एकाबिहानै आदेश उल्लङ्घन गर्ने ६ सय जनालाई ‘होल्ड’

एकाबिहानै आदेश उल्लङ्घन गर्ने ६ सय जनालाई ‘होल्ड’


सरकारले जारी गरेको लकडाउन आदेश उल्लङ्घन गर्ने ६ सयभन्दा बढी व्यक्तिलाई आइतबार (१६ चैत) बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् । उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने बताइएको छ ।

यस्तै, सवारीसाधनलाई पनि होल्ड गराइएको छ । १०३ वटा सवारीसाधन होल्ड गरेर राखिएको छ । डिआइजी पोखरेललाई उद्धृत गर्दै राससले जनाएअनुसार उपत्यकाका तीनै जिल्लामा उक्त नियम लागू गरिएको छ भने आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुनेछ । अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ भने पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।