दक्षिण सुडानबाट फिर्ता भएका द.कोरियाली सैनिकको कोरोना सङ्क्रमण परीक्षण हुने

दक्षिण सुडानबाट फिर्ता भएका द.कोरियाली सैनिकको कोरोना सङ्क्रमण परीक्षण हुने


नौ महिना दक्षिण सुडानमा शान्ति सेनाका रूपमा काम गरी शनिबार (२८ मार्च) स्वदेश फर्किएका सबै दक्षिण कोरियाली सैनिकको कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणपछि मात्र शिविरमा पठाइने त्यहाँको सैनिक मुख्यालयले जनाएको छ ।

उनीहरू इथियोपियाली विमान कम्पनीको विशेष उडानमार्फत शनिबार बिहान इन्चिअ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विश्वव्यापी कोरोना भाइरसका कारण दक्षिण सुडानमा रोकिएका उनीहरूलाई दक्षिण कोरियाली सरकारको पहलमा इथियोपियाली विमानमा स्वदेश ल्याइएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई पालो दिन अन्य टुकडी नगएसम्म फिर्ता हुन नमिल्ने भएपनि कोभिड–१९ को सङ्क्रमणको विश्वव्यापी प्रकोपपछि कोरियाली रक्षा मन्त्रालयको पहलमा स्वदेश ल्याइएको समाचार एजेन्सी योन्हापले जनाएको छ । उनीहरूको सट्टामा जाने सैनिक तयारी अवस्थामा रहेका र स्वास्थ्यस्थिति सहज हुनासाथ पठाइने पनि मन्त्रालयले जनाएको छ ।

शनिबार प्राप्त समाचार अनुसार संयुक्त राष्ट्रसंघका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भेटिएका छन् ।