नेपालीलाई राहत बाँड्दै एनआरएनए पोर्चुगल, ४५ जनाले लिए राहत

नेपालीलाई राहत बाँड्दै एनआरएनए पोर्चुगल, ४५ जनाले लिए राहत


  • छविलाल बगाले, यूरोप

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले आइतबारदेखि आपतकालीन राहत वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीका लागि संघले राहत वितरण गरेको हो ।

संघले आइतबार पहिलो दिन मात्रै ४५ जना नेपालीलाई राहत वितरण गरेको सहयोग समन्वय समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिए । उनका अनुसार भर्खरमात्रै पोर्चुगल आएका र बेरोजगार नेपालीलाई राहत वितरण गरिएको हो । ‘हामीले विपतका बेला सानो सहयोग मात्रै गरेका हौं ।’ उनले भने, ‘यो क्रम जारी छ, रोजगारी नभएका अति समस्याग्रस्त नेपालीका लागि एनआरएनएले सकेको सहयोग लिएर आएको हो ।’

संघले राहत स्वरुप जनही चार केजी चामल, एक लिटर तेल, एक केजी दाल, नुन र पास्ता लगायतका अति आवश्यकीय खाद्यान्न वितरण गरेको संघका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले जानकारी दिए । उनका अनुसार राहत वितरण लिस्वनमा मात्रै नभई आवश्यकताका आधारमा अन्य स्थानमा पनि पु¥याइनेछ । नेपाली समुदायको हितका लागि संघले विपद्का बेला सानो सहयोग ल्याएकोले आन्जुसस्थित कार्यालयमा आएर लैजान कार्यसमिति सदस्य दीपक खत्रीले सबैसँग आग्रह गरेका छन् ।

यता, सामाजिक सञ्जालमा राहत नपाएको भन्ने गुनासो आएको छ नी भन्ने हाम्रो प्रश्नमा संघको महिला उपाध्यक्ष सीता श्रेष्ठ आएका सबैलाई राहत दिएको दावी गर्छिन् । ‘हामीले कसैलाई फर्काएको छैन्, केहीले परिचय पत्र नल्याएको र ल्याउँछु भनेर लिन गएकाहरु चाँही एक दुईजना होलान् ।’ उनी भन्छिन्, ‘भर्खर पोर्चुगल आएका, साथमा परिचय पत्र लिएर आएका र रोजगारी नभएकालाई हामीले राहत उपलब्ध गराएका छौं ।’ उता, सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले पनि सकभर सबैलाई राहत वितरण गरेको दावी गरे । उनले राहत आवश्यक भएका नेपाली समुदायको नाम संकलन गरेर पुनः राहत वितरण गर्ने बताए ।

राहत वितरणका लागि वरिष्ठ उपाध्यक्ष थापा, महिला उपाध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष कुँवर, उपसंयोजक भण्डारी एवं सदस्यहरु दीपक खत्री, सुमन शर्मा चौलागाईंको रोहवरमा गरिएको कार्यालय प्रमुख श्याम श्रेष्ठले बताए । संघले यसपछि अल्गार्भ र अलेन्जेजु क्षेत्रीय समितिहरुको सहकार्यमा त्यस क्षेत्रमा समेत राहत वितरणको कार्यक्रम संचालन गर्ने जनाएको छ ।