जापान मंगलबारदेखि ‘आपतकालीन अवस्था’मा

जापान मंगलबारदेखि ‘आपतकालीन अवस्था’मा


■ विशेष प्रतिनिधि , टोकियो (जापान)

कोभिड–१९ भाइरसको प्रकोप रोक्न जापानी प्रधानमन्त्री आबे शिन्जोले मंगलबार (७ अप्रिल) बाट आपतकालीन अवस्था घोषणा गरेका छन् ।

संक्रमण प्रभावित सात वटा प्रिफेक्चरमा घोषणा गरिने आपतकालीन अवस्था मंगलबारबाट लागू भई आगामी एक महिनासम्म लागू हुने भएको छ ।संकटकालीन अवस्था लागू हुने प्रिफेक्चरहरुमा राजधानी टोकियो, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो रफुकुओका रहेको साँझ आयोजित प्रेसमिटमा प्रधानमन्त्री आबे शिन्जोले बताएका छन् ।

आपतकालीन अवस्था घोषणा भए पनि खाद्यान्न पसलहरु, दैनिक आवश्यक पर्ने सामान बिक्री केन्द्र, औषधि पसल, उपचारजन्य उपकरण र सामग्री, इन्धनलगायत क्षेत्र भने सञ्चालनमा रहिरहने जापानी संचारमाध्यमहरुले जनाएका छन् । यसबाहेक रेल, बसलगायत सार्वजनिक सवारीका साधन र हवाई क्षेत्र नियमित सञ्चालनमा रोक नलगाइने भएको छ । तथापि, आपतकालको अवस्थामा यात्रुहरु नहुँदा त्यस्ता क्षेत्र स्वतः बन्दको अवस्थामा पुग्ने देखिन्छ ।