अन्ततः मानिस एक्लै हो

अन्ततः मानिस एक्लै हो


■ बबिता बस्नेत

मानिस एक्लै जन्मन्छ र एक्लै मर्छ भन्ने हामी सबैलाई थाहा भए पनि एक्लै बस्दा बाँच्ने अवस्था आउँछ भन्नेचाहिँ विश्वका मानव जातिले पहिलोपल्ट भोगिरहेका छन् । त्यसो त, अहिले विश्वब्यापी त्रासका रूपमा रहेको कोभिड–१९ जस्तै महामारीले विश्वमा पहिला पनि करोडौँको सङ्ख्यामा मानिसहरूको मृत्यु भएको रहेछ । तर अहिले बाँचिरहेकामध्ये सानो सङ्ख्यालाई छोडेर बाँकी सबैका लागि जिन्दगीमा यो नयाँ अभ्यास हो ।

केही सातादेखि विश्व ठप्प छ । आफ्नै परिवारका सदस्यसँग दूरी कायम गर्दै मानिसहरू घरभित्र बसेका छन् । युरोपका विभिन्न मुलुक र अमेरिकाका अस्पतालमा मृत्युसँग जुधिरहेका मानिहरूसँग हात समाइदिने एक जना आफ्नो मान्छे छैनन् । अहिले कोरोना लागेर मृत्युशैय्यामा एक्लै पल्टिरहेकाहरू मध्ये कतिका आफू स्वस्थ हुँदा आफ्नो ज्यानभन्दा बढि महत्व दिएका मानिसहरू जीवनमा थिए होलान् । परिवारका सदस्य या अन्य कोहीका लागि जिन्दगीभर आर्थिकदेखि भावनात्मकसम्म लगानी गरेका थिए होलान् । आफूसँग निर्भरहरूको जीवन सहज बनाउनका लागि जिन्दगीमा आरामले सास फेर्न नपाएकाहरू पनि थिए होलान्, तर समयक्रममा उनीहरू एक्लै भए ।

परिस्थितिले उनीहरूलाई भेट्न नदिएको एउटा पाटो भयो, कतिचाहिँ ‘मानिस आफ्नो भए पनि रोग आफ्नो हुँदैन’ भन्दै अस्पतालको छेउछाउसम्म पनि पुगेनन् । मर्दा मात्र नभएर बाँच्दा नै उनीहरू एक्लै भए । यतिसम्म कि कतिपयका परिवारका सदस्यहरूले बिरामी बाँचेर फर्कियो भने फेरि रोग बल्झिएला र आफूलाई सर्ला भनेर मृत्युको कामना गरेका समाचारहरू पनि आइरहेका छन् । मर्ने त मरिहाले अस्पताल पुगेर फर्किएका मध्ये कतिपयको अवस्था परिवारमा एक्लो हुनेछ । उसलाई फेरि बल्झिएर आफूलाई सर्ला कि भन्ने ठानी परिवारका सदस्यहरूले सामाजिक दूरी राख्दाराख्दै भावनात्मक दूरी पनि बढाउने छन् । त्यस्ता मानिसहरूका लागि बाँचेको बाँकी जीवन थप कठिन हुने देखिन्छ, जसको सुरुवात भइसकेको छ ।

न रुनलाई वरिपरि मान्छे, न त आफ्नो धर्म–संस्कृतिअनुरूपको सद्गत वा काजक्रिया । मान्छे हो कि फोहोरको पोको हो छुट्याउन गाह्रो पर्ने गरी प्लाष्टिकमा बेरिएर ब्यवस्थापन हुनुपर्ने अवस्थाको एक्लो मृत्यु शायदै देखिएको थियो ।

अस्पतालबाट निकालिएका खातका खात लाशहरू देख्दा मानिस एक्लै मर्छ भन्ने कुरा त यो पो रहेछ भन्ने अनुभूति हुन्छ । न रुनलाई वरिपरि मान्छे, न त आफ्नो धर्म–संस्कृतिअनुरूपको सद्गत वा काजक्रिया । मान्छे हो कि फोहोरको पोको हो छुट्याउन गाह्रो पर्ने गरी प्लाष्टिकमा बेरिएर ब्यवस्थापन हुनुपर्ने अवस्थाको एक्लो मृत्यु शायदै देखिएको थियो । सरुभक्तले आफूले लेखेको एउटा उपन्यासको नाम राख्नुभएको छ, समय त्रासदी ! वास्तविकतामै विश्वका मानिसहरू अहिले त्रासदीपूर्ण समय बाँचिरहेका छन् । केही महिनादेखि मानिसहरू लकडाउनमा छन् र लामो समय एक्लै बस्दा कतिपयले आफूलाई सम्हाल्न सकिरहेका छैनन् । अबको समस्या कोरोना र भोकमरीको मात्र नभई मानसिक पनि हुनेछ, जो धेरै मानिस मरेका मुलुकहरूमा मात्र नभएर हाम्रो देशमा पनि हुनेछ ।

