पूर्व ‘श्री ५’को परिवार तीनतिर ‘लकडाउन’मा !

पूर्व ‘श्री ५’को परिवार तीनतिर ‘लकडाउन’मा !


विभिन्न राजनीतिक दलका नेताहरू ‘लकडाउन’को यो अवस्थामा आ–आफ्नो निवासस्थानमा परिवारका साथ सुरक्षित जीवन बिताइरहेका छन् । विश्वका ठुल्ठूला नेताहरू समेत कोरोना भाइरसको सङ्क्रमणमा परेको खबरले नेपाली नेताहरूलाई थप सशङ्कित र सचेत तुल्याएको छ ।

यसरी सबै दलका नेताहरू राजधानीमा सपरिवार सुरक्षित जीवन बाँचिरहेका भए पनि पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र भने झापामै ‘लकडाउन’मा पर्नुभएको छ ।

यही चैत ३ गते झापा पुग्नुभएका उहाँको साथमा बडामहारानी कोमल रहनुभएको भए पनि परिवारका अन्य सदस्यहरू भने अनेकतिर ‘लकडाउन’मा परेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाह आफ्ना तीन सन्तासहित थाइल्याण्डमै रोकिनुभएको छ । उहाँ केही समयअघि मात्र त्यहाँ पढिरहेका आफ्ना छोराछोरीलाई भेट्न जानुभएको थियो ।

यस्तै, छोरा पारस भने धेरै अघिदेखि नै घर–परिवारबाट बाहिर रहने गरेकाले परिवारका कसैको पनि सम्पर्कमा नभएका बुझिएको छ ।

प्राप्त जानकारीअनुसार पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र ‘लकडाउन’ अन्त्य हुनेवित्तिकै राजधानी फर्कनुहुने छ ।