मन्त्रीलाई समेत आत्महत्या गराउने यो कोरोना-कहर !

मन्त्रीलाई समेत आत्महत्या गराउने यो कोरोना-कहर !


जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्र्याकमा फेला परेको त्यहाँका प्रान्तीय गभर्नर भोल्कर बोउफियरले पुष्टि गरेका छन् ।

थोमसले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटका कारण केही समयदेखि निकै चिन्ता व्यक्त गर्न थालेका प्रान्तीय गभर्नरलाई उद्धृत गर्दै एपीले जनाएको छ । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत थिए । उनी एक दशकदेखि हेस्सी प्रान्तका अर्थराज्यमन्त्री रहेका थिए ।

प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् । बौफियरले राज्यमन्त्री थोमस साफरको मृत्युका बारेमा भनेका छन्, “साफरले जहिल्यै आममानिसका ठूल्ठूला अपेक्षा पूरा गर्न सम्भव होला र भन्दै चिन्ता व्यक्त गर्नु हुन्थ्यो । मेरो अनुमानमा उहाँलाई तिनै चिन्ताले धेरै सतायो, र त्यसबाट मुक्त हुने कुनै उपाय देख्नु भएन । उहाँ निकै चिन्तित हुनुहुन्थ्यो र हामीलाई छाडेर जानुभयो ।”

कोरोना भाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।

जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।