कांग्रेस नेता भण्डारीद्वारा पार्टी पदाधिकारी एवम् सर्वदलीय बैठक बोलाउन माग

कांग्रेस नेता भण्डारीद्वारा पार्टी पदाधिकारी एवम् सर्वदलीय बैठक बोलाउन माग


नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले पार्टीका शीर्ष नेता तथा पार्टी पदाधिकारी बैठक र संघीय संसदीय दलको कार्य समिति बैठक बोलाउन माग गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको घडीमा सरकारले गरेको निर्णयअनुसार २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने अवस्था सिर्जना नभएको हुँदा पार्टीका शीर्ष नेता तथा पार्टी पदाधिकारी बैठक र संघीय संसद दलको कार्य समितिको बैठक बस्न नेता भण्डारीले माग गरेका हुन् ।

शीर्ष तहका नेताहरुको सो बैठकमा चीनबाट स्वास्थ्य सामाग्री खरिदका क्रममा भएको अनियमितता, आम नेपाली नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा भइरहेको लापर्वाही र सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई मुलुकभित्र ल्याई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्न उनले आग्रह गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका तरुण विभाग प्रमुख भण्डारीले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपाललाई पर्ने हुँदा सरकारले थप सतर्कता अपनाउनु पर्ने र सर्वदलीय बैठक आव्हान गर्नुपर्नेमा समेत जोड दिएका छन्।

यस्तो छ तरुण विभाग प्रमुख भण्डारीको अपिल–

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको वर्तमान घडीमा सरकारले गरेको निर्णयअनुसार २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने अवस्था सिर्जना नरहेको हुँदा नेपाली काग्रेस पार्टीका पदाधिकारी र शीर्ष नेता तथा नेपाली कांग्रेस संघीय संसदीय दलको कार्य समितिको बैठक बस्नु पर्ने जरुरी देखेको छु । साथै उक्त बैठकमा चीनबाट स्वास्थ्य सामाग्री खरीदका क्रममा भएको अनियमिता, आम नेपाली नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा भइरहेको लापर्वाही र सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई मुलुकभित्र ल्याई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्न आग्रह गर्दछु ।

इतिहासलाई फर्केर हेर्ने हो भने नेपाल राष्ट्रको एकीकरणदेखि आजको संक्रमणको घडीसम्म आइपुग्दा नेपाली सेनाले देश र जनताको हितमा पुर्याउँदै आएको योगदान निकै प्रशंसनीय रहेको छ । निकै गौरवमय इतिहास बोकेको नेपाली सेनालाई औषधी खरिद प्रकरणमा जोडेर विवादित पार्न खोज्ने जुन कार्य वर्तमान सरकारबाट हुन लागेको छ, त्यो कार्य अत्यन्त गैरजिम्मेवारीपूर्ण छ । तसर्थ औषधी खरिद प्रकरणमा नेपाली सेनालाई जोडेर विवादित पार्ने काम सरकारले तत्काल रोक्नु पर्दछ ।

यसका साथै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपाललाई पर्ने निश्चित छ । यस्तो अवस्थामा सरकारले जुन हिसाबले सावधानी अपनाउनु पर्ने हो त्यो हुन सकिराखेको छैन । यस विषयमा गम्भीरतापूर्वक छलफल गर्नका लागि सर्वदलीय बैठक आव्हान गर्न समेत सरकारलाई आग्रह गर्दछु । जय नेपाल ।