प्रधानसेनापतिज्यू, यसले नेपाली सेनामा विद्रोही भावना निर्माण गर्दैन र ?

प्रधानसेनापतिज्यू, यसले नेपाली सेनामा विद्रोही भावना निर्माण गर्दैन र ?


■ वीरभद्र

यो मुलुकमा इमान्दार, स्वाभिमान व्यक्ति भन्दा कामको कदर नगर्ने, खुट्टा तान्नेहरू नै हाबी हुने सदियौँदेखि चलिआएको छ । जस्तो कि, ‘सतीले सरापेको देश’मा प्रधानमन्त्री एवम् सेनापति भीमसेन थापाले पनि सेरिएर मर्नुपरेको थियो । एउटा पीडादायी कुरा ! हाल सेनाको असल सेनापति हुन प्रयासरत व्यक्तिको पालामा पनि यो क्रम यथावत रहेको आभास भयो ।

सेनापति सेनाका अभिभावक नभई कतै रक्षामन्त्रीका ‘आज्ञापालक’ मात्रै त होइनन् भन्ने भान भएपछि यी पङ्क्तिहरू स्वतः कोरिन पुगे । नेपाली सेनाको इतिहासमै नघटेको सन्दर्भ– एकैपटक त्यत्रो योग्य फौजलाई घर जान बाध्य बनाउन किन विवश हुँदै छन् त सेनापति ? सेनामा एउटा अधिकृत क्याडेट लेभलदेखि कर्णेेलसम्म सक्षम व्यक्तित्व बनाउँदा जनताको करबाट ढुकुटीमा जम्मा भएको रकमबाट राज्यले करोडौँ खर्चेको हुन्छ । एउटा अधिकृत लायक ढङ्गले मुलुक तथा जनताको रक्षार्थ सदैव अडिग रही कर्तव्यबोधका साथ कार्यरत होस् भनी राज्यद्वारा लगानी लगाइएको हुन्छ । तर, सेनापतिलाई के त्यस्तो रिस वा डाहा थियो आफ्नै अधिकृतप्रति कि त्यत्रा बटालियनलाई नै घर जान बाध्य पार्नुपर्ने ?!

यहाँ सेनामा योग्य र अयोग्य व्यक्ति भन्दा पनि ‘बटरिङ’ र ‘ब्रिफकेस’को (चिप्लो घसेर चाकडी गर्ने तथा नगद चढाउने) प्रचलन आइसकेको छ । बेला–बेलामा आर्थिक अपचलन तथा सेनाको कमाईप्रति प्रश्न उठाउँदै अख्तियारको दायरामा ल्याउन पर्छ भनी जनता तथा विश्लेषकले मात्रै आवाज नउठाएर स्वयम् अवकासप्राप्त अधिकृतहरूले बेला–बेलामा प्रतिप्रश्न गरिरहेकै हुन्छन् । केही चल्तीका साप्ताहिक पत्रिकामा पनि सेनाको विषयलाई लिएर विभिन्न बहसले स्तम्भ भरिएको हुन्छ । सकल र अन्य दर्जाले आफ्ना सेनाको अनियमिततालाई बारम्बार उठाइरहेका हुन्छन् ।

अझ सेनामा हुँदा अनुशासनमा बाँधिएर सेनालाई परिवार नै सम्झि घात नहोस् भनी केही बोल्दैनन् तर अवकास हुनेबित्तिकै ‘भडास’ पोख्ने गर्छन् । सेनामा कुरौटे, भरौटे तथा नेताका जुत्ता उठाएर हिँड्ने र टन्न कमाएर बस्नेकै बोलवाला भइरहेको आभास हुन्छ । नेताका नजिकवाला अधिकृत, पहुँच तथा पावरवाला र अनियमिततालाई साथ दिने सेना अधिकृतको घरमा झुक्किएर पुग्नुहोस् त, तिनीहरूको ठाँट र रवाफले तपाईंलाई आश्चर्य चकित पार्छ ।

