्नलाई जुटेको हैन । यो त अरुको लागि लाइदिएको भऱ्याङ हो । पी.एम.ले लामो समयदेखि लकडाउनममा रहेकी गुप्त गायिकाको गीत गुनगुनाउँदै आफ्ना पार्टीका गनगनलाई थान्को लाउने चेष्टा गरे । ‘हाम्रो माया कति छ कति हे नलाऊ पछि हल्लैको ।’

यो अध्यादेशले पार्टीलाई झन एकताबद्ध पारेको छ, पारपाचुकेको गुञ्जायस छैन । अरे कानुनमा ब्यवस्था छ भन्दैमा सवब जोडीले डिभोर्स गर्छन् भन्ने छैन । मन मिल्ने सँगै बस्छन् नमिल्नेहरूलाई सजिलो बनाइदिएको मात्र हो, किनकि सरकारलाई थाहा छ कुन–कुन दलमा मन नमिलेर पनि बसिरहेका कति छन्, हेर्दै जानुहोला । नभन्दै मधेसका नाममा दशक अघिदेखि राजनीतिक पेशा खोलेर पसल चलाइरहेका आधा दर्जन बढि दलहरूको साझा घर राजपा र समाजबादी पार्टीका अगुवाहरूलाई अध्यादेशले भतभति पोल्यो र रातारात चोचोमोचो मिलाउँदै एउटै भात भाञ्छा गर्न राजी हुँदा भए । दल दर्तासम्बन्धी ऐनमा विद्यमान प्रावधानअनुसार केही कागजपत्र नपुगेर दर्ता हुने क्रम पेन्डिङमा छ ।

यसैबीच एउटा पार्टीका नेता हराएको गाइँगुइँ चल्यो । हुँदाहुँदै सरकारी अपहरणमा परेको हल्ला चल्यो । घर र आफन्तले अपहरण नभएको भने, उनका दलका अगुवाले अपहरणमा परेको जिकिर गरे, नभन्दै निजको फोन स्वीच अफ भए’सी लगभग पक्कापक्की जस्तै भयो । मिल्न आँटेको एउटा दलकी नेतृ र केही अगुवाहरू मिलेर बेग्लै भाञ्छा गर्ने रे अनि सात सदस्य पुऱ्याउन ती नेतालाई लोभ र लाभको गोप्य हिसाबकिताव मिलाइ पहिलो दललाई मादल बजाई बच्चा दल जन्माउने कुरो रे, यसमा सत्तापार्टीका जवान् अगुवा र पेशा निबृत्त पुलिसका हाकिमसाव पनि हेल्पर होइसिँदो रै’छ । तराईबाट हराएका भनिएका अगुवा नेता भोलिपल्ट एकाएक राजधानीमा उदाए । कुरोको चुरो जेरीझैँ फनफनी घुमेसी यो मनुवाको दिमाग नि उस्तै गरि फनफनायो ।

पाडाबाच्छा खरिदबिक्री र नेता सांसदको खरिद-बिक्री उस्तै उस्तै हुन् हाम्रा बहुदलमा । प्रजातन्त्र नामको बहुदलदेखि गणतन्त्र नामको बहुदलसम्म पाँच लाखदेखि पचास करोडसम्मको मोलमोलाई र मागदाबी सामान्य भैसके । इच्छा र आवश्यकतामा सामञ्जस्यता नभए पनि आफ्नो पार्टी फुटाउन पी.एम. नै लागिपरेकाले हतारमा पार्टीको नाता जोडेको दुवै दलका अगुवा बताउँछन् । भन्छन्, हामीले देखाइदियौँ ! ताकि उनीहरू देखाउनकै लागि मिलेमतोमा छन्, या उर्लंदो भेल देखेर खोला तरुञ्जेल मात्र हात समात्या हुन्, आगे देखम्ला ।