हामीलाई हुर्काउँदा परिवारका सदस्य र आफन्तहरूसँगको सामिप्यताको अर्थ बुझाउँदै हुर्काइयो । स्कुलमा पढाउँदा मानिस सामाजिक प्राणी हो भन्ने पढाइयो । हामीमध्ये कसैलाई पनि एक्लै जीवन बाँच्न सिकाइएको छैन । सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्ने भनेर सिकाइयो, तर आफैसँग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएको छैन । परिणामतः हामी आफू आफैले जोखिमपूर्ण ब्यवहार गरिरहेका हुन्छौँ । मानिसको जीवनमा अरुका कारणले भन्दा आफ्नै कारणले बढि दुःख–कष्ट निम्तिइरहेको हुन्छ । खानेकुरादेखि अरुलाई गर्ने ब्यवहार र जीवनशैलीसम्म यसमा पर्छन् । स्वास्थलाई हानी हुने रक्सी, चुरोटलगायतका मादक तथा लागु पदार्थ खाउ भनेर अरुले भन्दैन, व्यक्ति आफैले खाने हो । अरुको बारेमा रिसरागदेखि आपराधिक घटनासम्म आफैले गर्ने हो । चारित्रिक छवी अरुले बनाइदिने होइन आफैले बनाउने हो । विभिन्न गलत काम गरेर आफ्नो चरित्रको डकुमेन्टेशन आफैले गर्ने हो । मुखबाट विषाक्त वाणी निकालेर अरुको मन र मष्तिष्कमा विष भर्ने आफैले हो । अरुलाई दुःख दिएर आफ्नो खुशी हराउने काम गर्ने पनि आफूले नै हो । भगवान कृष्ण भन्नुहुन्छ, तिम्रो जीवन तिम्रो कर्म हो । तिमीले जे–जस्तो गर्छौ त्यस्तै प्रतिफल भोग्ने हो । आफूमार्फत हुने यी सबै कुरालाई ‘हेण्डिल’ गर्ने पनि फेरि आफैले हो । त्यसैले हाम्रो हुकाईमा आफैसँग कसरी ब्यवहार गर्ने भन्ने कुरा धेरै महत्वपूर्ण छ । यो सब नसिकाइएकाले अहिले मानिसलाई एक्लै बसेर आफूसँग जोखिमरहित र शान्तिपूर्ण ब्यवहार गर्न गाह्रो भइरहेको छ । कमजोर आत्माले अरुलाई दुःख दिन्छ भनिन्छ । आत्मैदेखि मानिस दह्रो नभएका कारण आफूले दुःख पाउने र अरुलाई पनि दुःख दिने काम भइरहेको छ ।

हामीलाई हुर्काउँदा परिवारका सदस्य र आफन्तहरूसँगको सामिप्यताको अर्थ बुझाउँदै हुर्काइयो । स्कुलमा पढाउँदा मानिस सामाजिक प्राणी हो भन्ने पढाइयो । हामीमध्ये कसैलाई पनि एक्लै जीवन बाँच्न सिकाइएको छैन । सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्ने भनेर सिकाइयो, तर आफैसँग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएको छैन ।

बिना मानसिक तयारी एक्कासी अहिले एक्लै बस्नुपर्ने परिस्थिति आउँदा मानिसहरू ठुलो फ्रस्ट्रेसनबाट गुज्रिएका छन् । जसका कारण मानिसको परिस्थिति मात्र होइन मनस्थिति पनि फरक बन्दै गएको छ । एक्लै बस्ने अभ्यास हामीमध्ये ज्यादै कममा मात्रै छ । कसैले म एक्लै बस्छु भन्यो भने त्यसलाई हाम्रो समाजमा धेरै ठुलो कुरा ठान्दै प्रश्न गरिन्छ– एक्लै ? कसरी सकेको होला … ! उ सहानुभूतिको पात्र बन्छ । भगवान गौतम बुद्धले २५ सय वर्षअगाडि आफैभित्र धेरै ठूलो अनुसन्धान गरेर ‘मानिस आफैभित्र हराएर एक्लै बस्न सक्यो भने दुःखी नहुने’ बताउनुभएको थियो । तर हामीले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्नेमा गर्व गरे पनि उहाँले के पत्ता लगाउनुभएको थियो, उहाँका उपदेशहरू के थिए र हामीले त्यसलाई कसरी उपयोग गरिरहेका छौँ भन्ने कुरामा भने ध्यान दिएका छैनौँ ।

