दुःखी परिवारलाई गोल्डेनगेटको सहयोग

दुःखी परिवारलाई गोल्डेनगेटको सहयोग


कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, गरिब र विपन्न परिवारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट इन्टरनेसनल कलेजले चैत्र २८ गते शुक्रबार राहत सामाग्री वितरण गरेको छ ।

गोल्डेनगेटसहित हिसान र त्रिकुटी कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरियो । त्यसमा ४ सय खाद्य राहत सामाग्री गोल्डेनगेटले उपलब्ध गराएको हो । सदस्यसचिव सिलवाल हिसानका अध्यक्ष पनि हुन् ।

वडा ९ कार्यालयको सम्वन्मयमा बत्तीसपुतलीस्थित गोल्डेनगेटमै सदस्यसचिव सिलवाल, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले लक्षित वर्गलाई राहत सामाग्री वितरण गरे । वितरण गरिएका राहत सामाग्रीमा चामल, चिउरा, नुन, तेल, दाल, मसेउरा र मन्जन रहेका छन् ।

सदस्यसचिव सिलवालले वर्तमान अवस्थामा सक्नेहरुले कठिनाइमा परेकालाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । वडा अध्यक्ष श्रेष्ठले योसहित चार चरणमा राहत वितरण गरिएको जानकारी दिँदै हालसम्म १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकेको बताए । उनले वडा आफैले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको जानकारी दिए ।