घरधनीले दानी बनिदिनु पर्ने, सरकारचाहिँ के गर्ने ?

घरधनीले दानी बनिदिनु पर्ने, सरकारचाहिँ के गर्ने ?


■ प्रभा आचार्य (अमेरिका)

कोरोना भाइरसको आततायी महामारीले यतिबेला विश्वलाई नै आतङ्कित पारेको छ । यो विषयमा विश्वभरकै मान्छेहरूबीच मानवीय ब्यवहार हुन आवश्यक देखिएको छ ।

विश्वकै अर्थतन्त्रलाई डाँवाडोल पारेर संसारलाई तनावमा धकेलेको छ यो दुष्ट अदृश्य जिवाणुले । अहिले संसार नै शोकसन्तप्त अवस्थामा डुबेको छ । सायद यो नै पहिलो घटना होला कि संसारभरकै मान्छे एकसाथ विक्षिप्त बन्नु परेको !

यहि प्रसङ्मा पङ्क्तिकारले उठाउन खोजेको कुरा के भने अर्थ, सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले शहरी क्षेत्रका घरधनीहरूले आफ्नो घरमा भाडामा बसेकाहरूलाई चैत्र महिनाको घरभाडा नलिइदिन कडाइका साथ ‘आग्रह’ गर्नुभएको छ । खबरमा पढेअनुसार, यदि यो नियम उल्लंघन भए घरधनीहरूलाई सोहीअनुसार कडा कार्वाही हुने अर्थमन्त्रीको चेतावनी छ । हो, एकतर्फी सुन्दा कुरा जायज छ । यो समयमा सबैले एकार्कामा सहयोग र सद्भाव बाँड्न सक्नुपर्छ नै । संकट र समस्या पर्दा नै हो सहयोग र दानदातब्य गर्ने ।

तर, यो बेलामा किन घरधनी मात्र सरकारको नजरमा ‘दानी’ बन्नुपर्ने देखियो त ? के घरधनीले मात्र आयमूलक काम गरेका छन् त ? उसो भए अन्य क्षेत्र, पेशामा यस्तो उत्तरदायित्व छैन ? त्यसो हुँदो हो त निजी हस्पिटल, बोर्डिङ स्कुल, कलेज तथा अन्य प्रशिक्षण केन्द्रहरूले चाहिँ कसो गर्ने त ? अनि के ग्यारेण्टी छ कि चैत्र महिनासम्म मात्र कोरोनाको समस्या रहन्छ भन्ने ? भोलीको दिन कसलाई के थाहा जहाँ नागरिक बाटाबीच बिचल्लीमा परेर भोक–शोकले नै मर्ने अवस्था छ !?

अहिलेसम्म कोरोना सङ्क्रमणको परीक्षण गर्ने इक्विपमेन्टहरूको बन्दोबस्त छैन । त्यसको चाँजोपाँजो मिलाएर उपलब्ध गर्न खोजे पनि घुसखोरी र कमिसनमा फसेको समाचार व्याप्त छ । जहाँ एउटा रोगीको उपचार हुन हम्मे–हम्मे परिरहेको छ त्यहाँका सरकारी प्रवक्ताले महामारीको विकराल रुपलाई चैत्रसम्मको मात्र ग्यारेण्टी दिएर होला ?

हामी विदेश बसेर पनि स्वदेशकै माटोको माया र कल्पनामा बाँचेका छौं । विदेशमा हाडछाला घोटेर पसिना बगाएको पैसा स्वदेशमै लगानी गरेका छौँ । आधाउदी जग्गा जमिन बैंकमा धितो राखी ऋण लिएर घर बनाई ब्यापार–व्यवसाय गर्ने ब्यक्तिहरूलाई घरबहालमा लगाएका छौँ ।

यहाँ लेनादेना बराबरी भएको छ । पायकमा घर तथा सटर–कोठा पाएका व्यवसायीहरूले सिजनअनुसार गज्जबले कमाएका पनि छन् । कमाइको बेला पनि उनीहरूले घरधनीलाई ल हामीले यो वर्ष या महिना यत्ति आम्दानी गऱ्यौँ भनेर भाडा थपेर दिनुपर्छ र ? हो, अप्ठ्यारो परिस्थितिमा समयअनुसार सबैले चल्नुपर्छ, सहयोगी भावना राख्नुपर्छ । तर, यसो गर र उसो गर भनी नागरिकको आयआर्जनमै हस्तक्षेप गर्दै कडा चेतावनी दिन मिल्दैन, जनताको सरकारले यस्तो गर्दैन ।

कतिपयले सोंच्नुहुन्छ होला कि विदेशमा बसेर स्वदेशको मामलामा बोल्ने भनेर । माफी चाहन्छु विदेशमै बसे पनि स्वदेशको हित चाहने नेपाली हुँ र विदेशको पसिना स्वदेशमै सिँचौं भन्ने भावनाको परेँ म । त्यसैले यदाकदा यस्ता कुराहरूमा चासो राख्न मन लाग्छ र बोलिन्छ, लेखिन्छ पनि । यसलाई यसैगरी बुझिदिन आग्रह छ ।

