एक डाक्टरकी पत्नीको सविती बयान !

एक डाक्टरकी पत्नीको सविती बयान !


■ प्रमिला पाण्डे

रातिको १२ बज्यो । यतिबेलासम्म पनि उनी कामबाट फर्किएका छैनन् । सबैतिर चकमन्न अँध्यारो छ । लकडाउनको कारण दिउँसै सुनसान हुने यो शहर, मध्यरातमा किन जागा रहन्थ्यो र म जस्तै !

उनको बाटो कुर्दैछु, म मात्र होइन परिवारका सबै सदस्यले उनलाई कुरेका छन् । सधैं छोरीले बाबासँग माम खाने भन्दै जिद्दी गरेर निदाउँछे । छोरीले बाबालार्ई एकदम पच्छ्याउँछे, अहिले त सानी छोरीले पनि आफ्नो बाबाको अनुहार राम्रोसँग नदेखेको कयौँ हप्ता भइसक्यो ।

मेरो परिवार मात्र होइन यतिबेला सिङ्गो विश्व नै कोरोनाको महामारीबाट त्रसित छ । सेना, प्रहरी, डाक्टर र पत्रकार अहोरात्र खटिएका छन्, मानव सेवामा । तिनैमध्यका एक डाक्टर हुन् मेरा पति ।

उनी भन्छन्– मेरा लागि खाने, बस्ने र सुत्ने सबैथोक भित्रै गरिदेउ । उनले भनेकै दिनदेखि हामी अलग्गिएका छौँ । यसैगरी बसिरहँदा मैले सोधेँ उनलाई, ‘अत्यास लागेको छ ?’ उनले मसँग नजर नमिलाई उत्तर दिए– ‘अत्यास मलाई होइन, तिमीहरूलाई रोग ल्याएर सार्छु कि भन्ने डर छ । विवाहमा मारे पाप पाले पुण्य भन्थे, आखिर आज आएर बुझ्दैछु संसार कसरी मरिरहेको छ !’ पतिको कुरा सुनेर मेरो बोली बन्द भयो, उनको नजिक भइदिउँ जस्तो लाग्यो तर त्यो सम्भव थिएन ।

एक दिन करिव रातको १ बजेको थियो, पतिको फोन आयो । उनले भने, ‘नानी खाना खाएर सुती ? म आज आउन नभ्याउने भए, तिमी पनि राम्रोसँग सुत । आमा पनि निदाइसक्नुभयो होला, आमालाई दम बढेको छ कि छैन ?’

ओहो ! एकातिर जागिरको जिम्मेवारी अर्कातिर परिवारको जिम्मेवारी, कति गाह्रो महसुस हुँदैहोला उनलाई ! ‘नानी र आमा अघि नै सुति सक्नुभयो’, मैले भनेँ ।

मन भारी भयो, गह भरिएर आयो, उ आज पनि नआउने खबरले । तर म सम्हालिनुपर्नेछ यो बेला, होइन भने उनले आफूलाई कमजोर ठान्नेछन् । यो त उर्जा दिनुपर्ने समय हो । यत्तिकैमा उनले कुरा मोड्दै अस्पतालमा बिरामी बढेकोबढ्यै रहेका बताए ।

उनले फोन राखे म पनि सुतेँ । बिहानको उज्यालो घामसँगै वृद्ध आमा र छोरीलाई ढाटेँ मैले कि हजुरको छोरा राति अबेला आएर बिहान चाँडै गइसक्नुभयो भनेर, ता कि आमा र छोरीको मनमा तिमी आएको भान होस्, तर तिमी घर नआउँको १० दिन भैसकेको छ । मैले परिवारलाई यो भनेकी छैन र कहिल्यै पनि भन्दिनँ ।

