सत्यम, शिवम्, सुन्दरम

सत्यम, शिवम्, सुन्दरम


■ प्राडा दुर्गा दाहाल

शिव अथवा ब्रह्मा । यो सुन्दर संसारको सृष्टिकर्ता । प्रकृतिलाई पूजा वा आराधना गरेर प्राकृतिक नियमहरूको पालना गर्दै यो पृथ्वीमा शान्तिपूर्ण ढंगले सह– अस्तित्वको आधारमा बस्नु भन्ने सन्देश हामी वेद अथवा उपनिषद्हरूमा पढ्न पाउँछौँ ।

यो संसार कसैको पेवा रहेनछ । उहिल्यैका कुरा खुइलिए भनेर पनि नहुँदो रहेछ । जान्ने बुझ्ने भएपछि प्रत्येक व्यक्तिले आँफैसंग तीनवटा प्रश्न गर्नु पर्दोरहेछ स्वविवेकले । यी तीनवटा प्रश्नको जवाफ सही अथवा ग़लत जे पनि आउन सक्छ । सही जवाफ आयो भने त्यो व्यक्ति सही बाटोतिर लाग्छ भने ग़लत उत्तर आएमा ग़लत बाटोमा जान्छ र दुवैले के–कस्तो परिणाम भोग्छन्, मैले यहाँ व्याख्या गरि रहनु नपर्ला । ती स्वविवेकले सोध्ने प्रश्नहरू हुन्–

१. म यो संसारमा किन आएँ ?
२. अबको मेरो दायित्व र कर्तव्य के हो ?
३. मेरो भूमिका मैले कसरी कहाँ निर्वाह गर्नुपर्छ ?

यो कुरा कसैले कसैलाई बुझाएर हुन्न । आफ्नै ब्रह्म र विवेकले स्वनिर्णय गर्नु पर्ने हुन्छ । हामीले १८ वर्षमाथिका बालबालिकालाई सल्लाह–सुझाव दिएर पनि केही हुँदैन, किनभने उनीहरू आफ्नो दिमाग़ अथवा उनीहरूको साथी–समूहको प्रभावमा परिसकेका हुन्छन् ।

सत्य सर्वव्यापी र शाश्वत हुन्छ । सत्य कहिल्यै लुप्त हुँदैन । यो सुप्त अवस्थामा रहेता पनि एकदिन अवश्य जागृत हुन्छ । संसारका सबै मानिसहरूले यो बुझ्नु आवश्यक छ कि ईश्वर अथवा भगवान सबै महादेशमा विभिन्न नामले चिनिन्छन् तर सबैको एक मात्र उद्देश्य मानवजातिको हितका निम्ति काम गर्नु हो ।

भगवानको बास कुनै विशेष जाति, वर्ग, सम्प्रदाय, धर्म अथवा भूगोलमा नभएर मानवजातिमा हुन्छ । सबै धर्म समान छन, महान् छन । कुनै व्यक्ति उँच–नीच हुँदैन परमात्माका अगाडि । कुनै ख़ास जाति ठूलो–सानो हुँदैन । सबैका वेश–भूषा र खाद्यपदार्थ अलग–अलग भएता पनि तिनीहरूको सम्मान गर्नुपर्छ । सबै भाषा, साहित्य, सँस्कृति हरूको अस्तित्वलाई स्वीकार्दै सहकार्य गर्नु पर्छ ।

हामीले यो पनि बुझ्नु आवश्यक छ कि यो प्रकृति र संसारको निर्माण गरि हामीलाई चलाउने एउटा अदृश्य शक्ति छ । विश्वास गर्ने या नगर्ने तपाईं–हाम्रो मानसिकताको विषय हो, तर एउटा शक्ति अवश्य छ जसले क़रिव एकसय वर्षको दर्मियानमा एकचोटि आफ्नो शक्ति प्रदर्शन गरी मानव जातिलाई नियन्त्रण गर्छ ।

संसार सुन्दर थियो । तर क्रमशः हामीले संसारिक नियमहरूको उल्लंघन गरि हामी बस्ने, खाने, खेल्ने र सुत्ने ठाऊँलाई नै कुरूप बनाउँदै गएका छौँ । अतः हामीले आजको दिनमा हाम्रा आधारभूत मानवीय गुणहरूको पालना गर्नुपर्छ–

१. विश्वसनीयता
२. मानवीयता
३. साँस्कृतिक सौहाद्र्धता
४. सामाजिक दायबद्धता
५. तत्वज्ञानको कुशलता

सारांशमा भन्नुपर्दा, आजको मानव सभ्यतालाई दृष्टिगत गर्दा हामीले प्रकृति, अध्यात्मवाद, विज्ञान र प्रविधि तथा राजनीतिलाई समन्वय गरी सन्तुलित ढंगले मिलाएर लैजान सक्नुपर्छ ।

सत्यम, शिवम, सुन्दरमको महानवाणीलाई हृदयंगम गरौँ ।