के-के तमासा देखाउँदैछ ‘लोकतान्त्रिक गणतन्त्र’ !?

के-के तमासा देखाउँदैछ ‘लोकतान्त्रिक गणतन्त्र’ !?


■ भरतप्रसाद भण्डारी (गोकर्णेश्वर)

सात सालमा प्रजातन्त्र आयो, सत्र सालमा भगायो
सत्र सालमा पञ्चायततन्त्र आयो, सतचालिसमा भगायो
सतचालिसको प्रजातन्त्र जनताले नै धरापमा पारे
त्रिसट्ठीमा त ‘लोकतान्त्रिक गणतन्त्र’ भन्ने नै आएछ !
पुराना तन्त्रले केही गरेन भन्दै जनताको लागि आएको गणतन्त्र
तर देशमा जति आए तन्त्र, जनताको लागि भयो मात्रै फोस्रो मन्त्र !

कुन्डले मन्डले सबैलाई पार्टीले हुलेका छन्
जनता ‘लोक’ भएर लाटाजस्ता भएका छन्
पार्टीका ‘गण’ले मोजमस्ती मारेका छन्
नेताजतिले देश बनाउने नाउँमा ढुकुटी उडाएका छन्
कुन्डले–मुन्डलेजतिले लुटपाट र ठोकठाकमा भुँडी भरेका छन् ।

जनतालाई बिलखबन्दमा पर्नेगरी नेताले गणलाई लडाएका छन्
पहिले काठमाडौंमा साँढे जुझ्थ्यो, अहिले मानिस जुझ्न थालेका छन् ।
नेता–नेता मुखले धम्क्याउँछन्, पाँचतारे जान पाए हात मिलाउँछन्
नेताजति जातको राज्य भन्छन्, भोका जनता खाना पो माग्छन्
नेताहरू खाउला खाउला भन्छन्, जनता आशैआशमा वाल्लब्याल्ल परेका छन्

राष्ट्रिय नेता नपाएर जनता धर्ती हेरी रोइरहेछन्
पानी नपाएर प्याकप्याकमा जनता
नेताहरूले मिनरल वाटर खाएकै छन्
०४६ सालमा गाँस, बास र कपासको भाषण सुनेका हामी
भाषणपछि कति जनता मरे होलान्
आजभोली गाँसबास छोड्नुस्, जनताले खुकुरी र गोली खान्छन्
खुकुरी र गोली खान नपरेका जनता आफूलाई भाग्यमानी ठान्छन् !

नागरिक समाजका चेत भएका बुद्धिजीवी पार्टीको छाता ओढ्छन्
यस्ता बुद्धिजीवी देखेर जनता छक्क पर्छन्
नेपाल देश भत्कियो भने नेताजति उत्तर, दक्षिण लाग्छन्
जनता भने देशको अवस्थादेखि रोई–रोई मर्छन् ।

गणतन्त्र आएको भनेको त भ्रष्टाचारतन्त्र आएछ
३३ केजी सुनसहित वाइडबडी खाएछ
कोरोना भाइरस भगाउने निहुँमा,
स्वास्थ्य सामग्रीको रकम नै कुम्ल्याएछ,
अब हेर्दै जानुछ– लोकतान्त्रिक गणतन्त्रले थप के–के तमासा देखाउने छ ?!

(लेखक ७३ वर्षीय जेष्ठ नागरिक हुन् ।)