राहत वितरणमा पनि राजनीति !

राहत वितरणमा पनि राजनीति !


एस. क्षेत्री, कपिलवस्तु

सर्वदलीयको नाममा निर्वाचित जनप्रतिनिधिहरुलाई कोही-कसैले काम-काज गर्नमा बाधा-अडचन नपार्न नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले आग्रह गरेका छन् ।

पछिल्लो समय जिल्लास्थित महाराजगञ्ज नगरपालिकाको कुशहवा गाउँमा राहत बाँड्न खोज्दा नेकपाका नेता कार्यकर्ताले बाँड्न नदिएको र यस विषयमा महाराजगंज नगरपालिकाले स्थानीय प्रशासनसँग सहयोग माग्दा स्थानीय प्रशासनले सर्वदलीय ढंगले अघि बढ्न निर्देशन दिने गरेको विषयले नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको सभापति आचार्यले बताएका छन् ।

कोरोना संक्रमणको महामारीको यस अवस्थामा कांग्रेस सभापति आचार्यले निर्वाचित जनप्रतिनिधीहरुलाई सहज ढंगबाट काम गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन् । ‘महाराजगंज नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरु कुनै एक दलको मात्र छैनन् । जनताको विश्वास जितेर आएका विभिन्न दलका निर्वाचित प्रतिनिधिहरुको थलो हो, महाराजगंज नगरपालिका । सिङ्गो नगर कार्यपालिका नै सर्वदलीय सर्वपक्षीय स्थानीय सरकार हो’, पार्टी सभापति आचार्य भन्छन्, ‘सिङ्गो स्थानीय सरकारको रुपमा प्रतिनिधित्व गर्ने नगरपालिकामा कस्तो सर्वदलीय संयन्त्र खोजिएको हो ? हामीले बुझ्न सकेनौँ ।’ सर्वदलीय सहमतिका नाममा निर्वाचित जनप्रतिनिधीहरुको मानमर्दन गर्न खोज्नु आफुहरुलाई कदापि मान्य नहुने उनले बताए ।

महाराजगंज नगरपालिकाको कुशहवा गाउँमा वितरण गर्न लागिएको राहत सामाग्री स्थानीय केही व्यक्तिहरुको अवरोधका कारण वितरण हुन सकेको छैन । वितरण गर्न लागिएको राहत सामाग्रीअन्तर्गत चामल कमसल खालको भन्ने आरोप लगाई वडा कार्यालय नै तालाबन्दी गरिएको छ । मंगलबार (२५ चैत) बिहान प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र स्थानीयको रोहवरमा चामलको गुणस्तर चेकजाँच गर्दा चामल गुणस्तरीय नै ठहरिएको छ । चामलको गुणस्तर छैन भन्नेहरुको मुखलाई अनुगमनका क्रममा देखिएको गुणस्तरीय चामलको थुप्रोले मुखमा बुझो लगाइदिएको स्थानीय सचेतजन बताउँछन् ।

अब अरु कुनै बाहाना नपाएपछि सर्वदलीय सहमति भन्दै राहत वितरण कार्यलाई अवरोध गर्न खोज्नु गलत कदम भएको पार्टी सभापति आचार्यले बताए । ‘महामारीको यो अवस्थामा पनि राजनीति गर्न खोज्नेहरुउपर सभापति आचार्यले भने, अहिले सबै मिलेर कोरोना भाइरसको यो संक्रमणसँग ल्न लकडाउनलाई पूर्ण पालना गरौँ, राजनीति त निर्वाचनका बेला गरौँला ।’

राहत वितणका लागि तयार गरिएको नामावलीमा कोही छुटपुट भएको भए नगरपालिकामा सम्पर्क गरेर त्यो नामावली सच्याउन सकिने नगर प्रमुख अब्दुल कलाम खांले बताए ।