‘कोरोना भाइरस उपचार कोष’लाई पूर्व श्री ५ का तर्फबाट २ करोड प्रदान

‘कोरोना भाइरस उपचार कोष’लाई पूर्व श्री ५ का तर्फबाट २ करोड प्रदान


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारीबाट बच्नका लागि ‘लकडाउन’नै बाध्यात्मक अनिवार्यता भएको र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको बताउनुभएको छ ।

‘कोभिड–१९’ बारे मंगलबार (१८ चैत) एक सन्देश जारी गर्दै उहाँले विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गर्दै देश र जनतामा यस महामारीले भय–संत्रास पैदा गराएको बताउनुभएको छ ।

मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भएको पूर्व श्री ५ले आफ्नो सन्देशमार्फत् सुझाव दिनुभएको छ ।

महामारीको यो संकटमा आफ्नो ज्यानको परवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मीहरूप्रति उहाँले आभारी प्रकट गर्नुभएको छ ।

आफ्नो सन्देशमा पूर्व श्री ५ ज्ञानेन्द्रले भन्नुभएको छ– ‘आम नेपाली दाजुभाइ तथा दिदी–बहिनीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ, यसको हामी उच्च सराहना गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ– ‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा–सहयोगमा काम भइरहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौँ । दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु. २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ । भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून् । जय नेपाल !’