विपदले पाठ सिकाउँछ, हामी भुल्दै जान्छौँ

विपदले पाठ सिकाउँछ, हामी भुल्दै जान्छौँ


■ रसना ढकाल

‘विपद बाजा बजाएर आउँदैन’– यो विश्वव्यापी मान्यता हो । ‘कसरी आउँछ ? आउनुपूर्व किन सन्देश दिँदैन ?’– यसको जवाफ कसैले पनि पाउन सकेका छैनन् । यसका बीच हामीले विपदलार्ई सहनुको विकल्प हुँदैन । जसरी विपद आउँछ त्यसरी नै ठूलो सन्देश दिएर जान्छ, यो भने सत्य हो ।

हरेक विपदले केही न केही सन्देश हामीलार्ई छोडेको हुन्छ तर हामी त्यो सन्देशलार्ई कसरी लिन्छौँ, आफ्नो जीवनमा लागु गर्छौं या गर्दैनौँ, त्यो हाम्रो कुरा हुन्छ । यही बीचमा कुरा गरौँ ०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पको । भूकम्प जति पीडादायी थियो, त्यसले उत्तिकै सन्देश पनि दिएर गएको थियो । ठुल्ठूला महल अटारी भएका व्यक्ति नाङ्गो चौरमा म्याट र त्रिपालमा बस्नुपरेको थियो । सबै आ–आफ्नो घरमा बस्ने व्यक्तिहरू एउटै चौरमा एकत्रित भएर बस्नुपरेको थियो । खाना पनि खान पाइँदैन थियो । घरभित्र जाँदा बारम्बारको पराकम्पनले व्यक्तिमा त्रास पनि उत्तिकै पैदा गरेको थियो । जो अहिलेसम्म पनि बेला–बेलामा त्यो त्रास कायमै रहेको छ । अब के होला, घरभित्र बस्न पाउने कि नपाउने ? खाना खान पाउने कि नपाउने ? यस्ता समस्याबाट सारा ग्रस्त थिए ।

भूकम्पबाट अलि–अलि राहत मिल्दै गएपछि राजनीतिको कारण देशले अघोषित रुपमा नाकाबन्दी बेहोर्नु पऱ्यो । भूकम्पले थिल्थिलो भएको समयलार्ई नाकाबन्दी जस्तो विकराल स्थिथिको सामना यो नेपालीले गर्न पुगे । कतिको घरमा आगो बलेन, सुत्केरीहरूको बिजोग भयो । त्यसमाथि कालोबजारी गर्नेहरूलार्ई त्यो क्षण उद्योगको रुपमा सावित भयो । १३ सय रुपैयाँमा पाइने ग्यास सिलिन्डरलार्ई १० हजारसम्ममा बिक्री गर्ने व्यापारी पनि थिए । ती कालोबजारी गर्नेहरूलाई विपदको मौका उद्योग झैँ नाफा कमाउने मौका भयो ।

धेरै समयपछि मूलुकले केही स्थिरता पाएको थियो । ०७२ साल असोज ३ गते नेपालको संविधान आएपछि तराइ क्षेत्रमा त्यसको विरोधमा अर्को रुप खडा भयो । त्यसको असर पनि नेपालीले भोगे । यो सबै दृश्यहरू देख्दा नेपालीले कति दुःख पाए त आफ्नो जीवनमा भन्ने कुराको यथार्थता यहाँ देख्न पाइन्छ । हुन त योभन्दा पहिले पनि नेपालीले दुःख नपाएको होइन, पटक–पटकको राजनीति उतारचढावका कारण देशले भोगेको १० वर्षे जनयुद्धको मर्मको कहानी छुट्टै छ । जसको घाउ अहिलेसम्म पनि ताजा छ, न त त्यो सेलाउँछ न त विलाउँछ । त्यसको सही सम्बोधन राजनीतिक दलहरूले गर्न सकेका छैनन् ।

हामी नेपालीले विपदलाई दुई प्रकारले लिने गरेका छौँ, पहिलो– प्राकृतिक प्रकोपका कारण हुने विपद र अर्को– मानवद्वारा सिर्जित विपद । यो दुवै विपदलाई ब्यहोर्नु मानवले नै पर्छ । यस्तै अर्को विपत वर्तमानमा देखिएको छ– कोरोना भाइरसको । यसले पनि मानवलाई नै दुःख दिइएको छ । सन् २०१९ को अन्तिमतिर चीनको वुहान देखिएको कोरोना भाइरस अहिले विश्वको लागि तनावको विषय बनेको छ । यस भाइरहेको कारण विश्वका १६७ देश पूरै रूपमा सङ्क्रमणको जोखिममा रहेका छन् । इटाली, स्पेन, अमेरिका र जापान जस्ता शक्तिशाली मूलुकमा यो भाइरस एकदमै डरलाग्दो रूपमा सङ्क्रमण भैरहेको छ । यसैको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।

मित्रराष्ट्र चीन र भारतमा देखिएपछि नेपालमा पनि यो सङ्क्रमण देखिन थाल्यो । यो लेखिँदै गर्दासम्म नेपालमा पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । यसको विरुद्ध लड्न सरकारले गत मंगलबार (११ चैत) देखि सात दिनको लागि देश नै ‘लकडाउन’ गऱ्यो । अहिले मुलुक लकडाउनको पीडा खेपिरहेको छ । सबै कार्य ठप्प छन्, व्यापार व्यवसाय, आवातजावात, शैक्षिक संस्थालगायतका सबै क्षेत्र अस्तव्यस्त भएका छन् ।