मानिसले कुनै पनि बेला म एक्लै हुन सक्छु भन्ने बुझेर सोहीअनुसारको ब्यवहार आफूसँग गर्ने हो भने एक्लै बाँच्न गाह्रो हुँदैन । एक्लै बस्नु र एक्लै बाँच्नु फरक कुरा हो । म कोठामा या घरमा अहिले एक्लै छु, मैले जे गरे पनि हुन्छ भन्ने मान्यता र आत्मैबाट सशक्त भइ एक्लै बाँच्ने अभ्यास गर्नुबीच ठुलो अन्तर छ । आत्मैदेखि सशक्त भएर जे–जस्तो परिस्थितिलाई पनि सहज रूपमा लिन सक्नुको अर्थ घर परिवार, आफन्त, साथीभाइसँग टाढिएर बस्नुपर्छ भन्नेचाहिँ होइन । सबैका माझ बसेर पनि त्यसप्रकारको अभ्यास गर्न सकिन्छ ।

मानिसले परिवार, आफन्त र भिडभाडमा रहेर पनि एक्लोपनको महसुस गर्न सक्छ । आफैमा रमाएर एक्लै बाँच्ने अभ्यासमा रहेको या एक्लै बाँच्न सक्छु भन्ने आत्मविश्वास भएको मानिस एक्लै भएर पनि एक्लोपनबाट टाढा हुन्छ ।

हुर्काइ फरक भए पनि समयले हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने ठुलो पाठ सिकाएको छ । त्यसो त, जिन्दगीको सीमितता भनेकै कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने हो । हामी यो संसारमा सीमित समयका लागि छौँ र त्यो अनिश्चितता यति धेरै छ कि त्यो सीमित समय कहिलेसम्मका लागि हो भन्ने हामी कसैलाई पनि थाहा छैन । कोरोनाले मृत्युको बारेमा मात्र होइन बाँच्ने सम्बन्धमा पनि पाठ सिकाइरहेको छ । आफूलाई निकै सशक्त ठान्ने मान्छे पनि कमजोर देखिएका छन् । सशक्तीकरणको परिभाषा धन, दौलत, शिक्षा, शारीरिक सुगठनलगायतका कुरासँग भन्दा बढि आफूभित्र निर्भर हुने सहनशक्ति, विषय–बस्तुलाई हेर्ने दृष्टिकोण, ध्यान साधनाले बढाउने आत्मविश्वाससँग जोडिएको हुन्छ । त्यसै पनि प्रविधिले मानिसलाई बाहिरबाट हेर्दा संसारै आफ्नो जस्तो लाग्ने दुनियाँमा पुऱ्याए पनि वास्तविकतामा एक्लो बनाउँदै लगेको छ । यस्तो परिप्रेक्ष्यमा कोरनाले एक्लै बाँच्ने अभ्यास गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ ।

एक्लोपन र एक्लै बाँच्न सक्षम हुनुबीचको दूरी निकै लामो छ । मानिसले परिवार, आफन्त र भिडभाडमा रहेर पनि एक्लोपनको महसुस गर्न सक्छ । आफैमा रमाएर एक्लै बाँच्ने अभ्यासमा रहेको या एक्लै बाँच्न सक्छु भन्ने आत्मविश्वास भएको मानिस एक्लै भएर पनि एक्लोपनबाट टाढा हुन्छ । उसलाई यो संसारमा भएका सबै प्राणी आफ्नै लाग्छ । कुनै पनि बेला म एक्लै हुन सक्छु भन्ने कुरा हरेक मानिसले मस्तिष्कमा राख्नु आवश्यक छ । जुन कुरा सामान्यतया हामी सोचिरहेका हुँदैनौँ ।

यो पनि हेर्नुहोस्-
‘मन’लाई नियन्त्रण कसरी गर्ने ?
खुशी केलाई मान्ने ?
सम्बन्धमा भ्रष्टाचार !
विवाह कसका लागि ?