सरकारी ढिलासुस्तीले खतराको आकार बढेर गएको काङ्ग्रेसको आरोप

सरकारी ढिलासुस्तीले खतराको आकार बढेर गएको काङ्ग्रेसको आरोप


कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिई परीक्षणको व्यापकता बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारलाई आग्रह गरेको छ ।

नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार (२२ चैत) एक विज्ञप्तिमार्फत ती महिलाले सङ्क्रमण मुलुक बाहिरबाट लिएर नआएको तर सतर्कता नअपनाउँदा सङ्क्रमित बन्न पुगेको उल्लेख गरेका छन् । दोहोरो अन्तरराष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य समयमै गरेको भए खतराको आकार बढेर जाने थिएन भन्ने सो विज्ञप्तिमा जिकिर गरिएको छ ।

यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न प्रवक्ता शर्माले सरकारसँग अपिल गरेका छन् । काङ्ग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।