तथापि, यो स्थितिमा पनि मानव जीवनसँग खेल्ने कतिपय दुष्ट आत्माहरूको कारण बजारमा कालोबजारी चलिरहेको छ । मुखमा लगाउने मास्कदेखि लिएर हातमा लगाउने सेनिटाइजरसम्ममा हजार रूपैयाँ नाफा राखेर व्यवसायीहरूले बेचिरहेको पाइयो । यस्तो कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ पनि गरेको छ । तर पनि भित्र–भित्र ग्यास लुकाउने, खाद्यान्न पदार्थहरूमा अत्याधिक भाउ बढाउने जस्ता कृयाकलापहरू अहिले पनि जारी नै छ । तर हामी नेपाली बाध्य छौँ, यस्तो परिस्थितिमा पनि जति पैसा परे पनि किन्नको लागि । अखिर पेट त भर्नैपर्छ । व्यक्तिले कमाएको आफ्नो जीवनको लागि हो, जब यही पेट भोको हुन्छ भने अरु चिजलाई सोच्न पनि सकिन्न ।

हामी कस्तो प्राणी भयौँ भने पशुपतिमा लाश जलेको देख्दा ‘ओहो यो जीवन केही छैन, व्यर्थ छ लोभलालच गर्नु’ भन्दै आदर्शका कुरा गर्छौं तर केही क्षणमै गौशाला आइपुगेपछि ‘तँभन्दा म के कम, मेरो बल देख्छस्’ भन्दै पाखुरा मसार्न थाल्छौँ । यस्तो स्वभाव राखेपछि कसरी हामीभित्रको भाइचारा कायम हुन्छ होला त ?

यो त भए विपदमा व्यक्तिले भोगेका समस्या । साँच्चै ! विपद कसैलाई पनि प्यारो हुँदैन, तर पनि कुनै न कुनै रूपमा हामीले यसलाई ब्यहोर्नै पर्छ । विपद आउँदा थाहा हुँदैन तर जाँदा थाहा हुन्छ त्यो कसरी भने हरेक विपदले केही न केही पाठ सिकाएको हुन्छ । जसरी भूकम्पले सबैमा आत्मियता बनाउनुपर्छ भनेर सिकायो त्यसैगरी नाकाबन्दीले नजिकको मित्र पनि शत्रु बन्न सक्छ है भनेर सिकायो । त्यस्तै वर्तमान समयमा हामीले भोगिरहेको कोरोना–१९ ले पनि केही न केही सन्देश दिइरहेको छ । यसले विश्वका शक्तिशाली राष्ट्रका शक्तिहरूमाथि प्रश्नचिन्ह् खडा गरेको छ भने एउटा भाइरसले विश्वलाई आफ्नै घरमा नजरबन्द अवस्थामा राख्न पुगेको छ ।

विश्वका शक्तिशाली राष्ट्रहरू चीन, स्पेन, इटाली, अमेरिका, जापान र भारत जस्ता सम्पन्न राष्ट्रहरू आज कोरोना भाइरससँग लड्न सकिरहेका छैनन् । यी राष्ट्रहरू भौतिक रूपले सम्पन्न हुन् । यिनी देशहरूलाई केही कमी छैन । यिनीहरूको ठुल्ठूला यानहरू अन्तरिक्ष ग्रहमा पुगिसकेका छन्, तर पनि एउटा भाइरसको चपेटामा यी मूलुकहरू परिरहेका छन् । यसबाट सावित हुन्छ कि भौतिक सुखचयन मानिसको लागि आवश्यकताको विषय हो तर परेको बेला त्यो भौतिक चिजहरू पनि काम नआउँदो रहेछ । बलवान त समय रहेछ, व्यक्ति होइन भन्ने कुरा सिकाइरहेको छ । विपदले सिकाउँछ तर हामीले यसलाई लिन्छौँ कसरी भन्ने कुराले प्राथमिकता राख्छ होला । किनकि यो सबै कुरा व्यक्तिले आफनो जीवनमा लागु गर्नुपर्ने हुन्छ ।

अहिले फेसबुकहरूमा कोरोनाले दिएको मानवताको सन्देशलाई सबैले पालना गर्नुपर्छ, भन्नेहरूको लर्को देखिन्छ । कतिले त विपदको फाइदा उठाउँदै समाजलाई अतिरञ्जित तरिकाले उथलपुथल पार्न खोजिरहेको पनि देखिन्छ । हामीले कसैबाट नकारात्मक भन्दा पनि सकारात्मक कुरा लिनुपर्छ भन्ने मान्यता राख्नुपर्ने हुन्छ तर हामी त्यसो गर्दैनौँ, किनकि हामी कस्तो प्राणी भयौँ भने पशुपतिमा लाश जलेको देख्दा ‘ओहो यो जीवन केही छैन, व्यर्थ छ लोभलालच गर्नु’ भन्दै आदर्शका कुरा गर्छौं तर केही क्षणमै गौशाला आइपुगेपछि ‘तँभन्दा म के कम, मेरो बल देख्छस्’ भन्दै पाखुरा मसार्न थाल्छौँ । यस्तो स्वभाव राखेपछि कसरी हामीभित्रको भाइचारा कायम हुन्छ होला त ?

विपदले नोक्सान मात्रै होइन मानवलाई सवक सिकाउन धेरै कुरा ल्याएको हुन्छ तर त्यो कुरालाई हामीले कतिको लिन सक्छौँ त भन्ने कुराले प्रमुखता पाउँछ । किनकि हाम्रा वरिपरि देखिने प्रकृतिले हामीले धेरै कुरा दिन्छ तर प्रकृतिले कहिले पनि माग्दैन । हामीभित्र भएको अहमतालाई त्याग्न जरुरी हुन्छ । त्यसैले विपदलाई विपदको रुपमा मात्रै नहेरी यसले दिने सन्देशका बारेमा पनि सोच्नुपर्ने हुन्छ ।