खेलकुदमा नेपाली खेलाडीले कायम गर्ने ‘कीर्तिमान’को महत्व कति ?

खेलकुदमा नेपाली खेलाडीले कायम गर्ने ‘कीर्तिमान’को महत्व कति ?


■ श्रीविक्रम भण्डारी

नेपालको परिप्रेक्ष्यमा खेलाडी बन्न जति सजिलो छ, उत्कृष्ट खेलाडी बन्न त्यति नै गाह्रो छ । अझ कीर्तिमानी खेलाडी बन्न त फलामकै चिउरा चपाउनु पर्छ । यस्तो अवस्थामा पनि नेपाली खेलाडीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताहरूमा कीर्तिमान बनाउन सफल भएका छन्, जो नेपालकोे लागि गर्विलो इतिहास बनेका छन् । सीमित साधन–स्रोतका बाबजुद नेपाली खेलाडीले बनाएको कीर्तिमान आफैमा तारिफयोग्य छ । र, उचित प्रशिक्षण एवम् प्रोत्साहन पाएको खण्डमा नेपालमा पनि उत्कृष्ट र कीर्तिमानी खेलाडी जन्मिन सक्ने सम्भावनाका ढोका खोलिदिएको छ । यो नेपालको लागि खुशी र सकारात्मक पाटो हो । यसर्थमा कि २१औंँ शताब्दीमा पनि परम्परागत शैली अर्थात् कछुवाको चालमा हिँडिरहेको नेपाली खेलकुदको लागि यो ठूलो उपलब्धि हो । यसलाई ‘ऐतिहासिक उपलब्धि’ भनिदिँदा पनि अतिसयोक्ति ठहरिँदैन ।

कुनै पनि खेलाडीको उज्ज्वल भविष्यको लागि ‘कीर्तिमान’ आफैमा महत्वपूर्ण हुन्छ । कीर्तिमानसहित राष्ट्रिय–अन्तर्राराष्ट्रिय स्तरमा पदक जित्दाको शान कुनै घनघोर युद्ध जितेको भन्दा कम हुँदैन । एउटा अपरिचित खेलाडी रातारात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘हिरो’ बन्छ । नेपालमा पनि यस्ता खेलाडी जन्मिएका छन्, जसले नेपालको भूगोललाई विश्व मानचित्रमा परिचित गराउन सफल भएका छन् ।

बैकुण्ठ मानन्धर, दीपक विष्ट, संगीना वैद्य, विधान लामा, गौरिका सिंह र सञ्जु चौधरी यसका ज्वलन्त उदारहण हुन् । यी खेलाडीले राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय तहमै कीर्तिमान कायम गरेका छन् । बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा लगातार तीन पटक म्याराथनमा स्वर्ण पदक जितेर बनाएको कीर्तिमान आफैमा ‘कीर्तिमान’ बनेको छ । उनले बनाएको उत्कृष्ट समयको कीर्तिमान वर्तमान अवस्थासम्म दक्षिण एसियाली मुलुकका कुनै खेलाडीले तोड्न सकेका छैनन् ।

यसैगरी तेक्वान्दोका दीपक विष्टले लगातार दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ र साग) मा चारवटा स्वर्ण पदक जितेर राखेको कीर्तिमान आफैमा तारिफयोग्य छ । त्यस्तै, १३औँ सागमा गौरिका सिंहले एकै संस्करणमा चारवटा स्वर्ण जितेर पौडी खेलमा रचेको इतिहास अकल्पनीय मानिएको छ । गौरिकाको यो ऐतिहासिक प्रदर्शनले पौडी खेलमा एसियाली खेलकुदमा पनि नेपालले पदक जित्ने सम्भावनालाई प्रचुर बढाएको छ । कीर्तिमान तोडिनकै लागि बन्छन् तर यी तीन नेपाली खेलाडीले राखेको कीर्तिमान कहिले तोडिन्छ, यसको अनुमान सहजै लगाउन सकिन्न ।

