‘कोभिड–१९ महामारी’ : नेपालको निम्ति एक महत्वपूर्ण अवसर

■ चित्रबहादुर के.सी.



अहिले विश्वभरि कोरोना भाइरसको सङ्क्रमणले आतङ्क मच्चाएको अवस्था छ । दिन–प्रतिदिन यसको संक्रमण बढ्दो अनुपातमा छ । विश्वका शक्तिशाली मुलुक कोरोनाविरूद्धको औषधि खोप बनाउने तयारीमा लागेका छन् । परीक्षण हुने क्रममा नै छ । तर, यसको प्रभावकारी प्रयोगको लागिचाहिँ कम्तीमा ५–६ महिना लाग्ने विज्ञजनको अनुमान छ ।

संसारका कैयन मुलुक यतिबेला लकडाउनको अवस्थामा छन् भने कतिले अझै यो उपाय अवलम्बन गरिसकेका छैनन् । आफ्नो नागरिकको सुरक्षाको लागि पनि यो आवश्यक छ । तर, लकडाउन गर्दा सबै मुलुकले एकै समयमा गर्दा उपयुक्त हुनेमा ठूला मुलुकको समेत सोच नपुगेको प्रतीत हुन्छ । फरक–फरक समयमा लकडाउन गर्दा यसको औचित्य रहन्न । किनकि, यो कुनै देशविशेषसँग सम्बन्धित समस्या होइन । एकअर्कोमा फैलिने भएको हुँदा साझा समस्याको रूपमा सबै मुलुकले लिनुपर्ने हो ।

कोरोना–महामारपिछि विश्व–परिवेशमा यस युगलाई दुई चरणमा भाग लगाएर हेर्न सकिने अवस्था सृजना भएको छ– ‘कोरोनापूर्व’ र ‘कोरोनापछि’ ।

‘कोरोना युग’लाई सन् १९३० को आर्थिक मन्दीपछिको भन्दा पनि संकट र खतराको रूपमा हेरिएको छ । विश्वभरिबाट अर्बौं रोजगार गुम्ने प्रस्ट देखिसकिएको छ । वर्तमान कोरोना भाइरसको असरले महाशक्तिसाली राष्ट्र र विश्व समुदायले नै ठूलो शिक्षा लिने र चुनौतीसमेत मिलेको अनुभूति गरिएको छ ।

आणविक र क्षेप्यात्रको अब यो दुनियाँमा कुनै महत्व छैन र यसको भूमिका वा अर्थ निकै कमजोर रहेछ भन्ने समेत पुष्टि भएको छ । विश्वको महाशक्तिशाली राष्ट्र अमेरिका र अष्ट्रेलियाको समेत कमजोर हालत सदृश्य अवगत हुन पुगेको छ । उनीहरूले अहिलेसम्म प्रकोपलाई नियन्त्रण गर्न सकिराखेका छैनन् । बरु प्रकोपको अनुपात बढ्दो छ । अहिलेको युग भनेको स्वास्थ्यसेवा र कृषिकै रहेछ भन्ने कुरामा दुईमत रहेन । विश्वसमुदायमा जुन अश्त्र र आणविक होडबाजी या प्रतिस्पर्धा चलिराखेको थियो, अब यस्तो प्रतिष्पर्धामा कमी आउनेअपेक्षा गर्न सकिन्छ । यो कोरोना भाइरसको प्रकोपले दिएको बलियो शिक्षा पनि हो ।

नेपाल रेमिट्यान्सले चलेको मुलुक हो । यस्तोमा लाखौँ नेपाली एकैचोटि देश फर्किंदा शुरूको अवस्थामा समस्या आउन सक्छ । तर, यो नयाँ नेपाल निर्माण गर्नको लागि मेरुदण्ड पनि हुन सक्छ । यसको लागि नेपाल सरकारले कार्यक्रम र योजना तयार गर्नु पर्दछ ।

अब नेपालतर्फको प्रसङ्गमा जाऊँ । नेपाल लकडाउनको अवस्थामा छ । नेपाल सरकारले नागरिकको सुरक्षाको लागि सबैलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ । लकडाउन भएको पनि दुई साता नाघेर तेस्रो चरणमा प्रवेश गरेको छ । यो लेख लेखिराख्दा संक्रमित संख्या नौ पुगेको छ ।

सरकारले जुन रूपमा तयारी गर्नुपर्ने थियो, त्यो भएको खासै देखिँदैन । स्वास्थ्य मन्त्रालयमार्फत् चीनबाट मेडिकलको सामग्री खरिद गर्दा अनियमितता भयो भनेर ब्यापक विरोध र आलोचना भएपछि सरकार पछि हट्न बाध्य भई दुई पक्षबीचको सम्झौता बदर गरियो र नेपाली सेनालाई त्यो कामको जिम्मा दिइएको छ । तर पनि यो विवादमुक्त हुन सकेको छैन । यस क्रममा प्रधानमन्त्रीको सम्बोधन पनि आयो, तर सम्बोधनले महामारी रोकथाम र जनतालाई राहतको लागि भन्दा भ्रष्टाचारीलाई जोगाउने प्रयत्न मात्रै गरेको भनी ब्यापक आलोचना भइरहेछ ।