जसले देशलाई एकताबद्ध राख्न सक्दैन उसले कसरी पार्टीलाई एकताबद्ध राख्न सक्छ ? त्यहि भएर सजिलै फुट्ने प्रावधान ल्याएको हुनुपर्छ । आखिर फुट्ने र जुट्ने त दलहरूले जन्मदै लिएर आएका विशेषता हुन्, भन्नेहरू भन्दैछन् । हैन.. जसले दललाई मिलाएर राख्छ, सबैको कुरा सुन्छ, सबैले भनेको मान्छ, सबैलाई समान ठान्छ, सबैमा एउटै ब्यवहार गर्छ, सबैलाई एकढिक्का राख्ने खुबी राख्छ उसले मात्र देशलाई एकताबद्ध राख्न सक्छ । अर्कोथरी विचार ।

गणतान्त्रिक हलोका दुई घोडा (घोडा प्रतीक मात्र) ले एउटै जुवामा नारे पनि छुट्टाछुट्टै दाना खान्छन्, आफ्नो अस्तित्व फरक फरक हो भन्ठान्छन्, अनौ समात्नेले घरीे मालेलाई लौरी हान्छ घरी झालेलाई । झालेलाई हान्दा माले दुखित हुँदैन, मनमनै गद्गद् हुन्छ, अनि झाले मुरमुरिन्छ , डुक्रिन्छ,फ्वाँ-फ्वाँ र फुँ-फुँ गर्न खोज्छ, हल्लुण चुँडाएर भाग्न खोज्छ तर फेरि लौरी सम्झिएर मेलो नमिलाएपनि हिंडेझैं गर्छ । अनि यसरी किसानले कसरी खेत जोत्छ ? जबर्जस्त रुपमा चुम्बकका दुई ध्रुवलाई जबजको डोरीले बाँधेजस्तो । बाँधिञ्जेल टाँसिने नत्र टाढिने ।

‘बहु’ भनेको धेरै, ‘दल’ भनेको राजनीतिक पार्टी । यदि तपाईंहरू बहुदलीय ब्यवस्थामा विश्वास राख्नुहुन्छ भने पार्टी जुटाउने भन्दा फुटाउनेमा विश्वास गर्नुस् । एकता भङ्ग गर्नेमा दिलचस्पी राख्नुस् । एउटै पार्टीमा बसेर अजात झैं छुवाछुत ब्यवहारमा पर्नुभएको छ भने, पार्टीका हाकिमको चोर औंलाको इशारामा नाच्नु परेको छ, तपाई आफ्नो इच्छा र स्वतन्त्रतामा नाच्न पाउनु भएको छैन भने किञ्चित विलम्ब नगरी मूलघर छोडेर बाक्लो दालको बन्दोबस्त गर्नुस् । स्वतन्त्रतामा प्रजातन्त्र (लोकतन्त्र) नहुन सक्छ प्रजातन्त्रमा स्वतन्त्रता अवश्य हुन्छ । तर यस्तो ब्यवस्था या परिपाटीमा पनि तपाईं ऐरेगैरेको इशारामा आफुलाई नचाइरहनुभएको छ ? तपाईंमा अलिकति पनि स्वाभिमान र आत्मसम्मान छ भने कृपया ठूलो रुखको छहारी भन्दै नबस्नुस् ।

ठूलो रुखमा कोइली मात्र होइन काग पनि बस्छ, बाँदरदेखि मलसाँप्रो, न्याउरीमुसोदेखि साप (सर्प) पनि बस्या हुन्छन् अनि तपाईं जोसुकैको फेला पर्न सक्नुहुन्छ, त्यसैले आत्मरक्षाका लागि कुम्लो कुटुरो बोकेर जीऊ ज्यान जोगाउनतिर लाग्नुस्, भाग्नुस् कमरेड भाग्नुस् । तर पार्टीहरू उकजुट हुने, अनि एकता गर्दै गर्दै जाने हो भने अहिलेका सबै पार्टीहरू गाँसिएर टाँसिएर एउटै पार्टी बन्ला अनि एउटै पार्टी बन्यो भने बहुदल कहाँ भयो ? त्यो त एकदलीय ब्यवस्था भैगो नि । के तपाईहरूलाई एकदलीय प्रथा चाहिएको हो ? अनि एकदलीय ब्यवस्था भए के तपाईंहरूको चुल्होमा आगो बल्ला ? तपाईंहरूको राजनीतिको दोकान चल्ला ? अहँ चल्दैन ।

