‘लकडाउन’को अवस्थामा टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष छुट

‘लकडाउन’को अवस्थामा टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष छुट


नेपाल टेलिकमले ०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुने टेलिकमको भनाई छ ।

टेलिकमले जनाएअनुसार डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुने र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नुपर्ने छ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनसस्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा मिति ०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सोअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यस्तै, दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

USSD र Nepal Telecom App  बाट खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु Stay Connected अफरको रुपमा उपलब्ध हुने बताइएको छ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको मिति २०७६ चैत्र १६ को निर्णयको आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।

देशभर रहेका आफ्ना सेवाग्राही तथा समस्त देशबासीलाई कोरोना भाइरसको महामारीले सिर्जना गरेको यस विषम परिस्थितिमा नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट उपलव्ध गराइएका जानकारी तथा जारी गरिएका निर्देशन बमोजिम नै आ–आफ्नो दैनिक क्रियाकलापहरू सञ्चालन गरी स्वस्थ र सुरक्षित रहनसमेत नेपाल टेलिकमले अनुरोध गरेको छ ।