‘सरकारले अब विवादका कुरा नल्याओस्’ भन्दै बालुवाटारबाट फिर्ता

‘सरकारले अब विवादका कुरा नल्याओस्’ भन्दै बालुवाटारबाट फिर्ता


गत सोमबार (८ वैशाख) क्याबिनेटबाट पारित गरी राष्ट्रपतिबाट स्वीकृत समेत भइसकेको अध्यादेश चरम विवादमा परेपछि सरकारले उक्त अध्यादेश खारेज गरेको सन्दर्भ यतिबेला चर्चाको चुलिमा छ ।संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश खारेजीलगत्तै प्रधानमन्त्रीद्वारा प्रमुख विपक्षी दलका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर छलफल गरिएको सन्दर्भ पनि चासो र चर्चाको विषय बनेको छ ।

त्यसो त, सभापति देउवासँगै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि प्रधानमन्त्री ओलीले छलफलमा सहभागी गराएका थिए । आखिर विपक्षी दलका सभापतिलाई बोलाएर प्रधानमन्त्रीले के कुराकानी गरे होलान् भन्ने जिज्ञासा सबैमा उठ्नु स्वाभाविक नै छ ।

राजनीतिक बजारमा अनेक अडकलबाजी लगाइए पनि सभापति देउवा र प्रधानमन्त्री ओलीबीचको छलफलमा त्यस्तो कुनै ‘खास’ नीति–रणनीतिका कुरा नभई औपचारिक प्रकारको कुराकानीमै सीमित भएको बुझिएको छ ।

प्रधानमन्त्रीसँगको भेटको आरम्भमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए । यो प्रकरण चर्किएर जाने अवस्था थियो भन्दै सभापति देउवाले बेलैमा फिर्ता लिएर सुझबुझ देखाएको भनी प्रधानमन्त्री ओलीको प्रशंसा गरेका थिए ।

त्यसपछि अलिक गम्भीर हुँदै देउवा सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको घटनातर्फ केन्द्रित भए । वर्तमान अवस्थामा यस्तो गर्नु अति नसुहाउँदो कार्य भनी सो प्रकरणको उनले खुलेर आलोचना गरे । यतिमा मात्र अडिएनन् देउवा, उक्त घटनामा संलग्नलाई कारवाहीको लागि प्रधानमन्त्रीसँग उनले जोडदार माग गरे । यस कुरालाई काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि पुष्टि गरेका छन् ।

उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको प्रष्ट्याउँदै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ होइन भने हेर्दै जाने र परिस्थितिका आधारमा निर्णय लिने ‘चेतावनी’ दिएका थिए ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पुऱ्याउन सुझाव पनि दिएका थिए । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने उनको धारणा थियो ।

छलफलको विषयवस्तु यसरी मोडिएपछि सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन आग्रह गरे । प्रधानमन्त्रीले मुसुमुसु हाँस्दै देउवाका सुझाव ध्यान लगाएर सुनेका बताइन्छ ।

यस्तै, विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै सभापति देउवाले आज उनीहरू अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।

अन्त्यमा उनले कोरोनाको जोखिमसँग लडिरहँदा सरकारले अब विवाद्का कुनै कुरा नल्याओस् भनी सजग गराएर बालुवाटारबाट बिदा भएका थिए ।

pict: Rss