जापानद्वारा भिसाको म्याद नवीकरण गर्ने समय तीन महिना थप

जापानद्वारा भिसाको म्याद नवीकरण गर्ने समय तीन महिना थप


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको इमिग्रेशन सर्भिस एजेन्सीले भिसाको म्याद नवीकरण गर्ने समय तीन महिना बढाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई थप फैलिन नदिन इमिग्रेशन कार्यालयहरुमा भिडभाड कम होस् भन्ने हेतुले गत महिना भिसा नवीकरणको अवधि एक महिना थप भएको बताइए पनि सो समय लम्ब्याएर तीन महिना बनाइएको हो ।

नयाँ नियमअनुसार मार्च, अप्रिल, मे र जुन महिनामा भिसा नवीकरण गर्नुपर्ने विदेशीहरुले भिसा सकिने मितिले आगामी तीन महिनाभित्र नवीकरणका लागि आवेदन दिन सक्नेछन् । यसमा लामो अवधिका भिसाबाहकसँगै छोटो अवधिका भिसाबाहक जस्तै भ्रमण भिसामा जापानमा रहेकाहरु पनि पर्ने शुक्रबार (३ मार्च) एक विज्ञप्ती जारी गर्दै इमिग्रेशन सर्भिस एजेन्सीले जनाएको छ ।

देश फर्कने तयारी गर्नका लागि दिइएको ‘ज्यून्वी’ भिसाका हकमा भने यो नियम लागू हुनेछैन । गत महिनामै प्रकाशित अर्को एक विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो प्रकोपका कारण हवाइ उडान बन्द भएमा वा विशेष कारणवश देश फर्कन नसक्नेहरुको हकमा कम्तिमा एक महिनाको बसोवास अवधि थप गरिने व्यवस्था रहेको जनाइएको थियो ।

हाल जापानभरका इमिग्रेशन काउन्टरहरुमा विदेशीहरुको भिडभाड रहेको छ । विशेषगरी छोटो समयका लागि जापान आएका र हवाइ उडान बन्द भएका कारण देश फर्कन नपाएकाहरु म्याद थपका लागि इमिग्रेशनमा जाँदा भिडभाड बढेको हो ।

देश फर्कन नसकेकाहरुलाई ९० दिनसम्म ओभरस्टे नमानिने समेत बताइएको छ ।