दरबार जस्ता कोठैपिच्छे ज्याकुजी, साउना, रक्सी बार र स्विमिङ पुलको सजावटले तपाईं पाँचतारे होटलमा छु कि भन्ने भान हुन्छ । त्यस्तो प्रकारको सुविधावाला वातावरण इमान्दार र खुरू–खुरु काम गर्ने कर्मनिष्ठ अधिकृतको सेनाको घरमा कमै पाउनुहुन्छ । तिनीहरू त बस् ! हलीझैँ इमानदारपुर्वक आफ्नो कामलाई ‘कर्तब्य’ सोची दिनहुँ रगडिरहेका हुन्छन् ।

सेनापतिज्यू ! तपाईंले पक्कै पनि आफ्नो एक लाख सेनामध्ये प्रत्येक व्यक्ति बारे बुझ्नै भएको होला, आफ्नै परिवारझैँ । प्रत्येक व्यक्तिको तिनका निजीगत जीवनीबारे बुझ्न नसक्नुभए तापनि तिनीहरूको व्यवसायिक चरित्रबारे बुझ्न त भ्याउन भएकै होला । आफुले नबुझे पनि तपाईंलाई सजिलो होस् भनी बोर्ड गठन गरेकै हुन्छ भने अझ सहज होस् भनी ग्रेडिङ तथा अधिकृत मुल्याङ्कन गर्ने विधि त बनाइएको पनि हुन्छ । तर ‘ग्रेडिङ मात्रै ठिक होइन कि ?’ भन्ने बेला–बेलामा चर्चा भएकै छ । विभिन्न समयमा गरिने कामको मुल्याङ्कन र स्तर फेरि पनि चाप्लुसी र खुसामदमा नै किन भर परिरहेको छ ? जुन गहन विषय छ ।

पदन्नोतिको आधारलाई इमान्दारिता, समर्पण, लगन र योगदान भन्दा पनि चलनअनुरूप ‘ग्रेडिङ’लाई मात्रै मान्यता दिएको कारणले विगतमा नेपाल तारा तथा प्रमुख सेनानी नवल शाह जस्ता योग्य तथा कर्मठ अधिकृतलाई घर जान बाध्य बनाइएको छ भने प्रचण्डको छिमेकीलाई पदन्नोति दिएको ज्वलन्त उदारण तपाईंको मन–मस्तिष्कमा ताजै छ कि छैन ?

नेपाली सेनाले किन वैज्ञानिक तवर अपनाउन नसकेको ? तपाईं सेनापति हुँदै गर्दा तपाईं आफैले यसबारे केही शब्द बोल्न प्रयास गर्नुभएको भान हुन्छ । नेपाली सेना ग्रेडिङ सिस्टमबाट मात्रै चल्ने हो भने त हालै पदन्नोति बोर्डका अध्यक्ष तथा सदस्य र स्वयम् तपाईं कुन ग्रेडिङबाट हालको अवस्थामा हुनुहुन्छ ? प्रतिप्रश्न उठ्न सक्छ, जो मननयोग्य र सोचनीय पनि छ ।

बढुवामा सहजता होस भनेर नेकुवीदीमा टप नम्बर ल्याउनको लागि सैनिक व्यक्तित्वको बर्खिलाप गई जर्साबको घर–घर कोसेली पुराउने, भोज–भतेर चलाउने, चाप्लुसी गर्ने चलन त चिफसाहेब जस्ता व्यक्तित्वलाई राम्ररी ज्ञान छ क्यार ! अर्कोतर्फ सेनाको आइरन गेट मानिने स्टाफ कलेज कोर्सबाट उम्किने अधिकृतको पनि बढुवामा कुनै औचित्य र भविष्य देखिँदैन भने त्यो तालिममा त्यत्रो खर्च गर्नुको औचित्य के रहन्छ ?

