गजुरी प्रहरीद्वारा ६ वटा यात्रु बस काठमाडौ फिर्ता

गजुरी प्रहरीद्वारा ६ वटा यात्रु बस काठमाडौ फिर्ता


■ विकास रौनियार, धादिङ

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिनबाट रोक्न मुलुकभर यतिबेला लकडाउन चलिरहेको छ । यस्तो बेला अत्यावश्यक सवारी साधन पास लिएर चलाउन सकिने भनिए पनि प्रशासनले सवारी पास जारी गरिरहेको छैन, उल्टै पास लिन लागि थप कडाइ गरिएको छ ।

लकडाउनमा अत्यावश्यक परेको बेला सवारी साधन चलाउन लिइएको पास दुरुपयोग भएको पाइएकोले पृथ्वीराजमार्गमा सवारी साधन सञ्‍चालनमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै, सवारी पास वितरण गर्न पूरै बन्द गरेको अवस्था छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नियम उल्लंघन गर्नेहलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

यसैक्रममा तराई जिल्लाका यात्रु पृथ्वीराजमार्ग भएर फर्कने क्रममा ६ ओटा बसमा रहेका २०० यात्रुलाई प्रहरी प्रशासनले काठमाडौं फिर्ता पठाएको छ । उनीहरुसँग जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास नभएर फिर्ता पठाएको बताइएको छ । तर, बस चालकहरुले चाहिँ धुनिबेशी नगरपालिका वडा नं ३ का अध्यक्ष प्रकाश हमालले पास जारी गरेका भन्दै आफ्नो बचाउ गरेका छन् ।

काठमाडौंबाट बाहिरिने अधिकांश सवारीसाधनहरु मापदण्ड मिच्दै नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरुबाट सिफारिस लिएर सडकमा हुइँकिने गरेका पाइएको छ ।