लकडाउनको अवस्थामा लागुऔषधको तस्करी

लकडाउनको अवस्थामा लागुऔषधको तस्करी


■ आर पी उपाध्याय

कोरोना भाइरसले महामारीको रुप लिई जनजीवन त्रासमय बन्दै जाँदा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको भारतसँग जोडिएको सीमानाकामा लागुऔषध दुर्व्सनीको चलखेल बढ्न थालेको छ ।

सुस्ता गाउँपालिका–३ मा भारतबाट ल्याइएको लागुऔषधसहित एक लागूऔषधकर्मी युवालाई सवारीसाधनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । सुस्ता–२ निवासी ३६ वर्षीय रगलाल यादवले भारतीय नम्बर प्लेट यु.पी ५६ आर ८२७१ को मोटरसाइकल प्रयोग गरी उक्त अवैध धन्दा गरेका थिए । सो मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमनाथ पाण्डेयले जानकारी दिएका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार लागुऔषध दुर्व्यसनी यादवले नाइट्रोमेट १४ पिस, नरगन ९ पिस बीन्सपेरम ५७६ पिस र मोवाइल एक थानसहित रकम २३ हजार ३५० रुपैयाँ लिइआएको अवस्थामा नियन्त्रणमा लिइएको हो । थप कार्यवाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पठाइएको छ ।

नारायणी किनारामा फेला परेको लागुऔषध ढुवानी गर्ने व्यक्तिले भारतबाट डुंगामा ल्याएको श्रोतले बताएको छ । लकडाउनको अवस्थामा सुरक्षाकर्मीको आँखा छलेर नेपाल ल्याइएको लागुऔषध यो परिमाण कम भए पनि यस्ताखाले गैरकानुनी क्रियाकलापमा ठूलो गिरोहको संलग्नता रहँदै आएको सीमाक्षेत्रमा चर्चाको विषय बनेको छ ।