भाइरसको महामारी रोक्न सरकार ‘क्रूर’ हुनु जरुरी !

भाइरसको महामारी रोक्न सरकार ‘क्रूर’ हुनु जरुरी !


■ प्रकाश के.सी., लण्डन

हरेक समाचार यतिबेला ‘भाइरसमय’ भएका छन् । संसारका मुख्य सबै समाचार–माध्यमहरूमा चौबीसै घण्टा यही भाइरसका बारे चर्चा भइरहेका हुन्छन्, अन्य समाचारले खासै ठाउँ पाएका छैनन् । अहिले अन्य खालका रोगीले अस्पतालमा ठाउँ नपाएको जस्तै गरी सो भाइरसबाहेकका समाचार सामग्री तथा लेख–रचनाले अहिले पत्रपत्रिकाहरूमा ठाउँ नै पाउँदैनन् कि भन्ने आभासले आम लेखकहरू यसै विषयमा खोजी गर्दै लेख्ने भएकोले पनि म यता लण्डनबाट सोही किसिमले आलेख तयार पार्न लाग्दैछु ।

विश्वका २०९ वटा देशमा यस भाइरसको संक्रमणका तथ्याङ्कहरू खोज्ने क्रममा हरेक पाँच दश मिनेटमा संख्याहरू थपिँदै जाने देख्दा यत्तिको विरक्ति जगाउने रहेछ कि कतिपटक ल्यापटप थन्क्याएर बाहिर गार्डेनमा गई लम्पसार परेर घाम ताप्ने गरेको छु । मानिसहरूको मृत्युको नम्बरले वास्तवमै भन्ने भए मनभित्रको संवेगलाई झक्झकाउन थाल्ने क्रमको शुरुवात भइसकेको छ ।

बेलायत सरकारद्वारा यूकेका विभिन्न शहरमा जस्तै यता लण्डनको वेस्टमिन्स्टर, इष्ट लण्डन अनि रुइल्सिपमा अस्थायी शव–गृहहरू बनाइएका छन्, जसमा दशौँ हजार लास राख्न सकिने छ । रुइस्लिपमा शुरुमा दुई जना सुरक्षाकमीद्वारा सो अस्थायी लासघरलाई रेखदेख गर्न राखिएकोमा अहिले १६ जनाभन्दा थपिएका छन् । लासहरू हरेक दिन सयौँको हिसाबमा आउने क्रम जारी छ र तिनका क्वारेन्टाइनमा नपरेका बाहेकका शोकसंतप्त आफन्तहरू स्वजनका शव थन्क्याइएको ठाउँको केही नजिक, केही समय उभिनका लागि पनि आउने क्रम जारी छ । उनीहरूलाई सो स्थानबाट हटाउनका लागि खटिएका सुरक्षाकर्मीहरूको हृदयमा गहिरो पीडा र आँखामा आँशु नछल्किएको समय नै हुँदैन । दिनमा मात्र होइन, रातको कुनै न कुनै प्रहर सो ठूलो स्थानको कुनै न कुनै कुनामा त्यस्ता निरीह व्यक्तिलाई हटाउनु कति मुस्किल होला, सुरक्षाकर्मीहरू सो पीडाको बयान नै गर्न सक्दैनन् ।

यही अप्रिल ६ तारिख सबेरैको तथ्याङ्कानुसार विश्वभरका १२ लाख ७२ हजार भन्दा ज्यादा कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ६९ हजार ३५० भन्दा बढि मानिस यही भाइरसका कारण मरिसकेका छन् । सबैभन्दा ज्यादा सङ्क्रमितहरू अमेरिकामा छन् जसको संख्या ३ लाख ३५ हजार छन् भने फोकल्याण्ड आइल्याण्ड, पपुवा न्युगिनी र टिमोर आदि देशमा एक्ला केस दर्ता भएका छन् ।

