कपिलवस्तु जिल्ला करागारबाट नौ कैदीबन्दी रिहा

कपिलवस्तु जिल्ला करागारबाट नौ कैदीबन्दी रिहा


■ नारद कोहार, कपिलवस्तु

विश्वभर कोरोनाको त्रास फैलिरहँदा यसलाई मध्यनजर गरी सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालत कपिलवस्तुले जिल्ला करागारबाट ९ जना कैदी बन्दीलाई रिहाइ आदेश दिएको छ ।

सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णयअनुसार जिल्ला अदालतको आदेशपछि उनीहरुलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेयले जानकारी दिए । कैदीबन्दीको निेवदन र जिल्ला न्यायाधीशको आदेशअनुसार उनीहरुलाई रिहा गरिएको जेलर पाण्डेयले बताए।

मुलुकी फौजदारी संहिता कार्यविधि २०७४ को दफा १ सय ५५ अनुसार एक बर्षसम्म कैद बाँकी रहेका कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको इजलासबाट छाड्ने ब्यवस्था मिलाउन सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको थियो।

रिहा गरिएका कैदी बन्दीमध्ये आगलागीका ४, लुटपाट कुटपिटका २, बाहुविवाहका २ र सवारी ज्यान उद्योगका १ जन छन्। दुई ब्लकमा २३० जनाको क्षमता रहेको कारागारमा अहिले ३८५ कैदीबन्दी छन्।

एकै ठाउँमा धेरै मानिस हुँदा कोरोना फैलन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाइएको जेलर पाण्डेयले बताए। कोरोना भाइरस फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारागार ब्यवस्था बिभागको परिपत्र अनुसार कैदीबन्दीका आफन्तहरुलाई भेट्न दिने कार्यक्रम समेत हाललाई रोकिएको छ