छोरीको जिद्दीपन हटेको छैन । उनी बाबा जुनबेला आए पनि सँगै माम खाने कुरा मात्र गर्छिन् । यति मात्र कहाँ हो र ! बाबाले मलाई माया गर्नुहुन्न हो मामु भनेर प्रश्न पो गर्न थाल्छिन् । अफिसबाट आउनेवित्तिकै छोरी बोक्ने तिम्रो त्यो माया छोरीले धेरै याद गर्छिन् । छोरीको तोतेबोली र कारुणिक प्रश्नको म जवाफ दिन सक्दिनँ । उनलाई छातिमा टाँस्दै भने तिम्रो बाबा डाक्टर हो सबै बिरामीहरूलाई बचाउनु पर्छ । छोरीको बालमस्तिष्कले प्रश्न गरेकोगऱ्यै थियो । मैले भन्दै थिएँ कि तिम्रो बाबा भगवान् हुन्, मान्छेले देख्न सक्ने भगवान् । उनले उपचार गरे मात्र बिरामी निको हुन्छन् ! केही बुझेझैँ गरी खाना खाइन् र निदाइन् ।

उनले बिरामीसँग नजिक भएर काम गर्नुपर्ने भएको हुँदा मन सबैको आत्तिएको छ, घरमा । यति मात्रै होइन केही दिनअघि बिरामीको उपचार गर्दागर्दै नर्सको मृत्यु भएको खबर सुनेपछि आमाले बेला–बेलामा जागिर छोडिदेउ भन बुहारी भन्नुहुन्थ्यो, तर यो कुरो उँहालाई कहिल्यै सुनाइनँ ।

एक दिन उनी समयमा घर आइपुगे, आमाले भन्नुभयो– छोरा जागीर छोडिदेउ, यस्तो जागिर जति पनि पाइन्छ ।

छोरा – ‘आमा ! के भन्नुभएको यस्तो ? तपाईं मेरो आडभरोसा हो, यस्तो हरेस खाने कुरा गर्नु हुँदैन, यदि यस्तो अवस्थामा मैले जागिर छोडेँ भने देशको हविगत के होला सोच्नुस त् ? तपाईं त महान् आमा हो । हामीले सबैको सोचाइलाई तोड्नु छ, सबैले सोच्छन् सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भनेर, सरकारी संयन्त्र सबै खराब छैनन् भन्ने सबैलाई देखाउनु छ । मलाई हजुरको आशीर्वाद र बुबाको सपना पनि त पूरा गर्नु छ । म एक कर्तव्यनिष्ठ डाक्टर हुँ भनेर, बचाउनु छ ती पीडितहरूलाई !’

‘आमा ! म एकदम खुशी छु, हजुरको छोरालाई सबैले भगवान मानेका छन् । यो सबै हजुरको देन हो, किनकि आधा पेट खाएर पनि मलाई डाक्टर बनाउनुभयो । आज तपाईंको छोरा बिरामीको सेवा गर्दैछ । सबै बिरामीको विश्वासको पात्र हामी भएका छौँ । उनको विश्वासलाई तोडेर हामी घर बस्न मिल्दैन । आज हाम्रै कारणले दुई कोरोनासङ्क्रमितहरू घर फर्किसकेका छन् ।’

छोराको कुरा सुनेर आमाको आँखा भरियो ।

आमा–छोराको कुरा सुनेर म पत्नी पनि धन्य भएँ, हजुरजस्तो पति पाएर ! कति संस्कार सिकाउनुभएको रहेछ आमा–बुवाले हजुरलाई ! मैले मन–मनमा भनेँ तर उनी भन्दै थिए– ‘तिमी नरोउ, म तिम्रो सोह्र्श्रृंंगार जोगाउने प्रयास गर्छु । यदि केहीगरी म मरिहालेँ भने तिमीले मेरो संसार ढल्यो भन्ने नसम्झिनु, बरु संसार बचाउन मैले मेरो सिन्दुर बलिदान दिएँ भनेर मन बुझाउनु । घर–परिवार सबै तिम्रो जिम्मा, भगवानसँग भाकल गर, देशमा अब कोही पनि कोरोनासङ्क्रमित नहुन्, विश्वमा चाँडै शान्ति आओस् ।’

यति भन्दै हतारिएर उनी आफ्नो कर्मपथमा लम्किए ।