कोरोना भाइरस कुनै जीवित भाइरस होइन, त्यसैले यसलाई मार्न सकिँदैन । न चिसो मौसम यस भाइरसको श्रोत हो न त गर्मी मौसममा यो मासिन सक्छ । रक्सीको सेवनले भाइरसबाट मुक्ति पाउन सकिन्छ भन्ने पनि भ्रम मात्रै सावित भएको छ ।

यो तथ्याङ्कमा अमेरिका ९ हजार ५६२ मृतकसहित पहिलो स्थानमा, बेलायत ४ हजार ९३४ मृतकसहित सातौँ स्थानमा, हङकङ चार मृतकसहित ६०औं स्थानमा अनि नेपाल मृतकरहित १९०औं स्थानमा रहेको छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर डब्लूएचओमा दर्ता भएको यस कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति चीनको हुवेई प्रान्तका ५५ वर्षीय व्यक्ति थिए जसलाई १७ नोमेभ्बर २०१९ का दिन यस भाइरसले छोएको साउथ चाइना पोष्टले जनाएको थियो । चीनमा अहिले भाइरसको आन्तरिक उत्पत्तिमा स्थिरता आएको छ तर अमेरिका र युरोपमा यस रोग चरमतिर पुग्ने अवस्थामा छ ।

बताइएअनुसार हरेक एक सतकमा विश्वमा त्यस्ता महामारी रोग प्रलयकारी बनेर आउने गरेका छन् । तर यसपालिको माहामारी विश्व साँघुरिएर एक ग्लोबल भिलेजको रुपमा रुपान्तिरित भइरहेको अवस्थामा जंगलमा डढेलो लागेजसरी विश्वव्यापी बनेको छ । जनको तुलनामा विश्वमा धनको ज्यादा खति भइरहेको छ, जसले दूरगामी दुष्प्रभाव देखाउने पक्कापक्की छ । धनी र सम्पन्न देशहरूले आफ्ना नागरिकका साथै देशको आर्थिक पक्षमा स्थिरता दिनको लागि आर्थिक प्याकेजहरू प्रदान गरेको छ भने अन्य विकासोन्मुख अनि अविकसित देशहरूले डब्लूएचओको निर्देशनलाई पछ्याउन बाध्य छन्, जनता प्रशासनको आदेश मान्न बाध्य भएका छन्, जसमा आमनागरिक यस भाइरसको संक्रमणले नभई योजना अनि राहतविहीन सरकारको भाइरसविरुद्ध अभियानमा पिल्सिएर मर्ने पर्यायका घटना दक्षिण एसिया, अनि अफ्रिकी मुलुकमा देखिन थालिएका छन् ।

विभिन्न समाजिक सञ्जालहरूमा फैलिएका भाइरसविरुद्धका जन–सचेतनाका तथ्यहरू एकपछि अर्को हुँदै गलत सावित भइसकेका छन् । सर्वप्रथमतः कोरोना भाइरस कुनै जीवित भाइरस होइन, त्यसैले यसलाई मार्न सकिँदैन । न चिसो मौसम यस भाइरसको श्रोत हो न त गर्मी मौसममा यो मासिन सक्छ । रक्सीको सेवनले भाइरसबाट मुक्ति पाउन सकिन्छ भन्ने पनि भ्रम मात्रै सावित भएको छ । बरु मदिराको अत्यधिक सेवनले स्वभाविक रुपमा स्वास्थ्यमा थप हानी गर्दछ नै । लसुन धेरै नै लाभदायक पदार्थ हो एन्टी भाइरसको मान्यतामा, तर विश्व स्वास्थ्य संगठनका अनुसार लसुनको सेवनले कोरोना भाइरस नलागेको वा निको भएको कुनै प्रमाण छैन । यस्तै, मास्कको प्रयोग मात्रैले यस भाइरसबाट बच्न सकिँदैन । हात, नाक, मुख, कान, आँखाबाट भाइरसको प्रवेश हुनेमा पछिल्लो तथ्यानुसार छालाबाट पनि सर्न सक्ने बुझिएको छ । कुनै एन्टिबायोटिकको सेवनले यो रोग निको भएको पाइएको छैन । बरु व्यक्तिको दृढ आत्मशक्ति नै मुख्य रूपमा यस रोगविरोधी श्रोत सावित भएको छ ।