अझै त्यत्रो पिएससी प्रमुख सेनानी यस वर्षको पदन्नोतिमा नपरी घर जान बाध्य बनाइएकोले तपाईंको र बोर्डको नेतृत्वकारी भूमिका र दूरदर्शिता छर्लङ्गै भएको अनुभूति भएको छ । पच्चीस तथा तीस वर्ष यस संस्था, राष्ट्र तथा जनताप्रति दिएको योगदान र कदरलाई यहाँको निर्णयले स्खलित बनाउने काम मात्रै भएको छ । पदन्नोतिको आधारलाई इमान्दारिता, समर्पण, लगन र योगदान भन्दा पनि चलनअनुरूप ‘ग्रेडिङ’लाई मात्रै मान्यता दिएको कारणले विगतमा नेपाल तारा तथा प्रमुख सेनानी नवल शाह जस्ता योग्य तथा कर्मठ अधिकृतलाई घर जान बाध्य बनाइएको छ भने प्रचण्डको छिमेकीलाई पदन्नोति दिएको ज्वलन्त उदारण तपाईंको मन–मस्तिष्कमा ताजै छ कि छैन ?

अहिलेका पदन्नोति भएका सबै एकैचोटि चिफ हुने त होइनन् होला ? होइनन् भने त्यत्रा अधिकृतलाई रूवाएर घर पठाउँदा तपाईंले कसको मन जित्नुभयो त ? तपाईं नै होइन र नेताको घर चाप्लुसी गर्न जान पर्दैन भन्ने ?! अब भन्नुहोस् कसरी नेताका सिफारिसका परे त ? देशको सुरक्षार्थ खटाउँदा पनि के सेनापतिज्युले ग्रेडिङ हेर्दै ए, बी, सी भन्दै खटाउनु हुन्छ र ? विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हाम्रो देशमा पनि सन्त्रास फैलाइरहेको छ । यस्तोमा ती ग्रेडिङहरू घाँटीमा झुण्डाएर खटनपटन गर्न सहज होला त ?

‘जुन जो.. आए पनि कानै चिरेको’ भनेझैँ जुन ‘चिफ’ आए पनि आफ्नै आसेपासेलाई अगाडि बढाउने मात्रै देखियो । यद्यपि सबै सेनापति कुरा मात्रै मिठा गर्न रूचाउँछन् । नेपाली सेनामा सैनिक अधिकृतहरूको पदन्नोतिमा फास्ट ट्रयाकको नियम शुरूदेखि नै निष्पक्ष र त्रुटिरहित कहिल्यै रहेन । विगतमा गौरव र राजेन्द्र चिफसाहेबदेखि हालसम्म उस्तै विवादित रह्यो र रहि नै रह्यो (विशेषतः प्रसेबाट मसेमा पदन्नोति गर्दा) । सैनिक ऐन–नियमको लिखितममा एउटा र गराई तथा व्यवहारमा फरक देखिएको छ । कहिले ननपिएससीलाई पनि पदन्नोति दिइएको छ भने कहिले पिएससी गरेका एकैलटमा धेरै संख्यामा अवकाश दिई घर बस्न बाध्य बनाइन्छ । कुनै पनि बोर्डको निर्णय अहिलेसम्म त्रुटिरहित देखिएको छैन भने प्रत्येक चोटि भद्रगोल र मनोमानी देखिएकै छ ।

आफुभन्दा धेरै बेसिक जुनियरको मातहतमा स्टाफ कलेज पास गरेका अधिकृतले कुन वातावरणमा बसेर काम गर्ने ? यही कुरालाई बारम्बार नयाँ सेनापतिले मनन गरेझैँ गरे तर अन्ततोगत्वा आफ्नो मान्छेलाई अगाडि बढाउन यही फास्ट ट्रयाकलाई नै बलियो हतियारको रूपमा प्रयोग गरेको भान भयो ।

द्वन्द्वकालमा परिवार र आफ्नो ज्यान, भोक निन्द्रा नभनी अहोरात्र युद्वमोर्चामा खटिने अधिकृतलाई घर बस्न बाध्य बनाइएको छ भने तत्कालीन राज्यविरूद्व लड्ने विद्रोही र विद्रोहीको जासुस बनी नेपाली सेनालाई धोका दिने अधिकृतको धमाधम बढुवा गरी जर्नेल बनाइएको छ । के यसले नेपाली सेनामा विद्रोही भावना निर्माण गर्दैन र ?