तसर्थ, जति सक्नुहुन्छ त्यति पार्टी खोल्नुस्, जुन पार्टीबाट बाक्लो दाल खान आउनुभयो त्यसका अगुवाको बारेमा तथानाम बोल्नुस्, गाली गलौजका दुनियाँमा जेजति अपशब्द छन् तिनको डिक्सनरी पल्टाएर, घाँटी तन्काएर पार्टीको आन्द्रा भुँडी खोल्नुस्, चर्का नारा लाउनुस्, सडक तताउनुस्, आफ्ना एजेन्डा बताउनुस्, बन्द, हड्ताल, आगजनी, तोडफोड गर्नुुस्, टायर बाल्नुस्, हायलकायल पार्नुस्, अनसन बस्नुस् सरकारलाई टेन्सन दिनुहोस् अनि आफ्नो हैसियत र अहमता देखाइदिनुस् । अलिदिनमा बार्ता गर्नुस्, दुई–चारबुँदे सम्झौता गर्नु्स्, ऐतिहासिक उपलब्धि भन्दै काँध मिलाउनुस्, सरकारमा एक दुइटा भएनि कुर्सीको बन्दोबस्त मिलाउनुस्, दौरा लबेदा सिलाउनुस्, हात मिलाउनुस्, भोज खिलाउनुस्, राज्य वा सहायक जे भएनि चल्छ कुर्सीमा बसेर टेबलमा खुट्टा हल्लाउनुस् । आगे-पिछे (गाडी चढ्दा, ओर्लदा) पुलिसको सलामी, प्राडो पजेरो सरर झण्डा फरर । लौ अब आयो नि मजा ।

नयाँ पार्टीको तालुकदार भएसी सबैले गन्ने, मन्त्रीज्यू भन्ने ! त्यसैले ठूलो पार्टीको कुनामा बसेर दुनामा खान छोड्नुस्, मन विचार मोड्नुस्, ढोका बन्द भए झ्यालको पल्ला फोड्नुस्, तुरुन्त नयाँ पार्टी खोल्नुस् । चलनचल्तीको दुकान । सत्ताको साँचो र लैनो गाईको फाँचो (राज्यकोष) हात परेसी जति सकिन्छ दुहुनुस् यदि टिक्नै सकिएन भने सरकार छाड्नुस् सडकमा आउनुस् अनि धित मरुञ्जेल रुनुस् । न राजनीतिक पार्टीलाई कर लाग्छ न त कसैको डर लाग्छ ।

आखिर सात सालदेखि सत्र सालसम्म ४७ सालदेखि हालसम्म कतिले कति पार्टी खोले कतिवटा पार्टी कतिपटक फुटेर धुजाधुजा भए को-को फुटे को-को जुटे ? त्यसको हिसाब किताब गर्ने हो भने नेपाली जनतालाई एकसय आठ डिग्री जोरो आउँछ । त्यसैले चलेको चलन हो हजुर, जनताको दुहाई दिनुहोस् नयाँ पार्टीको सदस्यता लिनुहोस् । एउटै घारमा धेरै माहुरी भए मह पार्दैनन्, घरमा बिराला धेरै भए मुसा मार्दैनन्, त्यसैले सबै काला बादलले पानी पार्दैनन्, आउनुस् फाटेको मन सिलाएर, काटेको चित्त मिलाएर अँध्यारो मुख लाएर नबस्नुस्, थपक्कै आजै अहिल्यै कुम्लो कुटुरो कस्नुस् दुई-चार भाइ हितैसी पछि लाउनुस्, आउनुस् आउनुस् पार्टी फुटाउनुस् । बगेको खोला फर्कदैन मौका आउँछ पर्खदैन ।