नेपालका पहिलो रोगीलाई कडा एन्टीवायोटिक औषधी दिएकोले निको भएको भन्ने अनलाइनहरूमा व्यापक पारिएको समाचार हास्यास्पद थिए र अहिले झन् मुख्य रुपले मूर्खतापूर्ण नै सावित भएको छ । लामखुट्टेको टोकाइले भाइरस सरेको कुनै तथ्याङ्क छैन । भाइरसले बूढाबूढीहरू मात्रै नभई युवा तथा निरोगीहरूलाई पनि मार्न सक्षम भएको छ । अहिलेसम्म कुनै किसिमको औषधी तयार भएको छैन जसले यस भाइरसका रोगीलाई निको पार्न सकोस्, या रोग नै नलाग्नको लागि मद्दत गरोस् । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा पटक–पटक हात राम्ररी धुने नै रोकथामको मुख्य उपाय हो । यो भाइरसको सङक्रमण भएको खण्डमा आत्मशक्तिमा ह्रास आउन नदिनु अर्को ठूलो उपाय हो, सोविरुद्ध लड्नको लागि ।

आत्मशक्ति वा सकारात्मक सोच कति बलवान हुन्छ भन्ने दुई उदाहरण– अमेरिकामा एक व्यक्तिलाई इन्जेक्सन लगाएर मृत्युदण्ड दिनको लागि अगाडि राख्ने क्रममा डाक्टरले एक सानो विषालु सर्प देखाउँदै भने कि अब तिमीलाई यस सर्पको टोकाइबाट मृत्युदण्ड दिइने छ, यसले टोक्नेबित्तिकै तिमी मर्दछौ, तिमीलाई मृत्युको पीडा महसुस नै नभई तिमी बित्दछौ.. । त्यसपछि उक्त व्यक्तिको आँखामा पट्टी बाँधियो । उसको कमिजको बाहुललाई पाखुरामाथि सारियो र पीनले उसको नाडीमा विस्तारै घोचियो । उक्त व्यक्ति केही सेकेण्डमै निश्चल भयो ।

पछि, पोष्टमोर्टममा के देखियो भने सो व्यक्तिको शरीरमा उक्त विषालु सर्पकै हाराहारीमा यस्तो घातक रसायन पर्याप्त मात्रामा भेटियो कि जसले गर्दा उसको हृदयाघात भयो । कारण यो मानियो कि उक्त मानिसले मनमा बनाएको नकारात्मक सोच अर्थात् …अब केही सेकेण्डमा मलाई सर्पले टोक्छ र म खुत्रुक्कै मरिहाल्छु.. भन्ने विश्वासका साथ सोच्यो र त्यो सोचले शरीरको एण्टीभाइरस फ्ल्युडमा नेगेटिभ इम्प्याक्ट पारेर घातक रसासन उत्पादन गऱ्यो अनि ठहरै भयो ।

हात, नाक, मुख, कान, आँखाबाट भाइरसको प्रवेश हुनेमा पछिल्लो तथ्यानुसार छालाबाट पनि सर्न सक्ने बुझिएको छ । कुनै एन्टिबायोटिकको सेवनले यो रोग निको भएको पाइएको छैन । बरु व्यक्तिको दृढ आत्मशक्ति नै मुख्य रूपमा यस रोगविरोधी श्रोत सावित भएको छ ।

