अबला लोकतन्त्र !

अबला लोकतन्त्र !


■ राजेन्द्र पाठक

महाराज !
तिमी त मन्दिरको देउता थियौ
मस्जिदका अल्लाह थियौ
चर्चका प्रभु जिसस थियौ !

जे थियौ पर्याप्त थिएनौ
रैतीको अधिकार भारदारलाई दियौ
भारदारले मनमती दोहन गरे
मुखपति मुल्याङ्कन पनि गरे !

कालान्तरमा दोष तिमिले भिर्‍यौ
आज सडकमा तिमी नै गिर्‍यौ
भारदार र विचौलिया उस्तै हुन्
पतेरो र बारुलाले झैँ चुस्छन् !

लोकतन्त्र ?!
तिमीले पनि भारदार नै नियुक्त गर्‍यौ
महाराजकै दिमाग आफूमा भर्‍यौ
जनताको समीप होइन पर पर सर्‍यौ !

बिचौलिया राख्न जोडतोड गर्‍यौ
जे गर्‍यौ जनताको हितमा गरेनौ
चौतरिया र बाबुसाहेब भर्ती भए
आज जनतालाई रैतीमै कजाए !

तिमी सप्तरङ्गमा विश्वास गर्छौ
भारदारसङ्ग चौसट्ठी कला छ
कोइली र कुथुर्केको गला छ
लोकतन्त्र मखन्नी र अबला छ !