सीमाबन्दीका कारण हजारौँले दुःख पाएकोमा एम्नेस्टीद्वारा ध्यानाकर्षण

सीमाबन्दीका कारण हजारौँले दुःख पाएकोमा एम्नेस्टीद्वारा ध्यानाकर्षण


कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

एम्नेष्टीले जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको मुलुकमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सङ्घर्ष गरिरहेको उल्लेख छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक नीराजन थपलियाका अनुसार सीमान्तकृत समुदाय र माहामारीको अवस्थामा विशेष जोखिममा रहेकाको अधिकारअनुकूल हुनुपर्ने र यसका अतिरिक्त सरकारले स्वास्थ्य र जीवनयापनको जोखिममा रहेकाको संरक्षणका लागि उपयुक्त उपाय अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

कतार र मलेशिया तथा छिमेकी भारतलगायतका देशमा पनि अहिले हप्तौँ लामो लकडाउन र अन्य सार्वजनिक स्वास्थ्यजन्य उपाय लागू गरिएकाले धेरै आप्रवासी श्रमिकले आफ्नो रोजगारी गुमाएर बेतलवी बिदामा बस्न बाध्य भएको अवस्थामा स्वास्थ्य सेवा, खाद्यान्न, आवासलगायतका आधारभूत आवश्यकतामा पर्याप्त पहुँच पुऱ्याउनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

“यो महामारी फैलिएपछिको अवस्थामा राज्यले आप्रवासी श्रमिकलाई पर्याप्त संरक्षण प्रदान गरेका छैनन् र सम्बन्धित देशका अर्थतन्त्रलाई मजबुत पार्न उनीहरूले पुऱ्याएको योगदानलाई अहिले समग्र रूपमै बिर्सिइएको छ” भन्दै थपलियाले सबै श्रमिकले आफूले श्रम गरिरहेको देशमा पर्याप्त आवास सुविधामा पहुँच प्राप्त गरेको हुनुपर्दछ र यस्ता आवासका व्यवस्थामा आफूलाई सुरक्षित राख्न आवश्यक पानी र अन्य सरसफाइको प्रबन्ध तथा एक्लिएर रहन मिल्ने सुविधा पनि रहेको हुनुपर्ने उल्लेख गरेका छन् ।

काम गर्न नसकेमा वा बिरामी परेमा वा यी मुलुकमा क्वारेन्टाइनमा रहनुपरेमा उनीहरूले सामाजिक सुरक्षा संरक्षण र अन्य वित्तीय सहायतामा पहुँच प्राप्त गर्नुपर्ने स्मरण गराउँदै लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिक, शरणार्थी र अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेकालगायत विभिन्न समूहलाई पनि असमानुपातिक रूपमा असर पारेको एम्नेष्टीले जनाएको छ ।