हालको तथ्यांकअनुसार प्रवासमा आधा करोड भन्दा बढ़ी नेपाली छन् । प्रवासमा रहने नेपालीहरूमा पनि संक्रमण भैराखेको खबर आइरेहेको छ । केही दिनअघि मात्र अमेरिकामा एकै दिनमा चार जना नेपालीको मृत्यु भएको खबर आयो । यस्तै, यूकेमा बाबुछोरी लगायत अन्य एक जनाको गरी तीन जनाको मृत्यु भएको छ भने कतिपय नेपाली संक्रमणको शिकार भएको खबर छ ।

प्रवासकै कुरा गर्नुपर्दा सबैभन्दा बढ़ी नेपाली रहेको क्षेत्र मध्यपूर्व हो । त्यो क्षेत्रमा पनि संक्रमण देखिएको छ । युएईमा ८ जना र बहराईंनमा १० जना नेपाली नागरिकलाई संक्रमण भएको खबर छ । यसको असर साउदी र कतारमा पनि देखिएको छ । त्यहाँ रहेका नेपालीहरू स्वदेश पुग्नको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई हारगुहार गरिराखेका छन् । तर, लकडाउनको अवस्थाले गर्दा ती नागरिकलाई नेपाल सरकारले स्वदेश ल्याउन सकिराखेको छैन । र, सम्बन्धिधत देशको दूतावाससँग सम्पर्क गरी जो जहाँ छन् त्यहीँ बस्न अनुरोध गरिएको छ ।

अब सरकारले गाउँफर्क अभियान ल्याउनु पर्दछ । कृषिलाई प्रमुख आधार बनाएर विदेशबाट फर्किएका युवा शक्तिलाई तालिमसहितको वैज्ञानिक पद्धतिमा आधारित विधि अपनाएर कृषिलाई आधुनिक तरिकाबाट लैजानु पर्दछ ।

कोरोना भाइरस नियन्त्रणमा आइसकेपछि विश्वसमुदायमा आर्थिक मन्दी प्रमुख समस्याको रूपमा आउने निश्चित नै छ । यो नयाँ युगको रूपमा देखापरेर आउनेछ । यो समस्याबाट नेपाल पनि अछुतो रहने छैन । धेरै संख्यामा रोजगारको अवसर गुम्ने छ । सबैभन्दा बढ़ी असर मध्यपूर्वमा रहेका नेपालीलाई निश्चित रूपमा पर्ने छ । नेपाल रेमिट्यान्सले चलेको मुलुक हो । यस्तोमा लाखौँ नेपाली एकैचोटि देश फर्किंदा शुरूको अवस्थामा समस्या आउन सक्छ । तर, यो नयाँ नेपाल निर्माण गर्नको लागि मेरुदण्ड पनि हुन सक्छ । यसको लागि नेपाल सरकारले कार्यक्रम र योजना तयार गर्नु पर्दछ ।

अहिले शहरीकरणले तीव्रता लिइराखेको अवस्था छ । गाउँ शून्य अवस्थामा छ । गाउँका खेतबारी बाँझिएका छन् । कोही काम गर्न, मिहिनेत गर्न तयार छैनन् । सबै सुविधाभोगी र विदेशबाट पठाएको पैसाले गर्दा काम गर्ने बानी हराइसकेको छ ।

अब सरकारले गाउँफर्क अभियान ल्याउनु पर्दछ । कृषिलाई प्रमुख आधार बनाएर विदेशबाट फर्किएका युवा शक्तिलाई तालिमसहितको वैज्ञानिक पद्धतिमा आधारित विधि अपनाएर कृषिलाई आधुनिक तरिकाबाट लैजानु पर्दछ । मध्यपूर्वमा २०–२५ हजार रुपैयाँको लागि श्रम गर्न जाने युवा शक्तिलाई रोक्ने यो सुनौलो अवसर पनि हो ।

०७२ सालमा भूकम्प जाँदा पनि एक किसिमको अवसर आएको थियो, युवा विदेश पलायन हुनबाट रोक्ने । तर, त्यो अवसरलाई सरकारले प्रयोगमा ल्याउन सकेन । अहिलेको यो अवसरलाई पनि सरकारले गुमायो भने नेपालको भविष्य सधैं अन्धकारमा रहने छ । देश निर्माण गर्ने युवा शक्तिले हो, त्यस्तो युवाशक्ति अहिले नेपालभन्दा बाहिर छ ।

अहिलेको यो समस्याबाट स्वास्थ्यसेवा र कृषि प्रमुख पाटो रहेछ, यी दुई क्षेत्रलाई राज्यले राज्यको अङ्गको रूपमा लिनुपर्ने रहेछ भन्ने शिक्षा पनि मिलेको छ । अब देश निर्माण गर्ने हो भने विदेशमा रहेका युवालाई देश निर्माणमा लगाएर विदेश पलायन रोक्नै पर्दछ । यो अवसर हो, अवसर निर्माण गर्ने माहोल सरकारको हो । सरकार अब गम्भीरताका साथ अघि जानु पर्दछ । अब पनि यो नयाँ अवसरलाई समात्न नसक्ने र पुरानै पाराले हिँड्न खोज्ने हो भने भावी पुस्ताले दुःख पाउने निश्चित नै छ ।

(निवर्तमान एनआरएनए आइसाईसी सदस्य रहेका केसी नेपाली काङ्ग्रेस महासमिति सदस्य हुन् ।)

प्रतिक्रिया