परेली आयुर्वेद हाउसमा छापा मारियो

परेली आयुर्वेद हाउसमा छापा मारियो


अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृत रुपमा सामानहरु बिक्री वितरण गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका–३ बालकोट (भक्तपुर)स्थित ‘परेली आयुर्वेद हाउस’ सिलबन्दी गरिएको छ ।

उक्त आयुर्वेद हाउसले अनाधिकृत तवरले सामानहरु बिक्री गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधी ब्यवस्था विभाग बिजुलीबजार काठमाडौंबाट बिहीबार (२७ चैत) खटिएको संयुक्त टोलीले जनप्रतिनिधिहरुको रोहबरमा परेली आयुर्वेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरेको हो ।

हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यका लागि मात्र दर्ता गरेको उक्त आयुर्वेद हाउसले अवैधानिक तवरले साबुन, विभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाइएको प्रहरीको भनाई छ ।

उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोक घर भएकी ३६ वर्षीया कमला उप्रेती अर्यालसँग आवश्यक सोधपुछ तथा सम्बन्धित विभाग र निकायहरुसँग समन्वय गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको पनि महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।