अवैधानिक रूपमा बसेका नेपालीको उद्धार गर्न आग्रह

अवैधानिक रूपमा बसेका नेपालीको उद्धार गर्न आग्रह


■ सुरज भण्डारी, टेक्सास (अमेरिका)/रासस

कोभिड–१९ को महामारी विश्वभर फैलिरहँदा गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा अवैधानिक रूपमा बसिरहेका र विद्यार्थी भिसामा रहेका नेपालीलाई उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

हरेक देशमा कोभिड–१९ को असर बढेसँगै सङ्घले वैदेशिक रोजगारीका लागि कामदार भिसामा गएका तर भिसा अवधि सकिएर पनि अवैधानिक रूपमा ती देशमा बसिरहेका, भ्रमण भिसामा गई लकडाउनमा परेका, भ्रमण भिसामा गए पनि कामका लागि अवैधानिक रूपमा बसेकादेखि अध्ययन भिसामा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको हो । सङ्घले यसका लागि सरकारसँग समन्वय गर्न गैरआवासीय नेपाली सङ्घ तयार रहेको जनाएको छ ।

मध्यपूर्वका देशदेखि लिएर युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा अवैधानिक रूपमा धेरै नेपालीको बसोबास रहेको बताउँदै सङ्घका प्रवक्ता डिबी क्षेत्रीले ती नेपालीको उद्धार जरुरी रहेको बताउनुभयो । उहाँले अवैधानिक रूपमा रहेका नेपालीलाई सम्बन्धित देशमा रहेको नेपाल सरकारको दूतावास तथा नियोग र त्यहाँ रहेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।

‘यो महामारीबाट हरेक देश जुधिरहेको अवस्था छ । यसले अझ विकराल रूप लिएको खण्डमा ती देशका सरकारले पहिला हेर्ने भनेको त्यहाँका नागरिक हो अनि वैधानिक रूपमा बसेका नै हुन्’, सङ्घका प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘त्यो अवस्थामा अवैधानिक रूपमा बसेकाहरुले ठूलो समस्या झेल्नुपर्ने हुन्छ, त्यसैले पहिलो प्राथमिकता दिएर उहाँहरुलाई नेपाल लैजान हामी आग्रह गर्न चाहन्छौँ ।’

अहिलेको यो अवस्थामा विभिन्न देशका सरकारले आफ्नो देश फर्कन चाहनेलाई सहज रूपमा जान दिने सम्भावना पनि रहेकाले त्यसका लागि पहल गर्न नेपाल सरकारसमक्ष उहाँले आग्रहसमेत गर्नुभयो । कुवेत सरकारले यो सुविधा दिने बताइसकेको छ । यदि यो सुविधा नहुने अवस्थामा अवैधानिक रूपमा रहेका नेपालीले नेपाल फर्कन चाहे भने जरिवाना तिर्नुका साथै कानूनले तोकेको सजाय भोग्नुपर्ने अवस्था हुन्छ ।

त्यसैले विभिन्न समस्या झेलेर अवैधानिक रूपमा बसिरहेकाहरुलाई समेत सहज रूपमा नेपाल फर्कन पाउने अवस्था रहेकाले यसलाई बुझेर नेपाल सरकारलाई पहल अगाडि बढाउन सङ्घले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । यस सम्बन्धमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायतसँग छलफल गर्नुभएको बताउँदै प्रवक्ता क्षेत्रीले अहिले नेपालमा समेत लकडाउन रहेकाले यदि उद्धार गरिएपछि पनि कहाँ र कसरी उनीहरुको व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा सरकारले आवश्यक ठानेमा सङ्घले आवश्यक समन्वय र सहयोग गर्ने जनाउनुभयो ।

नेपालबाहिर विभिन्न देशमा अवैधानिक रूपमा रहेका नेपालीको सङ्ख्या पनि उत्तिकै रहेको छ । विभिन्न भिसामार्फत त्यहाँ जाने र अवैधानिक रूपमा बस्नेको सङ्ख्या मध्यपूर्वका देश कुवेत, मलेशिया, ओमान, कतार, युएईलगायत युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशमा रहेकोे छ ।