घरवालाले एक महिनाको भाडा छुट दिँदैमा सारा कोरोना–पीडितको समस्या समाधान होला ? यहाँ समस्या त सारा जनतालाई छ । घर नभएकाहरू मात्र पीडित छन् र सरकारको नजरमा ? मलाई लाग्छ यो सरकारको निर्णय सहयोगी भावले आए पनि कतै फितलो पो भयो कि ? हजारौँ–लाखौँ घरधनीको प्रतिनिधित्व गर्दै यस्तो विचार सम्प्रेषण गर्ने दुस्साहस गर्नैपर्ने भयो र गरेँ ।

सत्य हो यो घडीमा सबैतिरबाट एकार्कामा सहयोग हुन आवश्यक छ । हो, छुट दिने निर्णय भयो ठिक छ घर धनीहरूले मान्लान् । मान्नु पनि पर्छ सरकारको नियमलाई, तर कस्तो अवस्थामा बसेका छन् र घरबहालमा बस्नेहरूको आयश्रोत कस्तो किसिमको छ ? त्यो पनि मनन गर्न जरुरी छ ।

आजकल त गाउँरघरमा पनि घर भाडामा लाउने चलन छ । अनि घरभाडामा त्यस्ताहरू पनि बस्दछन् जो भाडामा लाउने हिसाबले बनाएर आफु नै अर्काको घर भाडामा लिएर बस्ने । अनि अर्का एक प्रकारका पनि छन् जसले आफ्नो जायजेथा सब घरमा लगानी गरेर भाडा उठाएर आफ्नो जीविकोपार्जन गर्ने ! अब कुन प्रकारले छुट पाउने ? या, कुन प्रकारको घरधनीले छुट दिनुपर्ने ?

हुन्छन् कोही जिन्दगीभर घरभाडामा बसेर रोजगारी गरी आफ्नो जीविकोपार्जन गर्ने पनि । अनि कोही हुन्छन् कुनै अर्को ठाउँमा आफ्नो घर छ र आम्दानी पनि गज्जबकै छ, तर शहरमा घरभाडामा बसेर आफ्नो उद्योग–व्यवसाय चलाइरहेका । यस्ताहरूले आफ्ना छोराछोरी महँगा स्कुलमा राखेर पढाइरहेका हुन्छन्, अन्य सोख पनि मज्जैसँग पूरा गरिरहेका हुन्छन् । अब यस्तो अवस्थामा के होला त ? घरभाडा छुट भन्दैमा देशभरका जनताको समस्या यसै टर्ला त ?

हुन त सरकारमा रहेकाहरूले बुद्धि–विवेक लगाएर अरु निर्णय पनि गरेका होलान्, गर्दै होलान् । सरकारी कर्मचारीहरूले पनि आफ्नो एक महिनाको तलब छुट गर्ने भन्ने पनि समाचार सुनियो । ज्यादै प्रशंसनीय काम हो । सबै तह र पक्षबाट सहयोग हुनु जरुरी छ । कोही कर्मचारी पनि होलान् परिवारमा खर्च धेरै होलान्, छोराछोरी पढ्दै होलान् । ल… घरभाडा त छुट भयो तर उनीहरूको गर्जो यतिले टर्ला त ?

कोही होलान् सानोतिनो नोकरी पनि घरभाडा लागाएर केही आम्दानी पनि गर्ने र त्यतिले ठिक्क घरपरिवार चलेको । तर, त्यस्ताको अवस्था के होला ? यता कामको तलब पनि लिन नपाउनु उता घरभाडा पनि छुट दिनु ? यस्ता धेरै प्रश्नहरू उठ्न सक्छन् । एकतर्फी निर्णय मात्र सही हुन्छ भन्ने छैन । यस्तो संकटको घडीमा धेरै दुरदर्शिता अपनाउन जरुरी छ ।

कतिपयले सोंच्नुहुन्छ होला कि विदेशमा बसेर स्वदेशको मामलामा बोल्ने भनेर । माफी चाहन्छु विदेशमै बसे पनि स्वदेशको हित चाहने नेपाली हुँ र विदेशको पसिना स्वदेशमै सिँचौं भन्ने भावनाको परेँ म । त्यसैले यदाकदा यस्ता कुराहरूमा चासो राख्न मन लाग्छ र बोलिन्छ, लेखिन्छ पनि । यसलाई यसैगरी बुझिदिन आग्रह छ ।

