चीनमा भेटियो थप ३६ मा कोरोना भाइरस सङ्क्रमण

चीनमा भेटियो थप ३६ मा कोरोना भाइरस सङ्क्रमण


चीनमा थप ३६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । मङ्गलबार (३१ मार्च) कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ मध्ये ३५ जना चीनकै नभएर बाहिरबाट आएका र एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको सिन्ह्वाले जनाएको छ ।

यसैगरी, मङ्गबार चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तका र एक जना सांघाईका रहेका छन् ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भइसकेको छ ।

बुधबार (१ अप्रिल) प्राप्त पछिल्लो विवरणअनुसार संसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको छ ।

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।

ज्ञातव्य छ, चीनको वुहानमा गत सोमबार मात्र दुई महिनाको लकडाउन खुल्ला गरिएको थियो । दुई महिनापछि घरबाट बाहिर निस्कन पाउँदा मानिसहरुले खुशी साटासाट गरेका थिए ।