कोरोना महामारी संक्रमणबीच अस्पतालमा अनुपस्थित पाँच चिकित्सक निष्काशित

कोरोना महामारी संक्रमणबीच अस्पतालमा अनुपस्थित पाँच चिकित्सक निष्काशित


विनाजानकारी डेढ महिनादेखि अनुपस्थित रहने पाँ जना चिकित्सकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करिव एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी लामो समयदेखि अनुपस्थित भएकाले सेवाबाट हटाइएको सूचना बुधबार (२६ चैत) दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिएका हुन् ।

अनुपस्थित चिकित्सकहरु कोराना संक्रमित बिरामीको उपचार गर्नुपर्ने भयका कारण यसरी अनुपस्थित रहेका स्थानी सचेतजनको अनुमान छ । यसरी बिरामीको सेवा गर्न हिच्किचाउनु चिकित्सकीय पेशाको मर्म नभएको सम्बद्ध विज्ञहरु बताउँछन् ।

कोरोना महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालको भनाई छ ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा. वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की रहेका छन् । उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए ।

जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा करारमा नियुक्त ती चिकित्सकहरु महासंकटको बेलामा उल्टै सम्पर्कविहीन भएपछि हटाउनुको विकल्प नभएको अस्पताल प्रशासनको तर्क छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पनि महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताएका छन् ।