चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना


दमौली (तनहुँ)

लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल, रक्सीपसल खोल्नेलाई रु दुई हजार, क्यारोमबोर्ड खेल्ने र खेलाउनेलाई रु तीन हजार, जुवातास खेल्नेलाई रु पाँच हजार र खेलाउनेलाई रु दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।

साथै अत्यावश्यक खाद्यान्न पसल नखोल्ने र कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई पाँच हजार जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । बैठकले सबै वडामा सम्भावित क्वारेन्टाइन व्यवस्थापनका लागि स्थान र आवश्यकता पहिचान गरी वडास्तरीय समन्वय समितिले अविलम्ब पठाउने, अतिविपन्न श्रमिक वर्ग एवं चुल्हो नबल्ने परिवारलाई वडा समिति, सुरक्षाकर्मीको पहिचान गरी अविलम्व विवरण नगरपालिकामा पठाउने, बेवारिसेसमेतको विवरण सङ्कलन गरी उद्धार र खानपानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सूचना अधिकारी पाण्डेका अनुसार खाद्यान्न सङ्कट हुन नदिन उद्योग वाणिज्य सङ्घ र सुरक्षा निकायको समन्वयमा सहज बनाउने व्यवस्था मिलाउने, माग र आपूर्तिलाई सन्तुलन कायम गर्न कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याई उद्योग वाणिज्य सङ्घको समन्वयमा बिक्रीवितरण गर्ने, विदेशबाट फर्केका व्यक्तिको वडा समिति, टोल विकास संस्थामार्फत पुनः तथ्याङ्क सङ्कलन गर्ने निर्णय भएको छ ।

नगरपालिकाले शङ्कास्पद बिरामीको निगरानीका लागि तत्काल दश शय्याको व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने भएको छ । नगरपालिकाले बिरामी बोक्न प्रयोग हुने गाडी तथा एम्बुलेन्स चालकको बीमाको व्यवस्था गरेको छ भने कर्मचारीलाई अतिरिक्त प्रोत्साहन भत्ताका व्यवस्था गर्ने भएको छ । कोरोनाका कारणबाट मृत्यु भएमा निजको परिवारलाई उचित राहत रकम उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।