‘कोभिड-१९’को सन्त्रासबीच कसरी बित्दैछ अमेरिकामा नेपाली कलाकर्मीको दैनिकी ?

‘कोभिड-१९’को सन्त्रासबीच कसरी बित्दैछ अमेरिकामा नेपाली कलाकर्मीको दैनिकी ?


■ राजन घिमिरे

यतिबेला विश्व नै कोरोना भाइरसका कारण आक्रान्त छ । सबै वर्ग, तह, तप्का र क्षेत्रका ब्यक्तिहरू यसको मारमा परेका छन् । पछिल्लो समय सरकारद्वारा ‘लकडाउंन’ घोषणा गरी घरमै सुरक्षित हुने नीति–नियम लागू गरिएपछि आफ्नो दैनिकीलाई घर–परिवारकै सेरोफरोमा सीमित तुल्याइरहेका छन् मानिसहरूले । सङ्क्रमण–प्रभावका हिसाबले नेपाल खासै प्रभावित भइनसकेको अवस्था भए पनि विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा कोभिड–१९ को सङ्क्रमण ब्यापक बन्न पुगेको छ, जहाँ ठूलो सङ्ख्यामा नेपालीको पनि बसोबास छ भने थुप्रै सङ्ख्यामा नेपाली कलाकर्मीहरू पनि रहेका छन् ।

यसै क्रममा घटना र विचारले अमेरिकाका विभिन्न शहरमा रहेका केही कलाकर्मीहरूको दैनिकी तथा उनीहरूको ‘लकडाउंन’को अवस्थाबारे बुझ्ने प्रयास गरेको छ । त्यहाँ रहेका कलाकर्मीहरूको परिस्थिति कस्तो छ त ? अनलाइन कुराकानी गरेर तयार पारिएको यो सामाग्री पाठकका लागि प्रस्तुत गरेका छौँ ।

अमेरिकामा परिवारका साथ रहेकी अभिनेत्री जल शाह आफ्नो मात्र नभई यतिबेला संसारकै माया लागिरहेको बताउँछिन् । आफू सुरक्षित रहेको जानकारी दिँदै सबैलाई सुरक्षित रहन उनको आग्रह र अनुरोध छ ।

‘म त पहिलेदेखि नै घरप्रेमी स्वभावकी हुँ, अहिले पनि घरै बसिरहेकी छु । केही नयाँ कुरा सिक्ने–जान्ने प्रयास पनि गरेकी छु । यो संकटको समयलाई पनि रचनात्मक कार्यमा लगाइरहेकी छु’– जलले भनिन् । ‘यस्तो समयमा सामाजिक सन्जालमा बेमौसमको उट्पट्याङ तस्बिर एवम् स्ट्याटसहरू पस्केर तनाव बढाउने कार्य नगर्न म समस्त सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समक्ष अनुरोध गर्न चाहन्छु । किनकि, यो पक्कै पनि खुशीको माहोल होइन, बरु आत्मबल बढाउंने समय हो’, जलको धारणा छ ।

यस्तै, चलचित्र निर्माता तथा ब्यवसायी रमेश एमके पौडेल पनि ‘लकडाउन’मै छन् अमेरिकामा । अमेरिकाको डालस (टेक्सास)मा रहेका पौडेलले त्यहाँ फिल्म मेकिङ स्टुडियो र सुपर मिनी मार्केट सञ्चालन गर्दै आएका छन् ।

आफ्नो यतिबेलाको दैनिकीबारे जानकारी दिँदै उनले भने– ‘नेपालीहरूलाई स्टोर चलाउंन गाह्रो भएको छ । अहिले २५ दिनदेखि म घरमै छु । सामाजिक सन्जाल हेर्यो, मन भुलायो । यस्तै छ अहिलेको अवस्था । अरु खास केही छैन । सबैलाई सुरक्षित रहने उपाय अवलम्बन गर्न मेरो आग्रह छ ।’

चलचित्र निर्देशक श्याम भट्टराई पाँच वर्ष भयो अमेरिका पुगेका । तीन सातादेखि लकडाउनमा परेका उनी यो पाँच वर्षको यात्रामा यति गाह्रो अवस्था आफूले कहिल्यै नभोगेको बताउँछन् । भट्टराईको लकडाउंन भने आफूलाई मन पर्ने विषयमा बनेका चलचित्रहरू हेरेर बितेको छ । ‘राम्रा सिनेमा हेर्यो, त्यसको बारेमा विचार गरेर आफ्नो भावी कार्य–योजना बनाउँदै बितेको छ यतिबेला मेरो समय’– भट्टराईले भने ।

विगत ४ वर्षदेखि अमेरिकाकामा रहेका चलचित्र निर्देशक एवम् सञ्चारकर्मी सुरेशदर्पण पोखरेल अमेरिकाको बाल्टीमोरमा बस्छन् । यो क्षेत्रमा नेपाली गीत–संगीत र चलचित्र क्षेत्रमा लाग्ने करिव ५० को हाराहारीमा कलाकर्मीहरू बस्ने गर्छन् । रेष्टुरेन्ट र बार सञ्चालन गर्दै आएका पोखरेलको बार यतिबेला पूरै बन्द छ भने रेष्टुरेन्टमा चाहिँ टेक वे मात्र सञ्चालनमा आएको छ । ‘जीवन रहे मात्र ब्यापार गर्ने र कमाउंने हो, अहिलेलाई जीवन बचाउंनेतिरै लागिएको छ । अहिले घरमै बसेर सुरक्षित हुनेतिर लागिएको छ’– सुरेशले जनाकारी दिए ।

यस्तै, नायिका सारंगा श्रेष्ठ दुई हप्तादेखि परिवारका साथ घरमै छिन् । विगत १९ वर्षदेखि अमेरिकामा रहेकी सारंगाले यतिबेला कामबाट छुट्टी लिएकी छिन् । ‘बच्चाको कारण पनि मैले कामबाट बिदा लिएर परिवारका साथ सुरक्षित तवरले दैनिकी अगाडि बढाइरहेकी छु । अरूलाई पनि सुरक्षित रहन सुझाव दिन्छु । यतिबेला हामीलाई घरबाट बाहिर जान दिइएको छैन’– सारंगाले जानकारी दिइन् ।

गायक तथा कलाकार पुष्कर पन्त विगत तीन हप्तादेखि लकडाउंनमा छन् । अमेरिकी सरकारको नियमलाई मान्दै आफू सुरक्षित तरिकाले घरमा नै रहेको जानकारी पन्तले दिए । ‘यो बीचमा पनि केही नयाँ सृजना गर्ने योजनामा छु, तर बजारमा भने यो समस्या सकिएपछि मात्रै ल्याउँछु’– उनले भने ।

नायक मुकेश ढकालको दैनिकी पनि अमेरिकामा अन्य कलाकारहरूको जस्तै बितिरहेको छ । धर्मपत्नी अभिनेत्री मेलिना मानन्धर र सन्तानका साथ घरमै बसिरहेका छन ढकाल । आफू सञ्चालक भएको रेस्टुरेन्ट पनि उनले यतिबेला सञ्चालन गर्न सकिरहेका छैनन् । ‘खानेकुराहरूको ब्यवस्था गरिएको छ । सुरक्षित तरिकाले घरमा रहेर दैनिकी चलाइएको छ । यतिबेला अरु चहलपहल गर्ने त प्रश्नै रहेन’– मुकेशको भनाई छ ।