टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित


जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक वर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ ।

टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्ष पनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको तर्क छ ।

यसै वर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक वर्ष पछाडी सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ । तथापि, प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार (१० अप्रिल) बताए ।

जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् ।

‘आगामी जुलाईसम्ममा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइसक्छ भन्ने कुरा कसैले भन्न सक्दैन, त्यसैले अहिले तोकिएकै मितिमा ओलम्पिक प्रतियोगिता हुन्छ भन्ने सुनिश्चत गर्न पनि मैले सक्दिनँ’, मुटोले भनेका छन् । तोकिएकै मितिमा प्रतियोगिता हुने बारेमा आफुसँग स्पष्ट जवाफ नभएको उनले बताएका एपीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत महिना सम्बन्धित निकायहरुले यसै बर्ष सन् २०२० मा हुने तय भएको टोकियो ओलम्पिक सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि र पारालोम्पिक अगस्ट २४ देखि गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री आवेले कोरोना भाइरस विरुद्धको लडाईलाई छिटो छरितो, प्रभावकारी र शसक्त नबनाएकाले ओलम्पिक प्रतियोगिता सार्नु परेको भन्दै उहाँको आलोचना पनि भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता एक वर्ष पछाडि हुने मानेर नै तयारीको कामहरु तीव्र गतिमा अगाडी बढाइने उल्लेख गरे । त्यतिबेलासम्म कोरोना भाइरसको सङ्क्रमण अन्त्य हुने आशा पनि उनले व्यक्त गरे ।

ज्ञातव्य छ, जापानमा कोरोना भाइरसका कारण शुक्रबारसम्ममा झण्डै पाँच हजार जना सङ्क्रमित भएका छन् भने झण्डै एक सय जनाको मृत्यु भएको छ ।