बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु


बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आइतबार (१६ चैत) मृत्यु भएको छ । तर कोरोना सङ्क्रमण परीक्षणका लागि उनको स्वाब भने आजै मात्र केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका ती व्यक्ति घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेकोमा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा. सुदर्शन थापालाई उद्धृत गर्दै राससले जनाएको छ ।

बिरामीको मृत्युपश्चात् स्वाबको रिपोर्ट नआउँदासम्म उनको परिवारका सदस्यहरुलाई समेत क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने समेत डा. खनालले जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोस्-

कोरोना भाइरसको आशंकामा अर्घाखाँचीबाट दुई जनालाई बुटवल रिफर गरियो