कीर्तिमानका प्रकार पनि छुट्टाछुट्टै हुन्छन् । कसैले पदक जितेर कीर्तिमान बनाउँछ भने कसैले समयमा सुधार गरेर । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा पदक जितेरभन्दा समय सु्धार गरेर धेरै राष्ट्रिय कीर्तिमान कायम भएको देखिन्छ । जसमा पौडी खेलका खेलाडी नम्बर एकमा पर्छन् भने त्यसपछि एथलेटिक्स र भारोत्तोलनका खेलाडी आउँछन् । नेपाली खेलकुदको इतिहास पल्टाउँदा यिनै खेलसँग सम्बन्धित खेलाडीले राष्ट्रिय स्तरमा पटक–पटक कीर्तिमान कायम गरेको देखिन्छ । पौडी नेपालको त्यस्तो खेल हो जुन खेलका खेलाडीले सबैभन्दा बढी राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्यसमा चित्रबहादुर गुरुङ, आनन्द लेप्चा, श्यामबहादुर गुरुङ, जयप्रकाश गुरुङ, पुष्पराज शाही, शैलेस राणा, एलिस श्रेष्ठ, चन्द्रसिंह महतो, आङदेन लामा, प्रशिद्धजंग शाह, लक्ष्मण श्रेष्ठ, शिरिष गुरुङ, रुना प्रधान, रुविना प्रधान, श्रेया धिताल, करिश्मा कार्की, शैला राणा, विविधा रिमाल, नयना शाक्य, लक्ष्मी गुरुङ, ओशिन भारती, स्तुती सिंह, श्रीश गुरुङ र गौरिका सिंह पर्दछन् । यी खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाएका छन् ।

हाम्रा खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए तर कुन स्तरको ? त्यसको मूल्याङ्कन र विश्लेषण हुनु जरुरी छ । यदि त्यो कीर्तिमानले दक्षिण एसियाली प्रतियोगितामा कास्य पदक जित्ने हैसियत पनि राख्दैन भने त्यो अर्थहीन हुन्छ । त्यस्ता कीर्तिमान जति बने पनि समग्र खेलकुदको विकासमा खासै अर्थ राख्दैन ।

कीर्तिमान बनाउने क्रममा प्रयाजसो सबै खेलाडीले आफ्नै देशको खेलाडीको कीर्तिमान भंग गर्नुको साथै आफ्नो समयमा सुधार गरेको मात्र देखिन्छ । गौरिका सिंह चाहिँ यी खेलाडीको दाँजोमा अव्बल देखिएकी छिन् । उनले राखेको कीर्तिमान अलग्गै तारिफयोग्य रहेको तथ्य १२औँ र १३औँ सागमा गौरिकाले गरेको उत्कृष्ट प्रदर्शन र जितेको कीर्तिमानी ऐतिहासिक पदकबाटै प्रस्ट हुन्छ ।

त्यस्तै, एथलेटिक्सतर्फ रामकृष्ण चौधरी, आशाराम चौधरी, धनीराम चौधरी, प्रेम महत, गोपबहादुर अधिकारी, ज्ञानबहादुर बोहरा, राजेन्द्रबहादुर भण्डारी, हरिबहादुर रोकाय, बैकुण्ठ मानन्धर, खिमु गिरी, राजेन्द्र कुँवर, धिरेन्द्र चौधरी, लोकबहादुर अधिकारी, बालकृष्ण चौधरी, रुद्र भट्टराई, कृष्णबहादुर गिरी, सीताराम चौधरी, उजिरसिंह विष्ट, छविरमा श्रेष्ठ, टंकबहादुर थापामगर, खुरसद अहमद खान, डम्बरसिंह कुँवर, गंगाबहादुर शाही, देवीमाया पनेरु, कमला प्रसाई, चन्द्रकला थापा, प्रमिला रिजाल, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, निर्मला भारती, विष्णु काफ्ले, माया थापा, चन्द्रकला कामत, केसरी चौधरी, नारायणी थपलिया, मन्जु श्रेष्ठ, सुजाता सुब्बा, लीलामाया थापा, वसन्त कुमाल चौधरी, सीता सेन, पद्मा चौधरी र चन्द्रकला लामगडे राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीमा पर्छन् ।

यसैगरी विगतमा भारोत्तोलनतर्फ सुरेन्द्र हमाल, जगदिश प्रधान, अशोक कार्की, सुनिल जोशी, संजय महर्जन, समसुद्धिन सिद्धिकी, राकेश रंजित, रोशन नकर्मी, मदन शिवभक्ति, ज्योति पौडेल, राममाया थापालगायत थुप्रै खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरेपनि वर्तमान अवस्थामा कमल अधिकारी, तारादेवी पुन, देवी चौधरी, दिनेश श्रेष्ठ, पुकार गुरुङ र सञ्जु चौधरी राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीको लिस्टमा अग्रपङ्तिमा छन् । राष्ट्रिय कीर्तिमानसँगै १३औँ सागमा सञ्जुले जितेको स्वर्ण पदक महिला भारोत्तोलन खेलाडीको लागि कीर्तिमान समेत बनेको छ । सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन् ।

पछिल्लो समय नेपाली खेलकुदमा भित्रिएका ट्रायाथलन, साइक्लिङ र आर्चरीमा पनि राष्ट्रिय कीर्तिमान बन्न थालेका छन् । विगतदेखि वर्तमान अवस्थासम्मको नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने प्रायजसो कीर्तिमान पौडी, एथलेटिक्स र भारोत्तोलनको खेलाडीका वरिपरि मात्रै घुमेको देखिन्छ । यीबाहेक एसियाली खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने तेक्वान्दो र करातेका खेलाडीको नाम सुन्न सकिन्छ । जुडो, उसु, सुटिङ, टेबुल टेनिस र बक्सिङ, फुटबलमा पनि पटक–पटक ‘साग’ गेममा स्वर्ण पदक जितेर नेपाली खेलाडीले कीर्तिमान बनाउन सफल भएका छन् ।

