भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने


चितवनस्थित भरतपुर अस्पतालमा आज (२१ चैत) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताउनुभयो ।

युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेललाई उद्धृत गर्दै राससले जनाएअनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।

भरतपुर अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको जानकारी दिँदै पौडेलले ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको बताए ।