पङ्क्तिकारको मसााय सरकारको काममा असहयोगी बन्ने होइन, तर कुनै कुराको आवेशको क्षणिक निर्णयले कसैलाई घाटा नहोस् । मैले घरबहालकै कुरा किन उठाएँ ? भन्दा हाम्रो पनि दमकमा सानो कम्प्लेक्स छ जो हामीले बनाउँदा बनाउँदै अग्रिम बुकिङ भएर ब्यवसायीहरूले आ–आफ्नो व्यवसाय विगत तीन वर्षअघिदेखि गरिरहेका छन् । उनीहरूले राम्रै आयआर्जन गरिरहेका रहेका थिए । सम्झौता भङ्ग हुन पाएको थिएन र छैन पनि । तर यो विकराल परिस्थितिमा सारा संसार नै ठप्प भएको बेला कसलाई पो छोड्यो र ? यो दुष्ट दशाले ? त्यसैले हाम्रो कम्प्लेक्समा बस्ने ब्यापारीहरूको पनि ठप्प नै भएको छ ।

चैत्र महिनासम्म यो समस्या रहन्छ भन्ने ठोकुवा के छ ? के शहरका घरधनीले मात्र चैत्र महिनाको भाडा नलिँदा देशभरिका जनताको अभाव र पीडामा राहत पुग्ला र ?

यतिबेला हामीले उनीहरूको दुःखद हालत बुझ्न जरुरी नै छ । यो हाम्रो मानवीयता पनि हो । सरकारको नियम र कानुनलाई उल्लंघन गर्नु हुन्न । हामी उदार बन्नु स्वाभाविक हो तर हामीले पनि विदेशको खुनपसिना अर्पिनुको साथै आफ्नो जग्गा नै बैंकमा धितो राखेर मनग्गे ऋण लिएका छौँ । यस्तो अवस्थामा हामीजस्ता घरधनीलाई के कस्तो प्रावधान होला त ? के हामीले पनि बैंकको ऋणको केही सहुलियत पाउँछौ त ? नत्रभने हामीले बैंकको ऋण तिर्ने भनेको पनि बहालमा बसेका ब्यवसायीहरूबाट उठेका पैसाले बैंकको ऋण भुक्तान गर्ने हो ।

यदि तोकिएको समयमा बैंकको खातामा पैसा जम्मा भएन भने त बैंकले घरवाला (ऋणीलाई) गज्जबले हर्जाना असुलउपर गर्छ । त्यसैले पनि सबैको पीडा र मर्मको तार्तम्य मिल्न सक्नु पऱ्यो ।

अवश्य पनि सरकारले यसमा पहल गर्ने नै छ । भनाईको अर्थको अनर्थ नलागोस् कि मैले बहालमा बस्नेलाई घरभाडा छुट दिनु हुँदैन भन्ने तर्क होइन । आशय के हो भने चैत्र महिनासम्म यो समस्या रहन्छ भन्ने ठोकुवा के छ ? के शहरका घरधनीले मात्र चैत्र महिनाको भाडा नलिँदा देशभरिका जनताको अभाव र पीडामा राहत पुग्ला र ? उसो त घर हुने तर अन्य आयश्रोत नहुनेहरू पनि त अनगिन्ती होलान् ! यस्ता अनेकौँ समस्या र अभावमा जकडिएका लाखौँ लाख छन् । सरकारले मात्र पनि कतिको अभाव टालेर सक्ने ? यसमा सबै निकायको पहल हुन आवश्यक छ ।

अन्त्यमा, मेरो मनमा खट्किएको कुरा यत्ति हो– देशका तीन करोड जनताका आ–आफ्नै पीडा र मर्म छन्, देश गरिव छ । तर, कता–कता बुझ्दा जनता देशभन्दा धनी नै पो हुन् कि भन्ने भान पनि हुन्छ ।

जे होस्, देश र जनतालाई अप्ठ्यारोबाट बचाउन जनता र सरकार दुवै पक्षको हातेमालो हुन जरुरी छ । दूरदर्शिता नराखी क्षणभरमै लिएको निर्णय फितलो हुन सक्छ । त्यसैले सम्पूर्ण देशवासी तथा विश्वका मानवजातिमा एकता र सर–सहयोगको खाँचो छ यो बेला । कोही मारमा नपरुन् । सबैले राहतको श्वास फेर्न पाइयोस् ।

यो भयावह रोगबाट छिट्टै विश्वले मुक्ति पाओस् । घरधनी र भाडामा बस्ने जो–कोहीबीच मनमुटाव नहोस् । एकार्कामा सहयोग–सद्भाव रहिरहोस् । परेको बेलामा साथ दिने शत्रु पनि ईश्वर समान हुन्छ भन्छन् । विश्वका सबै मान्छेले मानवताको पाठ सिक्ने मौका मिलोस् । सरकारले पनि सही निर्णय र सही कदम चाल्ने पहल गरेमा जनतालाई राहत नमिल्ला भन्न सकिन्न । आशावादी बनौँ र सकारात्मक सोंचौँ ।