तुलनात्मक रुपमा हेर्दा सर्वप्रथम कुन खेलाडीले कुन खेलमा कीर्तिमान बनायो त्यो महत्वपूर्ण हुन्छ । पौडी, एथेटिक्स र भारोत्तोलनमा कीर्तिमान बन्नु नौलो कुरा होइन । त्यसलाई खासै उपलब्धि पनि मान्न सकिँदैन । यसर्थमा कि पौडी र एथलेटिक्समा केही सेकेन्ड र भारोत्तोलनमा दुई–चार किलो भार बढी उठाएर कीर्तिमान बनाउँदैमा खास उपलब्धि हुनेवाला छैन । किनकि सबैभन्दा महत्वपूर्ण कुरा अन्तर्राष्ट्रिय पदक जित्नु हो । तसर्थ, कीर्तिमान बनाउने खेलाडीहरूले अन्तर्राष्ट्रिय पदक जित्ने कीर्तिमान बनाए या बनाएनन्– त्यो महत्वपूर्ण पक्ष हो ।

सबै खेलको विश्व रेकर्ड हुन्छ, ओलम्पिक रेकर्ड हुन्छ, एसियन रेकर्ड हुन्छ र दक्षिण एसियाली रेकर्ड हुन्छ । हाम्रा खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए तर कुन स्तरको ? त्यसको मूल्याङ्कन र विश्लेषण हुनु जरुरी छ । यदि त्यो कीर्तिमानले दक्षिण एसियाली प्रतियोगितामा कास्य पदक जित्ने हैसियत पनि राख्दैन भने त्यो अर्थहीन हुन्छ । त्यस्ता कीर्तिमान जति बने पनि समग्र खेलकुदको विकासमा खासै अर्थ राख्दैन । तसर्थ, कीर्तिमान बनाउनु मात्रै सर्वोपरि होइन । राष्ट्रिय कीर्तिमान बनाएर पदक जित्नु महत्वपूर्ण त हो, तर अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा नेपालले पदक जित्ने सम्भावना छ कि छैन– त्यो कीर्तिमानको गरिमा यसले निर्धारण गर्दछ । तसर्थ, कीर्तिमानले औचित्य पुस्टि गर्न सकेन भने उपलब्धिहीन हुन्छ । यसको अर्थ देशभित्र बनेका कीर्तिमानको कुनै औचित्य रहँदैन भन्न खोजिएको हैन, कीर्तिमान भनेको कीर्तिमान नै हो । खेलाडीले बनाएको कीर्तिमानलाई प्रोत्साहन गर्न सम्बन्धित निकाय चुक्नु हुँदैन ।

विगतदेखि वर्तमान अवस्थासम्मको नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने प्रायजसो कीर्तिमान पौडी, एथलेटिक्स र भारोत्तोलनको खेलाडीका वरिपरि मात्रै घुमेको देखिन्छ । यीबाहेक एसियाली खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने तेक्वान्दो र करातेका खेलाडीको नाम सुन्न सकिन्छ । जुडो, उसु, सुटिङ, टेबुल टेनिस र बक्सिङ, फुटबलमा पनि पटक–पटक ‘साग’ गेममा स्वर्ण पदक जितेर नेपाली खेलाडीले कीर्तिमान बनाउन सफल भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले समय–समयमा कीर्तिमानी खेलाडी भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नका लागि प्रोत्साहनस्वरुप विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर त्यसले निरन्तरता भने पाउन सकेको छैन । केवल अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्मुखमा मात्र त्यस्ता विशेष प्रोत्साहनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । पछिल्लोपटक राखेपका पूर्व सदस्यसचिव युवराज लामाले डेढ वर्षसम्म निरन्तर रुपमा यस्तो कार्यक्रमको सञ्चालन गरे पनि तोकिएको समयमा १२औं सागको आयोजना नहँुदा उक्त कार्यक्रम औचित्यहीन हुन पुगेको थियो । त्यो कार्यक्रम अपवादको रुपमा आए पनि नेपालमा खेलकुदको ब्यवस्थित रूपमा कसरी विकास गर्ने भन्ने सवालमा आधारित रहेर त्यस्तो संस्कारको अहिलेसम्म पनि विकास हुन सकेको छैन । साँच्चै भन्नुपर्दा नेपाली खेलुकद अझै पनि हचुवाको भरमै चलेको छ । कहिलेसम्म यसरी चल्ने हो त्यसको पनि अत्तोपत्तो छैन । यस्तो अवस्थामा खेलअघि खेलाडीलाई ‘कीर्तिमानी खेलाडी’ बनाउन कसले प्रोत्साहन गरेको होला सोझै अनुमान लगाउन सकिन्छ । अपरिहार्य कुरा के हो भने खेलको विकास लागि सर्वप्रथम सम्बन्धित निकाय लाग्नुपर्छ । त्यसको लागि भौतिक पूर्वाधार नेपाली खेलाडीका लागि चुनौतीपूर्ण बन्दै आएको कसैबाट छिपेको छैन ।

