चैत मसान्तदेखि भरी ग्यास सिलिण्डर उपलब्ध गराइने

चैत मसान्तदेखि भरी ग्यास सिलिण्डर उपलब्ध गराइने


नेपाल आयल निगमले आगामी आइतबार (३० चैत) देखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (सिलिण्डरभरी) को ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबार (२७ चैत)देखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए ।

बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताउनुभयो । उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करिव १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो । ‘एक साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पुऱ्याउन भ्याइनभ्याइ थियो तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छ”, उनले भने, ‘आधा सिलिण्डर ग्यास बिक्री हुन थालेपछि उपभोक्ताहरुले ग्यास लिनै मानेका छैनन् ।’