सरकारी आदेश र सुरक्षाकर्मीको आग्रहको उपेक्षा

सरकारी आदेश र सुरक्षाकर्मीको आग्रहको उपेक्षा


■ विकास रौनियार, गजुरी (धादिङ)

पृथ्वीराजमार्गमा पर्ने कतिपय बजार क्षेत्रमा सवारीसाधन एवम् मानिसको आवतजावत निकै खुकुलो देखिएको छ । बिनामास्क भीडभाडमा किनमेल गरिरहेका मानिस भेटिँदा नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरुले सम्झाउने गरे पनि अटेर गरी स्थानीयवासी लापर्वाहीपूर्वक समुहमा हिँडडुल गरेका भेटिन्छन् । नागरिक तहबाट यसरी लकडाउन पालना नगरी सुरक्षाकर्मीलाई समेत अटेर गरेको अवस्थाले कोभिड १९ भाइरस जोखिमको सम्भावना बढाएको छ ।

पृथ्वीराजमार्गअन्तर्गतका केही गाऊँपालिकाले किनमेलको लागि बिहान ७ बजे देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकेको छ ।लकडाउनको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीले घर छोडेर हिँडडुल नगर्न सवारीसाधन नचलाइदिन बारम्बार माइकिङ गर्दै आएको छ, तर अवज्ञा गर्ने क्रम थामिएको छैन ।

प्रहरीले अनुरोध गर्दा पनि स्थानीय जनता बिना पास हेलमेटसमेत नलगाई राजमार्गमा मोटरसाइकल क़ुदाइरहेका देखिनु दुर्भाग्यपूर्ण रहेको स्थानीय सचेतजनको प्रतिक्रिया छ ।