अर्को हप्ता हाम्रा लागि थप चुनौती छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।



अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको धारणा उनले सार्वजनिक गरेका हुन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको उल्लेख गरे ।

पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । शनिबार (४ अप्रिल)सम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताए । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास रहेको एएनआईले जनाएको छ ।

कार्यदलकी सदस्य डा. म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताइन् ।। क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ त्यही त्यही गर्नुपर्ने समय आएको उनको भनाई छ ।

प्रतिक्रिया