त्यस्तै अर्को उदाहरण अमेरिकाकै, एक व्यक्तिलाई एड्स लागेकोले ६ महिनाभित्र मर्छ भनेपछि ऊ घरबाट बिदा लिएर साइकल चलाउँदै निस्क्यो सडकमा । एड्सको विरुद्धमा जनजेतना जगाउने ध्येयले विभिन्न प्ले–कार्डहरू साइकलमा राखेर हिँडेको सो व्यक्तिलाई अमेरिकाका ठाउँ–ठाउँमा स्थानीयहरू उसलाई साथ दिन साइकलयात्रामा निस्के । यस्तो पनि अवस्था आयो कि ऊ विभिन्न स्थानमा पुग्ने दिन र समय अग्रिम रुपमा बताउनु पर्ने भयो अनि सो स्थान वा शहरले प्रहरी प्रशासन लगाएर सडकलाई खाली गर्नुपर्ने अवस्था निम्तियो । हजारौंको संख्यामा नागरिकले पछ्याउन थालेकोले स्थानीय निकायले सो प्रकारको व्यवस्था गर्नुपर्ने भएको थियो । सेलिब्रेटीजस्तै बन्न पुगेको सो व्यक्तिमा जीवनप्रतिको सकारात्मक सोच यति बलियो रुपमा मनमा गढ्यो कि ऊ सामान्य रूपले वर्षौं बाँच्यो । भएछ के भने उक्त व्यक्तिभित्र एड्सको विरुद्धमा लड्ने रसायनको उत्पादन गर्यो जीवनप्रतिको उसको सकारात्मक सोचले ।

अहिले लण्डनको आकाशमा सूर्य चहकिएर उदाएको छ, आकाश निलाम्मे भएको छ । १९ डिग्री तापक्रम भनेको बेलायतीहरूको लागि उत्सवको मौसम हो । एकैदिनमा सयौँ मानिस मर्ने क्रम भइसकेको छ र सरकारले भनेको छ कि आउँदो हप्ता हजारको संख्यामा यस भाइरसको कारणले बेलायतमा मानिस मर्दछन् । यो बेला खुल्ला चउर तथा समुन्द्री किनाराहरूमा बेलायतीहरूको घुँइचो सर्वत्रै देखिने गर्दथ्यो तर अन्यत्र जस्तै यहाँ सामान्य रुपमा बेलायत बन्द जस्तै छ तर समुन्द्री किनाराहरू तथा खुल्ला चउरहरूमा घामको मिठो ताप लिनेहरू प्रशस्तै देखिएका छन् ।

फिलिपिन्समा राष्ट्रपतिले लकडाउनको सरकारी आदेश उल्लंघन गर्नेलाई सिधै गोली हान्नु भनेका छन् भने चीनले करोडौँ जनतालाई कडीकडाइका साथ महिनौँ बन्द गरेर राख्यो । उता केही अफ्रिकी देशलगायत भारत, पाकिस्तान र नेपालमा पुलिसले लाठीचार्ज गरेको देखियो । पूर्ण प्रजातन्त्र पनि हानिकारक हुने रहेछ सरकारी निर्देशनको कार्यान्वयन गराउनको लागि भन्ने माथिका देशहरूमा भएका र भइरहेका कार्यान्वयनका शैलीले देखाएको छ ।

बोरिस जोन्सनले व्यवसायमा हानी नहोस् र सुचारु होस् भन्नका लागि बिनाब्याज ऋण दिने व्यवस्था गरेका छन्, कामदारहरूलाई निकाल्न नपाउने गरी त्यसप्रकारको नियम राखेका छन् अनि ८० प्रतिशत तिनको तलब तिनका एकाउण्टमा राखिदिएका छन् । विभिन्न ऋणदाताहरूले तीन महिनाको लागि भुक्तानी रोकेका छन् तथापि केही बेलायती नागरिकहरू नागरिकअधिकारको प्रयोग गरेको भन्दै समुन्द्री किनारहरूमा, खुल्ला चउरहरूमा अनि सडकहरूमा चहारिरहेका छन्, जसले देखाएको छ कि सरकारसँग उक्त अधिकारलाई दबाउन सक्ने अधिकार हुनु जरुरी छ ।