अप्ठेरोमा सहारा बन्दै गाउँपालिका अध्यक्ष !

अप्ठेरोमा सहारा बन्दै गाउँपालिका अध्यक्ष !


■ विकास रौनियार, धादिङ

कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले सिङ्गो देश ‘लकडाउन’ गरेको दुई साता नाघेको छ । सामान्य जीवन यापन गरिरहेका नागरिकलाई यस्तो बेला विभिन्न प्रकारका अप्ठ्यारा आइपर्नु स्वाभाविक नै हुन आउँछ । सानातिना अप्ठ्यारा त झेलिन्छ पनि, तर निकै दुःखको अवस्था आइपर्दा चाहिँ असहाय नै हुन पुग्छन् गाउँका जनता ।

यस्तै अप्ठ्यारोको बोध गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले आफ्नो पालिकाभित्रका जनताको विशेष चासो राख्ने गरेका छन् । खासगरी ब्यथा–बिरामी परेका जनताको सहारा बन्दै छन् उनी ।

जिल्लाको गजुरी गाउँपालिका–७ भष्मेखर्कका निवासी सुकुमान दोङ तामाङलाई पनि यस्तै विपत्ति आइलाग्यो । उनकी १२ वर्षीया छोरी चञ्चली तामाङ जंगलमा घाँस काट्न जाँदा भीरबाट खसेर घाइते हुन पुगिन् । लकडाउनको बेला गाउँ नै सुनसान, कसले गर्ने उद्धार ?

तर, घाइते चञ्चलीले अलपत्र बन्नु परेन । खबर प्राप्त हुनेवित्तिकै गाउँपालिका अध्यक्ष बस्नेत तत्काल घटनास्थल पुग्नुभयो । घाइते सानी नानीलाई उद्धार गरेर उहाँले गजुरीस्थित स्वास्थ्यकेन्द्र पुऱ्याउनुभयो । घाँस काट्ने क्रममा लडेर घाइते भएकी चञ्चलीको अहिले प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।