विधिको विधान पनि अचम्मै छ, द्वन्द्वकालमा परिवार र आफ्नो ज्यान, भोक निन्द्रा नभनी अहोरात्र युद्वमोर्चामा खटिने अधिकृतलाई घर बस्न बाध्य बनाइएको छ भने तत्कालीन राज्यविरूद्व लड्ने विद्रोही र विद्रोहीको जासुस बनी नेपाली सेनालाई धोका दिने अधिकृतको धमाधम बढुवा गरी जर्नेल बनाइएको छ । के यसले नेपाली सेनामा विद्रोही भावना निर्माण गर्दैन र ? हुन त तपाईं सेनाको उपल्लो दर्जा ‘चिफ’ भइसक्नुभयो, तपाईं आफ्नो कार्यकाल शान्तिपूर्ण रूपले आरामका साथ बिताउन चाहनु हुन्छ होला, किन नेतासँग महँगाई मोल्नुहोला र ? भाडमा जाओस् सेना–परिवार, हैन त ? आफ्नो कार्यकाल बितायो र आनन्दले घर बस्यो । यसरी नै सबै चिफले आफ्नो कार्यकाल मात्रै सम्झिने हो भने सेनाको मनोबल कसरी उच्च रहला ? उनीहरूको हौसला बुलन्द नभए कसरी सेना एकढिक्का रहला त ? सेनापति भनेको पृथ्वीनारायण शाह जस्तो हुन सक्नु पर्दछ जनता देश र आफ्नो सेनाको रक्षार्थ–सुरक्षार्थ र भलोको लागि अहोरात्र खटिने, न कि प्रचण्ड जस्ता आफ्नो र परिवारको भलोको लागि जनसेनालाई बलीको बोका बनाउने ?

अन्तमा, सेनापतिज्यू कुरो बुझ्नु नै भएको होला कसरी आफ्नो कार्यकाललाई सफल बनाउने अधिकृतहरू खुशी र सुखी भएर काम गर्न सकुन् भन्ने ख्याल राखेर । के आफूभन्दा आठ बेसिक जुनियर अधिकृतहरू बाहिनीपति तथा पृतनापति र पिएसओज् हुने तर सिनियर बेसिक अधिकृतचाहिँ जुनियरको मातहतमा बसेर काम गर्दा संस्थाको भविष्य उज्ज्वल देख्नुहुन्छ त ? सेनाको अधिकृतको मनोबल खस्किने गरी काम हुने प्रक्रियाले नेपाली सेनाको संस्था भद्रगोल हुने अवस्थामा जाँदैन र ?

अतः निकट भविष्यमा अवकास हुने र योग्यलाई बढुवा दिई जुनियरलाई केही समय थामेर केही वर्षमा बढुवा दिए न्यायसंगत तथा मुनासिव देखिन्थ्यो कि ? यो कुरा मनन गर्ने प्रयास गर्नुहोला प्रधानसेनापतिज्यू ! जागिर खाएपछि अवश्य एकदिन अवकासमा जानैपर्छ । तर जागिरमा रहुन्जेल आफ्नो संस्थालाई व्यवसायिक, व्यवस्थित र उत्कृष्ट बनाउन आफ्नो मातहतका सकल, अन्य दर्जा र अधिकृतको मनोबल उच्च राख्नु नै बुद्विमता होला, न कि मेरो गोरूको बाह्रै टक्का ! जसरी होस् आफू मात्रै टिक्ने हो भन्दै दुनो सोझाउने प्रवृत्तिबाट अभिप्रेरित भई काम गर्नु कत्तिको उत्तम होला त ? सलाम !!