यसर्थ, समग्र खेलको विकासको लागि सरकार र सम्बन्धित निकाय अर्थात् राखेप अति गम्भीर हुन आवश्यक छ । सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर यथासीघ्र मुलुकभर आधुनिक भौतिक पूर्वाधारको निर्माण गर्नुपर्ने खाँचो छ । त्यसपछि कीर्तिमानी खेलाडी बनाउन कसैले प्रोत्साहन गर्नुपर्ने छैन, आफै पैदा हुन थाल्ने छन् । यहाँ त सरकार, राखेप, प्रशिक्षक र खेलाडीसम्म आ–आफ्नै ताल–सुरमा छन् । कसैलाई खेलकुदको बारेमा सोच्ने फुर्सत छैन । यस्तो अवस्थामा किर्तिमानी खेलाडीको कुरा गर्नु भद्दा जोक मात्रै हुने छ ।

कीर्तिमानका लागि प्रभाव पार्ने तत्वहरूमा प्रशिक्षण, प्रोत्साहन र खेलाडीको लगनशीलता प्रमुख कारक हुन् । यी तीन तत्वविना कुनै खेलाडी पूर्णरूपेण ‘खेलाडी’ बन्न सक्तैन । त्यसको लागि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले उचित वातावरणको बनाउनुपर्छ । यो कुरोमा राखेप गम्भीर मात्र नभै निर्देशन र हस्तक्षेपकारी भूमिका पनि देखिनु उत्तिकै जरुरी छ । माउ संस्था भएकोले अग्रणी भूमिकामा पनि राखेप नै देखिनु पर्छ । अहिले खेलाडीहरूले खेल–संस्कार छोडेको अवस्था छ । उनीहरूमा खेलकुदको विवाद र राजनीतिक हस्तक्षेपका कारण मनोवैज्ञानिक असर परेको छ । खेलकुदप्रति वितृष्णा जागेको अवस्था छ ।

यसर्थ खेलाडीहरूलाई खेलकुददेखि पलायन हुनबाट जोगाउन र अनुशासनको दायरमा राख्न सम्बन्धित प्रशिक्षकले विशेष भूमिका निभाउनुपर्छ । कुन भाँडा बनाउने र कस्तो आकार–प्रकार दिने भन्ने जिम्मेवारी कुमालेलाई भएझैं खेलाडीलाई पनि उत्कृष्ट र कीर्तिमानी बनाउन सम्बन्धित प्रशिक्षकले जिम्मेवारी लिनुपर्छ । खेलाडीको मस्तिष्कमा खेलकुदको भुत सवार गराएर एक योग्य र सक्षम खेलाडी तयार पार्ने रणनीतिमा लाग्नुपर्छ । वर्तमान अवस्थामा नेपाली खेलकुदलाई राजनीतिले गाँजेको छर्लङ्गै देखिन्छ । खेलाडीदेखि पदाधिकारी र प्रशिक्षक कोही पनि राजनीतिबाट अछुतो छैनन् ।

यस्तो अवस्था कीर्तिमानी खेलाडी जन्माउनु आफैमा चुनौतीपूर्ण छ । तर, हातका पाँचै औंलामा भिन्नता भएझैं खेलकुदमा पनि सबै एउटै सोचका खेलाडी, प्रशिक्षक र पदाधिकारी छैनन् । खेलकुदलाई माया गर्ने, खेलकुदमा आफ्नो भविष्य देख्ने, अनुशासनमा बस्ने, मेहनत गर्ने र राष्ट्रिय भावनाले ओतप्रोत भएका खेलाडीलाई मात्र पनि समेट्न सकियो भने ठूलो उपलब्धि र छलाङ मार्न सकिने अवस्था छ । असम्भव भन्ने केही कुरा हुँदैन, अर्जुनदृष्टिका साथ लक्ष्य भेदनमा केन्द्रित भइयो भने एक–दुई मात्र नभै पचासौँ नयाँ कीर्तिमानी खेलाडी जन्मिने पक्का छ । त्यसको लागि राखेपको स्पष्ट भिजनचाहिँ हुनैपर्छ । जय होस् ।